काभ्रे, ४ वैशाखः सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्र्र पुगेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिनुभएको छ ।
केन्द्र्रको निरीक्षणका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले अहिले सरकारले सार्वजनिक सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको अवस्थामा नागरिकले ट्रायल पास गरेको लामो समयसम्म लाइसेन्स नपाउने स्थितिको अन्त्य गर्न लागिएको बताउनुभयो ।
साथै ट्रायल पास गरेपछि राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स छापी हस्तान्तरण गरिसक्ने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको उहाँले जानकारी दिनुभयो । सञ्चारमन्त्री डा तिमिल्सिनाले लाइसेन्स छपाइ प्रक्रियालाई तीव्र बनाउँदै सबै बाँकी लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको बताउनुभयो ।
“अब सम्भव कामलाई असम्भव भनेर रोकिराख्ने प्रवृत्ति अन्त्य हुन्छ । ट्रायल पास गरेपछि महिनौँसम्म लाइसेन्स नपाउने समस्या अन्त्य गर्दै राजस्व तिरेको २४ घण्टाभित्र छपाइ प्रक्रिया सक्नेकाम आजैदेखि लागू भएको छ”, उहाँले भन्नुभयो ।
निरीक्षणका क्रममा मन्त्री डा तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रलाई राज्यको महत्वपूर्ण सम्पत्ति र सम्भावनायुक्त संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालय सम्हालेको पहिलो दिनदेखि नै यस केन्द्रलाई प्रभावकारी बनाउने विषय आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले आवश्यक इच्छाशक्ति र तत्परताको अभावका कारण विगतमा विभिन्न निकायमा समस्या जटिल बनेको बताउनुभयो । अब ती समस्याहरू समाधान गर्दै संस्थागत जिम्मेवारी बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
मन्त्री डा तिमिल्सिनाले केन्द्रमा रहेका उपकरणको प्रभावकारी उपयोग गर्न निर्देशन दिँदै ठूलो लगानीमा खरिद गरिएका उपकरण वर्षौंदेखि प्रयोगविहीन रहेकोप्रति असन्तुष्टि जनाउनुभयो । करिब रु एक अर्ब बराबरका उपकरण, जेनेरेटरलगायत सामग्री प्रयोगमा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । तीन वर्षदेखि थन्किएर बसेका मेसिनहरू अहिले सञ्चालनमा ल्याइएको र छपाइ कार्य सम्भव भएको अवस्थामा विगतमा किन काम हुन सकेन भन्ने प्रश्न पनि उहाँले उठाउनुभयो ।
निरीक्षणका क्रममा मन्त्री डा तिमिल्सिनाले नागरिकको डाटा सुरक्षालाई उच्च प्राथमिकता दिन निर्देशन दिँदै सरकार जनताको हितमा मात्र सञ्चालन हुने स्पष्ट पार्नुभयो । “सरकार कसैको स्वार्थमा होइन, जनताको चाहनामा चल्छ”, उहाँले भन्नुभयो । साथै, सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न, गुनासो सुन्न र समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।
त्यसैगरी, देशभर मोबाइल नेटवर्क र इन्टरनेट सेवाको पहुँच तथा गुणस्तर सुधार गर्ने विषय पनि मन्त्रालयको प्राथमिकतामा रहेको मन्त्री डा तिमिल्सिनाले बताउनुभयो । नेपाल टेलिकमको सेवा गुणस्तरबारे आउने गुनासो समाधान गर्दै आगामी एक वर्षभित्र देशका सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याउने लक्ष्य राखिएको उहाँले उल्लेख गर्नुभयो ।
सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले यो संस्थालाई दीर्घकालीन रूपमा बलियो बनाउने उद्देश्यले व्यावसायिक योजना तयार गरिरहेको जानकारी दिनुभयो । भविष्यमा यही केन्द्रबाट राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टिकरलगायत महत्वपूर्ण कागजात छाप्ने सकिने उहाँको भनाई छ । केन्द्रले करिब रु आठ अर्बको बजेटसहित विस्तृत योजना सरकारसमक्ष पेस गरेको ढुङ्गानाको भनाइ छ ।
कार्यकारी निर्देशक ढुङ्गानाका अनुसार हाल दैनिक करिब ४० हजार हाराहारी लाइसेन्स छपाइ भइरहेको छ । विदेश जाने नेपाली नागरिकका लागि आवश्यक लाइसेन्सलाई प्राथमिकतामा राखिएको र यातायात व्यवस्था विभागबाट दैनिक करिब एक हजार आवेदन प्राप्त हुने गरेको उहाँले जानकारी दिनुभयो । यही वैशाख १२ गतेभित्र १२ लाख र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको उहाँको भनाइ छ ।
सो अवसरमा सांसदहरू मधुकुमार चौलागाईं, डा राम लामा, बदनकुमार भण्डारीलगायतको उपस्थिति रहेको थियो । मन्त्री डा तिमिल्सिनाले केन्द्रको भौतिक पूर्वाधार, मेसिनरी तथा खाली भवनको अवस्थाबारे समेत जानकारी लिनुभएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया