जेठ ६, २०८१ आइतबार May 19, 2024

‘कांग्रेसले यत्रो कोरोनाको महामारीमा केही गरेन भन्ने त त्यो नबुझेका मान्छेहरूले भन्छन् ।’ – मोहन बस्नेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली कांग्रेसको महाधिवेशन नहुने भएको छ । केन्द्रिय समितिको बैठक असोज १९ गतेको लागि बोलाईएको छ । के के हुन्छ, बैठकको एजेण्डा ?

महाधिवेशन नहुने होइन, महाधिवेशन हुन्छ । यो कार्यतालिका केही समय पर सर्ने हो ।

कहिले सर्छ त महाधिवेशन ? कांग्रेसको समय कहिले हो ?

मेरो विचारमा नेपाली कांग्रेसको महाधिवेशनको लागि जति पनि हामीले आन्तरिक तयारी गर्नुपर्ने हो, पार्टीभित्र, त्यो तयारी गर्नुपर्ने विषयलाई हेर्दाखेरि यो कोभिड १९ को कारणले गर्दा काम गर्न धेरै अप्ठ्यारो भयो । फागनुमा गर्ने भनिएको महाधिवेशन जेठतिर पुग्छ भन्ने कुरा हो ।

त्यसोभए जेठमा महाधिवेशन हुन्छ, कांग्रेसको १४ औँ महाधिवेशन ?

हुनैपर्छ नि महाधिवेशन ।

तर पार्टी सभापतिले गर्न चाहनुभएन भनेर रामचन्द्र पौडेल वक्तव्य जारी गर्नुभएको छ ?

उहाँ त एकोहोरो भनिरहनुहुन्छ । उहाँलाई नै महाधिवेशन समितिको संयोजक बनाईदियो भने पनि उहाँ त भनि नै रहनुहुन्छ ।

उहाँले भन्नुभएको छ–गर्न सकिन्छ महाधिवेशन । शेरबहादुर देउवाले कांग्रेसलाई सकंटतिर लिएर जानुभएको छ । कांग्रेसलाई समाप्त पार्ने रणनीति लिएर जानुभएको छ भनेर रामचन्द्र पक्षको प्रतिक्रिया आईसक्यो ?

रामचन्द्र दाईलाई धारणा राख्ने कुराको उहाँको निजी विचारको कुरा हो । एउटा संस्थाको प्रमुखले त्यो संस्थालाई सिध्याउन खोज्नुपर्ने कुनै कारण पनि होइन । देशभरि सबैलाई थाहा छ, यत्रो लामो समयको लकडाउनले गर्दाखेरि पार्टीले काम गर्न पाएको छैन ।

कांग्रेस त सुतेर बसेको छ । तपाईँहरूले केही पनि गर्नुभएन, सात महिना देशमा लकडाउन भयो । कोरोना कहरको संक्रमण बढ्यो । कांग्रेसले जनताको लागि केही गरेन । पार्टी अस्तव्यस्त छ । नेताहरूको बीचमा मनमुटाब छ । धेरैले भन्न थालिसके ?

कांग्रेसले यत्रो कोरोनाको महामारीमा केही गरेन भन्ने त त्यो नबुझेका मान्छेहरूले भन्छन् । म दाबाका साथ भन्छु, मैले सिन्धुपाल्चोकमा पार्टीको निर्देशन अनुसार कोरोना र बाढीपहिरोमा गरेको काम सत्तामा बसेकाहरूले पनि गरेका छैनन् ।

तपाईँको कुरा नगर्नुस् न, मैले समग्र देशभरिको कांग्रेसको कुरा गरेको हो नि ?

म कांग्रेस होइन त ? जब यो देशमा कोरोनाको महामारी सुरु भयो, नेपाली कांग्रेसले प्रधानमन्त्रीको फन्डमा पचास लाख रूपैयाँ राखेर देशभरि कार्यकर्ताहरूलाई निर्देशन गरेको छ । देशभरि नेपाली कांग्रेसका कार्यकर्ताहरू स्वास्थ्य सामग्री लिएर बाँड्न गएका छन् । त्यसैले यसमा जति काम गर्न खोजिएको हो, त्यसमा कमी कमजोरी आएको हो । काम गर्नैै दिँदैनन् । कोरोनाको बेला खटेको भनेर मुद्दा नै लगाईदिएका छन् ।

डा. शेखर कोइरालाले भन्नुभएको छ, शेरबहादुर देउवाले कांग्रेसलाई बर्बाद बनाउनुभयो, बिगार्नुभयो । उहाँ १४औँ महाधिवेशनको उम्मेदवार हुनुहुन्छ त ?

शेखर कोइराला पार्टीको कतिओटा बैठकमा आउनु नै भएको छैन । जब देशमा सिमानाको विवाद परेको थियो, जब देशमा ठुला–ठुला निर्णय गर्नुपर्ने भयो, उहाँ घर बसिदिने । जसले भन्नुभयो, उहाँलाई सभापति बन्ने इच्छा छ, इच्छा भएकोले सभापतिलाई अनावश्यक रूपले गालीगलौज गर्ने गरेर आफु त्यो ठाउँमा पुगिन्छ कि भन्ने एउटा चाहनाले भनिएको मात्र हो ।

केरुङमा एघार लाख सिरिन्ज रोकिएको कुरा आएको छ, त्यहाँ समस्या छ । तपाईँ त चीनसँग सिमाना जोडिएको जिल्लाको नेता हो नि त । तातोपानी नाका त नखोल्ने भयो अब ?

सरकारलाई चाहिएको बेलामा स्कटिंग गराएर पनि सामानहरू ल्यायो तातोपानी नाकाबाट । केरुङको नाकाको विषयमा मलाई त्यति जानकारी छैन । अहिले केरुङको नाका पनि बन्द छ । नाका बन्द हुने कुरामा विभिन्न कारणहरू पनि छन् भन्ने मैले सुनेको छु । त्यो कुरा म अहिल्यै बोलिहाल्न चाहन्न ।

तपाईँ किन बोल्न सक्नुहुन्न ? तपाईँसँग केही प्रमाणहरू छन् भने ?

मसँग अहिले ठ्याक्कै केही प्रमाणहरू भए म बोलिहाल्छु नि । मैले खालि त्यो सुनेको मात्र कुरा गर्दिनँ । प्रमाण भए त म के बाँकी राख्छु ? म त स्पष्ट कुरा गर्ने मान्छे । जहाँसम्म तातोपानी नाकाको कुरा थियो, पहिले पनि तातोपानी नाका खुलेको अवस्था थिएन । कोरोना सर्छ भनेर स्थानीय जनता विरोध गरेर बसिरहेका थिए । मैले नै कांग्रेसका कार्यकर्ता र जनप्रतिनिधिसँग बसेर स्वास्थ्यका सामग्रीहरू पठाईदिनुस्, स्वास्थ्य सामग्रीबाहेक अरू कुरामा तपाईँहरू स्वविवेकले निर्णय गर्नुस् तर देशमा महामारी परेको हुनाले रसुवाले त त्यो बेलामा पनि छोडेन । तातोपानी नाका रोक्नका लागि नेकपाकै एउटा ग्रुपलाई रोक्न अर्को ग्रुपले विरोध गर्ने भएको कारणले केही समय डिस्टर्ब भएको थियो । त्यहाँका कतिपय वडाहरू हामीले जितेका थियौँ । त्यसकारण हाम्रा वडाध्यक्षहरू लागेर छोडिदिए । तर पछि दिनभरि, रातभरि पुलिसले स्कटिंग गरेर सामानहरू ओसारियो । तर अरू साधारण मान्छेको स्कटिंग नगरिकन सामान लिएर आयो । त्यहाँ नेकपासँग सम्बन्धित मान्छेहरूको सामान स्कटिंग गराएर लिएर आयो । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया