कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

साम्प्रदायिक विवादपछि गौरमा अर्को आदेश नभएसम्म कर्फ्यु आदेश जारी

यातायात सेवा अवरुद्ध हुँदा दैनिक यात्रुका साथै लोकसेवा परीक्षाका लागि जनकपुरधाम जानुपर्ने विद्यार्थीहरू प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गौर । दुई सम्प्रदायबीच भएको झडपपछि अवस्था तनावग्रस्त बनेसँगै जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाको तोकिएको क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार फागुन ९ गतेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९(क) बमोजिम जारी आदेशअनुसार कर्फ्यु अवधिभर तोकिएको क्षेत्रमा आवतजावत, भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ। आदेश उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।

प्रशासनले कर्फ्युको क्षेत्र पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा चम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्म तोकेको छ।

तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै रौतहट उद्योग वाणिज्य संघले गौर क्षेत्रका सम्पूर्ण व्यापारिक प्रतिष्ठान बन्द गर्न व्यवसायीहरूलाई आग्रह गरेको जनाएको छ। यसैबीच, गौरबाट सञ्चालन हुने साना तथा लामो दूरीका सवारी साधन पूर्ण रूपमा ठप्प भएका छन्।

यातायात सेवा अवरुद्ध हुँदा दैनिक यात्रुका साथै लोकसेवा परीक्षाका लागि जनकपुरधाम जानुपर्ने विद्यार्थीहरू प्रभावित भएका छन्। परीक्षाको मिति नजिकिँदै गर्दा सवारी साधन बन्द भएपछि उनीहरू समस्यामा परेका छन्।

स्थिति नियन्त्रणमा लिन प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनासमेत परिचालन गरेको जनाएको छ। प्रशासनले जिल्लावासीलाई शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न अपिल गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया