असार २४, २०८२ मंगलबार July 8, 2025

सल्लाहकारहरूको भूमिका के हो ?- बबिता बस्नेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महाभारतमा बिदुर महामन्त्रीका रूपमा महाराज धितृराष्ट्रका प्रमुख सल्लाहकार थिए । धृतराष्ट्र कुनै पनि अप्ठ्यारो परिस्थितिमा बिदुरको सल्लाह, सुझाव माग्थे तर निर्णयचाहिँ आफूलाई जे सही लाग्यो त्यही गर्थे । जुन निर्णयहरू प्रायः गलत नै हुन्थे । बिदुरले वर्णावतमा युवराजले प्रतिनिधित्व गर्ने समारोहमा दुर्योधनहरूलाई पनि सँगै पठाउँदा दाजुभाइबीच एकताको राम्रो सन्देश जाने सल्लाह दिएका थिए तर राजाले वास्ता गरेनन् । परिणामतः लाक्षगृह काण्ड भयो । जो महाभारत युद्ध तयारीका लागि महत्वपूर्ण घटनाको रूपमा रह्यो । पाण्डवहरूको बाह्रवर्षे वनबास र एकवर्षे गुप्तवासलाई एक दिनलाई एक वर्ष मानेर १३ दिनमा अन्त्य गरिदिनका लागि पनि उनले राजालाई सल्लाह दिएका थिए । युद्ध रोक्न माहौल बनाउने आफ्ना सल्लाहलाई राजाले पटक–पटक लत्याएर अगाडि बढेपछि आफू पदमा रही रहनुको औचित्य नठानेर अन्ततः बिदुरले पदबाट राजीनामा दिए ।

भारतकी शक्तिशाली पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीका स्वकीय सचिव हुँदै सल्लाहकारको रूपमा आरके धवन लामो समय उनको साथ रहे । काङ्ग्रेसका प्रभावशाली नेतासमेत रहेका उनमा प्रधानमन्त्रीमाथि आएको कुनै पनि कठिनाइको सामना गर्ने क्षमता थियो भनिन्छ । इन्दिरा गान्धीले सन् १९७५ मा सङ्कटकालको घोषणा गर्दा त्यतिबेला आइपर्न सक्ने सङ्कटहरूको ब्यवस्थापनमा आरके धवनको महत्वपूर्ण भूमिका थियो भनेर तात्कालीन परिस्थितिलाई भोग्नेहरूले उल्लेख गरेका छन् । उनले आफूलाई लागेको सल्लाह दिए तर मुख्यमन्त्रीहरू या मन्त्रीहरूसँग ब्रिफिङ लिएर बिचौलियाको भूमिका कहिल्यै गरेनन् । कहाँ, के भइरहेको छ र त्यसमा प्रधानमन्त्रीको भूमिका के हुनुपर्छ भन्ने कुरामा उनी सधैं सचेत रहे । प्रधानमन्त्रीले सल्लाहकारसँग बसेर बनाएको कामको सूचीको फलो अप गर्न बिर्सिएर कहिलेकाहीँ ‘ओ हो मैले त बिर्सिएछु’ भनेर सोध्दा जवाफमा उनले ‘वो तो कब का हो गया’ भन्थे भनी पत्रकार अनिता कत्यालले लेखेकी छिन् । इन्दिरा गान्धीले प्रतिबद्धता जनाएका कुरालाई कसरी ब्यवहारमा पूरा गर्ने भन्ने कुरामा उनको ध्यान सधैं रहन्थ्यो ।

अन्य मुलुकमा प्रधानमन्त्री, राष्ट्रपति विवादमा आउँदा वास्तविकता के हो भनी सल्लाहकारहरूले बाहिर ल्याउँछन् या कतिपय अवस्थामा ढाकछोप गर्छन् । तर हामीकहाँ भने सल्लाहकारहरू आफैं विवादमा आइरहन्छन् । आफ्ना सल्लाहकारहरू विवादमा आएपछि प्रधानमन्त्रीले तिनको ढाकछोप गर्छन् ।

हामीकहाँ पनि राष्ट्रपति र प्रधानमन्त्रीले विषयगत सल्लाहकारहरू राख्ने चलन छ । राज्यको श्रोत–साधनको प्रयोग गरेर शक्ति केन्द्रमा सल्लाहकारको भूमिकामा रहने ब्यक्तिहरूको भूमिकाका बारेमा बेला–बेलामा विभिन्न टीका–टिप्पणी पनि हुने गरेका छन् । राष्ट्रपतिले दुई विज्ञ र तीन सल्लाहकार गरी पाँच जना राख्न पाउने ब्यवस्था छ भने प्रधानमन्त्रीले कुनै पनि विषयमा चाहेजति सल्लाहकार राख्ने गरिएको छ । अहिले अर्थ, सञ्चारलगायत विभिन्न विषयमा संयोजक, विज्ञ, सल्लाहकार गरी दर्जनौँ मानिसहरू प्रधानमन्त्री कार्यालयमा छन् । प्रधानमन्त्री केपी ओलीको पालामा मात्र नभई शेरबहादुर देउवाको पालामा पनि विज्ञ र सल्लाहकार शब्दकै इज्जत नरहने गरी मानिसहरूको भीड जम्मा गरिएको थियो । प्रधानमन्त्री केपी ओलीको कार्यकाल अढाई वर्ष सकिँदासम्म सल्लाहकारका नाममा जागिरको लहर अहिले पनि चलिरहेकै छ ।

पछिल्लो जागिर पाउनेमा अर्थमन्त्री रहिसक्नुभएका डा. युवराज खतिवडा हुनुहुन्छ । यता, राष्ट्रपतिले राख्न पाउने कानूनी, सुरक्षा, आर्थिक, प्रशासनिक र मिडिया सल्लाहकार हुन् । राष्ट्रपतिका लागि मन्त्रिपरिषदले सुरुमा तीन वटा मात्रै सल्लाहकार पदको ब्यवस्था गरेकोमा पछि विज्ञका रूपमा दुई वटा पदको सिर्जना गरिएको हो । प्रधानमन्त्री र राष्ट्रपतिका सल्लाहकारका लागि कानूनी ब्यवस्था भने छैन । कानूनले नचिने पनि मन्त्रिपरिषदले गरेको निर्णय र सेवा–सुविधाको आधारमा यी पदहरू नेपाल सरकारले ब्यवस्था गरेका महत्वपूर्ण पदहरू हुन् ।

अन्य विभिन्न मुलुक र नेपालका सल्लाहकारहरूले निर्वाह गर्ने भूमिकामा निकै फरक देखिन्छ । अन्य मुलुकमा प्रधानमन्त्री, राष्ट्रपति विवादमा आउँदा वास्तविकता के हो भनी सल्लाहकारहरूले बाहिर ल्याउँछन् या कतिपय अवस्थामा ढाकछोप गर्छन् । तर हामीकहाँ भने सल्लाहकारहरू आफैं विवादमा आइरहन्छन् । आफ्ना सल्लाहकारहरू विवादमा आएपछि प्रधानमन्त्रीले तिनको ढाकछोप गर्छन् । ती सल्लाहकारहरूको कहिले पार्टीभित्रै आलोचना हुन्छ त कहिले सार्वजनिक रूपमा । आफूले बोलेको कुराको खण्डन गर्दै या अरुको आलोचना गर्दैमा तिनको समय गइरहेको देखिन्छ । बिचौलियाको भूमिका निर्वाह गरेको भनी पार्टीभित्रैबाट विरोधका आवाजहरू सुनिन्छन् । प्रायः सल्लाहकारहरू पार्टीका आधिकारिक पदमा रहेकाहरू नै छन् ।

एक वर्षअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालको एउटा ट्वीट भाइरल बन्यो । लेखिएको थियो– ‘भनिन्छ, छौँडाहरू आफै चल्मलाउँदैनन्, कसैले छोड्छन, दुःख दिन्छन्, यी छौँडाहरू आफैं चल्मलाएका हुन् कि कसैले छोडेका ?’ पार्टीभित्रैका प्रधानमन्त्रीका विरोधीहरूलाई इङ्गित गर्दै उहाँले छौँडाको संज्ञा दिनुभएको थियो । त्यसपछि पटक–पटक बिष्णु रिमालको नाम मिडियामा पढ्न पाइन्छ, समाचार प्रधानमन्त्रीलाई दिएको सल्लाह या उहाँले दिएको सल्लाहका कारण प्रधानमन्त्रीले गरेको राम्रो कामका बारेमा हुँदैन । ठेक्कापट्टाको निर्णय गर्ने, ब्यापारी तथा ठेकेदारहरूसँग ‘डिल’ गर्ने, राजनीतिक नियुक्तिहरूको हिसाबकिताब मिलाउनेलगायतका काममा सल्लाहकारका नाम आउने गरेका छन् । सल्लाहकारदेखि विभिन्न नाममा विज्ञको रूपमा नियुक्त भएकाहरू यसप्रकारको भूमिकामा रहेका कुरा सप्रमाण सार्वजनिक भइरहेका छन् ।

पछिल्लो समय मन्त्रालयका सचिव, विभागीय प्रमुख र क्याबिनेट मन्त्रीले समेत प्रधानमन्त्रीका सल्लाहकारलाई ब्रिफिङ गर्नुपर्ने अवस्थाको सिर्जना गरिएको छ । डा. युवराज खतिवडा अर्थमन्त्रीको रूपमा लोकप्रिय हुन नसके पनि विषयगत विज्ञ हुनुहुन्छ, तर अहिले सबै विषयको ब्रिफिङ उहाँलाई गर्नुपर्ने अवस्थाले सम्बन्धित ओहदामा रहेका मानिसमा ‘फ्रस्ट्रेशन’ सुरु भएको देखिन्छ ।

मन्त्री या राज्यमन्त्रीसरहको सेवा–सुविधामा रहने गरेका सल्लाहकारहरूको भूमिका विगतमा कसको, कस्तो रह्यो र हुनुपर्ने कस्तो हो भन्ने बारेमा हामीकहाँ खासै छलफल र बहसको विषय बन्ने गरेको छैन । आफूले विरोध गरेर ब्यापक असहमति जनाएका कुराहरू आफू सल्लाहकार भएको निकायबाट सदर हुँदा वास्तै नगरिएका घटनाहरू पनि छन् । उदाहरणका लागि हत्याकाण्डमा अदालतले सजाय तोकेका माओवादी नेता बालकृष्ण ढुङ्गेल फरारको सूचीमा रहँदा पक्राउ गरियोस् भनी मानवअधिकारवादीहरूको तर्फबाट ठूलो विरोध भयो । विरोधको अग्रपङ्क्तिमा सुशील प्याकुरेल पनि हुनुहुन्थ्यो । उहाँ लामो समयदेखि मनवअधिकारवादी आन्दोलनमा रहनुभएका कारण विरोधमा खडा हुनु स्वभाविक थियो । तर २०७५ सालमा गणतन्त्र दिवसको अवसरमा ढुङ्गेललाई राष्ट्रपतिबाट आममाफी दिँदा उहाँ चुपचाप रहनुभयो जतिबेला उहाँ राष्ट्रपतिको सल्लाहकार हुनुहुन्थ्यो । आममाफी दिनु या पाउनु सही, गलत आफ्नो ठाउँमा होला तर आफै सल्लाहकार भएको निकायबाट आफूले त्यत्रो विरोध गरेको ब्यक्तिलाई आममाफी दिने सल्लाह दिन मिल्थ्यो कि मिल्दैनथ्यो ? यदि त्यो कुरा आफूले थाहा नपाई भएको भए उक्त निकायमा सल्लाहकारको भूमिकामा बसिरहन मिल्थ्यो कि मिल्दैनथ्यो ? यो नैतिक प्रश्न मात्रै हो ।

२०७६ सालको माघ महिनामा अनिर्वाचित ब्यक्तिलाई कार्यकारी पदमा लान मिल्दैन भनी नागरिक समाजका तर्फबाट निकालिएको विज्ञप्तिमा हस्ताक्षर गर्ने १७ जनामध्ये एक हुनुहुन्थ्यो टीका ढकाल । अहिले उहाँ राष्ट्रपतिको मिडिया विज्ञमा नियुक्त हुनुभएको छ । उहाँको नियुक्तिपछि राष्ट्रपतिले नेता बामदेव गौतमलाई राष्ट्रपतिको तर्फबाट चयन गरिने राष्ट्रियसभा सांसदमा मनोनित गर्नुभयो । नागरिक समाजको प्रतिनिधिका रूपमा उहाँहरूले जारी गरेको विज्ञप्ति नाम उल्लेख नगरे पनि बामदेव गौतमहरूप्रति नै लक्षित थियो । तर आफै सल्लाहकार रहेको निकायले सांसदको रूपमा नियुक्ति दिँदा कुनै प्रतिक्रिया देखिएन । अडान सैद्धान्तिक थियो भने कि त नियुक्तिमा असहमति जनाएर राजीनामा गर्न सक्नुपथ्र्यो कि त पहिलाको आफ्नो धारणा गलत थियो भनी सार्वजनिक रूपमा भन्न सक्नु पथ्र्यो । यहाँ बामदेव गौतमलाई राष्ट्रियसभामा लान हुन्थ्यो या हुँदैनथ्यो भन्ने विषयमा धारणा दिन खोजिएको होइन । नियुक्तिका प्रकृति, सम्बन्धित ब्यक्तिले लिने अडान र दिने सल्लाहको मात्रै हो । नैतिकबाहेक यहाँ पनि अर्को प्रश्न छैन ।

राज्यले नियुक्त गर्ने सल्लाहकारको पद आफ्ना मान्छेलाई अल्झाउने, अवसर दिने या जागिर दिने ठाउँ निश्चय नै होइन न त प्रधानमन्त्री स्वयम्ले सुन्नुपर्ने कुराको ब्रिफिङ लिने पद नै हो । पछिल्लो समय मन्त्रालयका सचिव, विभागीय प्रमुख र क्याबिनेट मन्त्रीले समेत प्रधानमन्त्रीका सल्लाहकारलाई ब्रिफिङ गर्नुपर्ने अवस्थाको सिर्जना गरिएको छ । डा. युवराज खतिवडा अर्थमन्त्रीको रूपमा लोकप्रिय हुन नसके पनि विषयगत विज्ञ हुनुहुन्छ, तर अहिले सबै विषयको ब्रिफिङ उहाँलाई गर्नुपर्ने अवस्थाले सम्बन्धित ओहदामा रहेका मानिसमा ‘फ्रस्ट्रेशन’ सुरु भएको देखिन्छ । उहाँको नियुक्तिले मुलुकलाई ऋणदाताबाट ऋण लिन सहज हुने बताउने गरिएको छ । हाम्रा बुबा, हजुरबुबाले लिएको ऋण हामीले तिर्नु पर्दा जुन हबिगत हुन्छ भोली हाम्रा नाति–नातिनी पुस्तालाई अहिले राज्यले लिएको ऋण तिर्नका लागि त्यस्तै निरीह अवस्था आउन सक्छ । ऋण लिने कुरालाई राज्यले अहिले जसरी सहज रूपमा लिएको देखिन्छ यसको परिणाम भावी पुस्ताका लागि त्यति नै कठिन हुनेछ । त्यसैले उहाँले विभिन्न मन्त्रालयका ब्रिफिङ्ग लिएर आत्मसन्तुष्टि लिए पनि धेरै ऋण लिएर मुलुकलाई नडुबाए हुन्थ्यो भन्ने लागेको छ ।

एक दिन सञ्जयले ‘प्रधानमन्त्रीलाई यो सब सुन्ने समय हुँदैन, मलाई फायल पठाउनुस् र ब्रिफ गर्नुस्’ भनेपछि जवाफमा गुजरालले भनेछन्– ‘म प्रधानमन्त्री इन्दिरा गान्धीको मन्त्री हुँ, उहाँको छोराको होइन । त्यसैले मैले उहाँलाई नै ब्रिफ गर्छु, आजदेखि मलाई यस्तो कुरा नगर्नुहोला ।’

हामीकहाँ आइके गुजराल छैनन् जसले यस प्रकारका अनावश्यक ‘पावर एक्सरसाइज’को विरोध गरुन् । आइके गुजराल इन्दिरा गान्धीको क्याबिनेटमा सूचना प्रशारण राज्यमन्त्री थिए । इन्दिराका सल्लाहकार समूहमा रहेका छोरा सञ्जय गान्धी मन्त्रीहरूले आफूलाई कामहरूको बिफ्रिङ गरुन् भन्ने चाहन्थे र प्रधानमन्त्रीको निकट देखिन कतिले छोरालाई खुशी तुल्याउन खोज्थे पनि । एक दिन सञ्जयले ‘प्रधानमन्त्रीलाई यो सब सुन्ने समय हुँदैन, मलाई फायल पठाउनुस् र ब्रिफ गर्नुस्’ भनेपछि जवाफमा गुजरालले भनेछन्– ‘म प्रधानमन्त्री इन्दिरा गान्धीको मन्त्री हुँ, उहाँको छोराको होइन । त्यसैले मैले उहाँलाई नै ब्रिफ गर्छु, आजदेखि मलाई यस्तो कुरा नगर्नुहोला ।’ तर हामीकहाँ बाहिर कुरा गरे पनि अगाडि ‘हजुर…हजुर’ भन्ने चलन छ । सल्लाहकारहरू कार्यकारी भूमिकामा झैँ ब्रिफिङ मात्र लिँदैनन् मिडियामा पनि त्यसैगरी देखापर्ने गरेका छन् । सल्लाहकारले आफ्नो हितमा काम गर्ने होइन जसको सल्लाहकार भएको हो उसको हितमा काम गर्ने हो, तर हामीकहाँ आफ्नै हितमा काम गर्ने र आफ्नै महत्व दर्शाउने काम गर्ने गरिएको छ ।

सल्लाहकार जागिर मात्रै खाने ठाउँ होइन तर यसलाई अल्झाइदिउँ न त भनेर ती पदमा आफ्ना मानिसहरू नियुक्त गर्ने गरिएका छन् । गिरिजाप्रसाद कोइरालाको पालामा सल्लाहकार नियुक्त हुनुभएका प्राध्यापक कृष्ण खनाललाई लामो समयसम्म पनि कुनै काम नदिइएपछि र आफूले दिएको सल्लाह नलिएपछि पदबाट राजीनामा दिनुभएको थियो । कोइरालाकै पहिलो प्रधानमन्त्री कालमा सल्लाहकार नियुक्त हुनुभएका प्राध्यापक शम्भुप्रसाद लाखेले महिनौँसम्म प्रधानमन्त्रीसँग सामान्य देखभेटसमेत नभएको बताउनुभएको थियो । राष्ट्रपति रामवरण यादवको पालामा मिडिया सल्लाहकार रहनुभएका राजेन्द्र दाहालले एउटा दैनिक पत्रिकामा राष्ट्रपतिको विवादास्पद ‘कोट’ देखेर तपाईंले यसरी आफ्नै तरिकाले मिडियासँग बोल्दै हिँड्ने हो भने मेरो के काम रह्यो र ? भनी आफ्नो भूमिकाका बारेमा प्रश्न उठाएपछि राष्ट्रपतिबाट त्यस प्रकारको कार्य दोहोरिएन । आत्मसम्मान भएका मानिसहरू आफूले योगदान गर्ने अवस्था नदेखेपछि पेण्डुलम भएर पदमा त्यसै बसिरहँदैनन् ।

एकातिर सल्लाहकारसँग सल्लाह नलिने अर्कोतिर सल्लाहकारहरूले सल्लाह दिनेबाहेक कार्यकारी भूमिका नै निर्वाह गर्ने अनौठो स्थिति हामीकहाँ देखिन्छ । जसले सत्तारुढ दल र प्रधानमन्त्रीलाई प्रभावहीन बनाएको छ । घटना र बिचारबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार