काठमाडौं । सुशीला कार्की ले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानी सँग टेलिफोन वार्ता गर्दै पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गरेकी छन्। बिहीबार दिउँसो भएको उक्त संवादमा प्रधानमन्त्री कार्कीले हालको क्षेत्रीय तनावबारे नेपाल सरकारले नजिकबाट नियालिरहेको बताउँदै सबै पक्षलाई संयम अपनाउन र द्वन्द्व थप नचर्काउन आग्रह गरिन्।
वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले कतारमा कार्यरत करिब ३ लाख ६० हजार नेपाली नागरिकको सुरक्षा र संरक्षण सुनिश्चित गरेकोमा कतार सरकारप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरिन्। उनले कतारमा रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी पाउँदा आफूलाई अत्यन्त खुशी लागेको उल्लेख गर्दै नेपाली श्रमिकहरूको हेरचाह गरेकोमा कतार सरकारप्रति कृतज्ञता प्रकट गरिन्।
प्रधानमन्त्री कार्कीले नेपालले अन्तर्राष्ट्रिय शान्ति, मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनको सम्मानमा सधैं जोड दिँदै आएको बताइन्। उनले सबै राष्ट्रहरूले संयुक्त राष्ट्र संघ को बडापत्र, अन्तर्राष्ट्रिय कानुन, जेनेभा अभिसन्धि तथा मानवीय कानुनको पालना गर्नुपर्ने धारणा राखिन्। कुनै पनि बहानामा युद्ध शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै उनले वार्ता र कूटनीतिको माध्यमबाट मात्र दीर्घकालीन शान्ति सम्भव हुने बताइन्।
प्रधानमन्त्री कार्कीले कतारको सार्वभौम भूमिमा विशेषगरी गैरसैनिक क्षेत्रमा भएको आक्रमणप्रति गहिरो चासो व्यक्त गर्दै वर्तमान परिस्थितिमा कतारप्रति नेपालले ऐक्यबद्धता जनाएको बताइन्। साथै उनले कतारले रचनात्मक भूमिकासहित वर्तमान चुनौतीको सामना गर्न सक्ने विश्वास व्यक्त गरिन्।
उता कतारका प्रधानमन्त्री अल–थानीले नेपाल र कतारबीचको सुमधुर, मित्रवत् र प्रगाढ सम्बन्धको प्रशंसा गर्दै कतारमा रहेका नेपाली नागरिकहरूले त्यहाँको विकासमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरे। उनले वर्तमान परिस्थितिमा नेपाली नागरिकहरूलाई कतारी नागरिकसरह सुरक्षा र संरक्षण उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे।
अल–थानीले वर्तमान अवस्था दुर्भाग्यपूर्ण भए पनि आफ्नो देशले सार्वभौमिकता र भूमिको सुरक्षाका लागि मात्र कदम चालिरहेको स्पष्ट पारे। कतार सधैं शान्तिको पक्षधर रहेको उल्लेख गर्दै उनले नेपालले कठिन समयमा देखाएको मित्रता र ऐक्यबद्धताप्रति आभार व्यक्त गरे।
टेलिफोन संवादको अन्त्यमा दुवै नेताले दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा उच्चस्तरीय भ्रमण, आर्थिक तथा सांस्कृतिक सहकार्य तथा जनस्तरको सम्बन्धमार्फत थप सुदृढ र विस्तारित बनाउने विषयमा जोड दिएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया