भाद्र १, २०८३ सोमबार August 17, 2026

नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन

विपद् प्रतिकार्यका लागि आवश्यक जनशक्ति एवं उपकरण तयारी अवस्थामा राख्न निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १५ चैतः गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउन निर्देशन दिनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज भएको कार्यक्रममा उहाँले विपद् प्रतिकार्यका लागि आवश्यक जनशक्ति एवं उपकरण तयारी अवस्थामा राख्न पनि निर्देशन दिनुभएको छ ।

गृहमन्त्री गुरुङले नागरिकलाई समस्या परेका बेला राज्यले जुनसुकै स्रोतसाधन परिचालन गर्न हिच्किचाउन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकको जीवन बचाउनु राज्यको सबैभन्दा महत्त्वपूर्ण दायित्व हो । त्यसैले जुनसुकै विपद्का लागि तयारी अवस्थामा रहन आवश्यक छ ।”

प्राधिकरणले गरिरहेका कार्यबारे जानकारी लिएपश्चात् गृहमन्त्री गुरुङले विद्यालय तथा क्याम्पसका पाठ्यक्रममा विपद्सम्बन्धी विषयवस्तु राखिनुपर्ने र विद्यार्थीलाई विपद्सम्बन्धी आधारभूत तालिम दिनुपर्नेमा पनि जोड दिनुभयो ।

प्राधिकरणका प्रमुख कार्यकारी इ दिनेशप्रसाद भट्टले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि हाल सम्पादन भइरहेका कार्य, आगामी प्राथमिकता एवं चुनौतीबारे प्रस्तुतीकरण गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया