बैसाख ५, २०८३ शनिबार April 18, 2026

लायन्स क्लब काठमाडौं हेरिटेज धरहराको अध्यक्षमा टिकादत्त अधिकारी चयन

युवा सहभागिता वृद्धि, स्थानीय समुदायसँग सहकार्य तथा दिगो प्रभाव पार्ने परियोजनामा जोड दिने योजना सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहरा को अध्यक्ष (प्रेसिडेन्ट) पदमा लायन टिकादत्त अधिकारी सर्वसम्मत रूपमा चयन भएका छन्। क्लबका वर्तमान अध्यक्ष लायन अनुप मास्केको अध्यक्षतामा सम्पन्न १०औँ वार्षिक साधारणसभाबाट आगामी लायन वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमिति चयन गरिएको हो। हाल फस्ट भाइस प्रेसिडेन्टका रूपमा सक्रिय भूमिका निर्वाह गरिरहेका अधिकारीलाई नेतृत्वको जिम्मेवारी दिइएको हो, जसले क्लबभित्र उनको सक्रियता, नेतृत्व क्षमता र योगदानलाई पुष्टि गरेको छ।

नवनिर्वाचित कार्यसमितिअनुसार प्रथम उपाध्यक्षमा लायन सुमनकुमार घिमिरे, सचिवमा लायन सरोज श्रेष्ठ तथा कोषाध्यक्षमा लायन शुभेच्छा अधिकारी चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले आगामी वर्षका लागि संगठन सुदृढीकरण, सदस्य विस्तार र सेवा कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना अघि सारेको छ।

नवनिर्वाचित अध्यक्ष अधिकारीले आफ्नो लायनिज्म यात्रामा सहयोग पुर्‍याउने क्लबका चार्टर सदस्य तथा पास्ट प्रेसिडेन्टहरू मछिन्द्र आचार्य, नेत्र गुरागाईं, शक्ति श्रेष्ठ र अनुप मास्केलाई विशेष धन्यवाद व्यक्त गरेका छन्। उनले विगतका नेतृत्वको अनुभव र मार्गदर्शनलाई आत्मसात् गर्दै क्लबलाई अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

उनका अनुसार आगामी कार्यकालमा सामाजिक सेवा, मानव कल्याण, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा समुदाय विकासका क्षेत्रमा केन्द्रित कार्यक्रम सञ्चालन गरिनेछ। विशेषगरी युवा सहभागिता वृद्धि, स्थानीय समुदायसँग सहकार्य तथा दिगो प्रभाव पार्ने परियोजनामा जोड दिइने उनले बताए।

लायन्स इन्टरनेसनल अन्तर्गतको डिस्ट्रिक्ट ३२५ के मा पर्ने उक्त क्लब सन् २०१६ अगष्ट २ मा स्थापना भएको हो। स्थापना कालदेखि नै विभिन्न सामाजिक, मानवीय र सेवा–मुखी गतिविधिमा सक्रिय रहँदै आएको क्लबमा हाल ३६ जना सदस्यहरू आबद्ध छन्। क्लबले विगतमा शिक्षा सहायता, स्वास्थ्य शिविर, राहत वितरण तथा सामाजिक जागरणका कार्यक्रममार्फत समुदायमा सकारात्मक प्रभाव पार्दै आएको छ। त्सबाहेका हालसम्म कुनै पनि क्लबले गर्नै नसकेको शान्तिका लागी सवा अरब दीप प्रज्वलन गरेको थियो ।

नयाँ नेतृत्व चयनसँगै क्लबले आगामी दिनमा अझ संगठित, सक्रिय र प्रभावकारी रूपमा समाजसेवामा अग्रसर हुने विश्वास गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया