काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भोलि भारत प्रस्थान गर्ने भएका छन्। नयाँ दिल्लीमा आयोजना हुने एनएक्सटी २०२६ ग्लोबल समिट मा सहभागी हुन उनी भारत जान लागेका हुन्।
भट्टराईको सचिवालयका अनुसार नयाँदिल्लीस्थित भारत मण्डपम मा आगामी मार्च १२, १३ र १४ मा आयोजना हुने सम्मेलनमा उनी ‘गेस्ट अफ अनर’ का रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।
विश्वभरिका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने उक्त समिटमा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता समसामयिक विषयमा छलफल हुने आयोजकले जनाएको छ।
उक्त सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। साथै विभिन्न देशका सांसद, नीति–निर्माता, विज्ञ तथा युवा प्रतिनिधिहरूको पनि उल्लेख्य सहभागिता रहने जनाइएको छ।
समसामयिक वैश्विक बहस र सहकार्यका लागि महत्त्वपूर्ण मञ्चका रूपमा लिइएको यस सम्मेलनमा सहभागिता जनाएपछि डा. बाबुराम भट्टराई फागुन ३० गते स्वदेश फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया