काठमाडौं। सिराहा सदरमुकामस्थित एक कानुन व्यवसायीको कार्यालयमा सुतली बम विस्फोट हुँदा एक जना युवक घाइते भएका छन्।
बुधबार अपराह्न सिराहा नगरपालिका–१, सिरहा बजारमा रहेको कामधेनु ल फर्ममा सुतली बमजस्तो देखिने वस्तु विस्फोट भएको हो। विस्फोटमा सिराहा नगरपालिका–७ का मधुसुधन यादवका २८ वर्षीय छोरा सौरभ यादव घाइते भएका छन्।
प्रहरीका अनुसार विस्फोटमा घाइते भएका यादवको खुट्टा र टाउकोमा चोट लागेको छ। उनलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल सिरहा लगिएको छ। चिकित्सकका अनुसार उनको अवस्था स्थिर रहेको बताइएको छ।
घटनाबारे जानकारी पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेको छ। साथै नेपाली सेनाको बम डिस्पोजल टोली पनि घटनास्थलमा खटिएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी कमल थापाका अनुसार कागजमा बेरेर राखिएको सुतली बमजस्तो देखिने वस्तु विस्फोट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनास्थलमा अर्को कुनै शंकास्पद वस्तु रहेको हुनसक्ने आशंकामा बम डिस्पोजल टोलीले थप जाँच गरिरहेको उनले बताए।
प्रहरीका अनुसार घटनास्थलबाट कुनै पर्चा, पम्प्लेट वा जिम्मेवारी दाबी गर्ने सामग्री फेला परेको छैन। विस्फोट कसले र किन गरायो भन्नेबारे खुल्न बाँकी रहेको भन्दै प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया