भाद्र १, २०८३ सोमबार August 17, 2026

विपद् व्यवस्थापनको तयारीमा जुट्न गृहमन्त्रीको निर्देशन

सशस्त्र प्रहरीलाई कार्यक्षेत्रमा परिचालित हुँदा आइपरेका समस्या समाधानका लागि छिट्टै कानुनी व्यवस्था गरिने विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनको तयारीमा जुट्न सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन्। सशस्त्र प्रहरी मुख्यालय हलचोकको आज निरीक्षणका क्रममा उहाँले विपद् सुरु हुन अगावै सम्पूर्ण पूर्वतयारी गर्न निर्देशन दिए।

गृहमन्त्री गुरुङले विपद्को समयमा आम नागरिकलाई सरकार छ भन्ने अनुभूति गराउने गरी काम गर्नुपर्नेमा जोड दिए। विपद् उद्धारका लागि दुई वटा हेलिकप्टर तयारी अवस्थामा राख्ने गरी मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ।

गृहमन्त्री गुरुङले सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी तथा तस्करी रोक्नको लागि मन्त्रालय कठोर भएर अघि बढ्न उद्घोष गर्दै त्यस्ता कार्यमा कुनै पनि सशस्त्र प्रहरी कर्मचारीहरू संलग्न भेटिए कडा कारबाही हुने बताए।

गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीलाई कार्यक्षेत्रमा परिचालित हुँदा आइपरेका समस्या समाधानका लागि छिट्टै कानुनी व्यवस्था गरिने विश्वास दिलाए।

त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गृहमन्त्रीको निर्देशनबाट कार्यक्षेत्रमा खटिँदा अनुशासित र परिणाममुखी कार्य गर्न थप प्रेरणा र हौसला मिलेको बताए। सो क्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले सशस्त्र प्रहरी बल नेपालसँग सम्बन्धित विविध गतिविधि बारेमा प्रस्तुतीकरण दिएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया