भाद्र १, २०८३ सोमबार August 17, 2026

निर्वाचन सफल पार्न सहयोग गरेको भन्दै नेकपाका नेतालाई प्रधानमन्त्रीको धन्यवाद

निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै नेतृत्वदायी भूमिकाका लागि प्रधानमन्त्री कार्कीलाई नेकपाको बधाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन् ।

प्रधानमन्त्रीको बोलावटमा नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं सहसंयोजक माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेता बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘तपाईँहरूले निर्वाचनमा भाग लिइदिनुभयो । चुनावको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो । यसका निम्ति धेरै धन्यवाद छ।’

चुनावमा विजेता नेतालाई बधाई दिँदै कार्कीले पराजितलाई अर्को पटकका लागि शुभकामना दिइन् ।

नेकपाका नेताहरूले पनि निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै नेतृत्वदायी भूमिकाका लागि प्रधानमन्त्री कार्कीलाई बधाई दिए ।

प्रचण्डले भने, ‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो । यसमा जुन साहस र मेहनतका साथ तपाईँले काम गर्नुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसालायक छ ।’

सुरूकै दिनदेखि आफू र आफ्नो पार्टी निर्वाचनको पक्षमा उभिएको स्मरण गर्दै प्रचण्डले भने, ‘हामीले सुरूबाटै निर्वाचनको विकल्प छैन भनेर उभिएका हौँ । इफ बट केही नभनी निर्वाचन हुनुपर्छ भन्ने त्यतिबेला हामी मात्रै थियौँ ।’

पूर्वप्रधानमन्त्री नेपालले भने, ‘प्रधानमन्त्रीमा सुशीला कार्की आउने भन्ने सुनेको दिन निकै राहतको महसुस भएको थियो । तर, पछि तपाईँले नआउने भन्नुभयो भन्ने समाचार पनि आयो । त्यस कुराले हामी सबै आत्तिएका थियौँ । तपाईँ आइदिएपछि संविधान बाँच्छ, व्यवस्था जोगिन्छ र अवस्था सम्हालिन्छ भन्ने विश्वास थियो ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया