काठमाडौँ, वैशाख १४ गते । कुनै बेला मुलुककै सबैभन्दा दिगो राजमार्गको रूपमा परिचित बिपी राजमार्ग अहिले सानो वर्षामा पनि बन्द हुने अवस्था छ । २०८१ असोज १२ गते अविरल वर्षासँगै रोसीखोलामा आएको बाढीपहिरोले उक्त राजमार्ग बगाएयता असार साउनको वर्षा त के हिउँदे क्षणिक वर्षाले समेत राजमार्ग अवरुद्ध हुने गरेको छ ।
राजमार्ग अवरुद्ध हुँदा पूर्वी नेपाल र काठमाडौँबिचको यातायात सञ्चालनमा ठुलो सास्ती हुने गरेको छ । बाढीले बगाएको दुई वर्ष पुग्न लाग्दा पनि अहिलेसम्म यस राजमार्गमा ढुक्क भएर सवारीसाधन चलाउने अवस्था छैन । क्रसर व्यवसायीले रोसी खोला क्षेत्रमा उत्खनन गरेर उद्योग सञ्चालन गरेपछि खोलाको सतह नै माथि आउन थाल्यो । खोलाको सतह माथि आएकै कारण सानो पानी पर्दा पनि अहिले रोसी खोला राजमार्गको माथि भएर बग्ने अवस्था सिर्जना भएको छ ।
अहिले जापान सरकारबाट प्राप्त हुने २.६१ अर्ब रुपियाँको अनुदान र नेपाल सरकारको आठ अर्ब रुपियाँको लगानीमा सो राजमार्गको पुनः निर्माण प्रक्रिया अगाडि बढेको छ । तर ठुलो लगानीबाट बन्ने सडकको स्थायित्वबारे विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । अहिले रोसी खोला क्षेत्रमा एघार वटा ढुङ्गाखानी र एघार वटा क्रसर उद्योग सञ्चालित छन् ।
क्रसर उद्योग र ढुङ्गाखानीलाई अहिलेकै अवस्थामा सञ्चालन हुन दिने हो खोलाको सतह अझ माथि आउने र ठुलो लगानीमा पुनः निर्माण हुने राजमार्गको कुनै अर्थ र औचित्य नहुने विज्ञहरूको भनाइ छ । खोलाको सतह बढेकै कारण गत वर्षको भन्दा कम पानी परेको अवस्थामा पनि बिपी राजमार्ग सहजै बग्न सक्ने उहाँहरूको दाबी छ । ‘रोग लाग्नुभन्दा रोगको बाटो छेक्नु जाति’ भने जस्तै क्रसर उद्योग र ढुङ्गाखानीको व्यवस्थापन गरेर मात्र राजमार्ग पुनः निर्माण गर्नु उहाँहरूको सुझाव छ । बिपी राजमार्गको स्थायित्वका लागि केवल मर्मत मात्र नभई रोसी खोलाको बहाब व्यवस्थापन र भू–प्राविधिक सुधारसहितको एकीकृत पुनर्निर्माण आवश्यक रहेको उहाँहरूको भनाइ छ ।
भूप्रविधिविज्ञ डा. मन्दीप सुवेदी रोसी खोला क्षेत्रमा सञ्चालित ढुङ्गाखानी र क्रसर उद्योगहरूलाई व्यवस्थापन गरेर बिपी राजमार्गको पुनर्निर्माण गर्न सुझाव दिनुहुन्छ । इन्जिनियरिङ विधि अनुसार व्यवस्थित तरिकाले खानी र क्रसर सञ्चालन गर्नुपर्ने सुझाव दिँदै उहाँले इन्जिनियरिङ अध्ययन र अनुसन्धान गरेर मात्र खानी खन्न र ढुङ्गागिट्टी वा बालुवा निकाल्नुपर्ने बताउनुहुन्छ । खानी खनेर खोलानालाभन्दा कतिको दुरीमा राख्ने, ढुङ्गाबालुवाको गेग्रान नबग्ने गरी कसरी बनाउनेलगायत विषयमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । राजमार्ग आसपासका क्षेत्रमा सञ्चालित अनियन्त्रित क्रसर उद्योग र ढुङ्गा–गिट्टी उत्खननले खोलाको धार परिवर्तन गराई सडक जोखिममा पारेकाले यसलाई कडाइका साथ नियमन गर्न आवश्यक रहेको बताउँदै उहाँले खानी र क्रसर उद्योग सञ्चालन गरेको ठाउँमा बायोइन्जिनियरिङका आधारमा रुखबिरुवा लगाउनुपर्ने, रिटेनिङ पर्खाल लगाउनुपर्ने भए पनि नेपालका सन्दर्भमा त्यस्तो नगरिएको पाइएको उहाँको भनाइ छ ।
सफा पानीभन्दा ढुङ्गा, बालुवा र माटोलगायत गेग्रानसहित आउने बाढीको भार सामान्य पाँच गुणा र बढीमा १५ गुणासम्म बढी हुने भएकाले यस प्रकारका बाढीले सडक, पुललगायत भौतिक संरचनामा ठुलो क्षति पु¥याउने अनुसन्धानले देखाएको बताउँदै उहाँले अबका दिनमा रोसी खोलामा बग्ने पानी र आउन बाढीपहिरोको भार सामान्यभन्दा कैयौँ गुणा बढी हुने भएकाले यसले बिपी राजमार्ग वा सो क्षेत्रमा निर्माण हुने भौतिक संरचनामा ठुलो क्षति पु¥याउने बताउनुहुन्छ । यस्तो अवस्थामा पानीको मात्रा कम भए पनि त्यसको भार अत्यधिक हुने भएकाले कम पानीले पनि ठुलो क्षति पुग्ने उहाँको भनाइ छ ।
वरिष्ठ भूगर्भविद् शिवप्रसाद बाँस्कोटाले रोसी खोला क्षेत्रमा खानी र क्रसर उद्योगबाट निस्कने गेग्रानहरूको उचित व्यवस्थापन हुन नसकेको र गेग्रानहरू खोलामा जाने भएकाले सो क्षेत्रमा खोलाको सतह बढ्दै गएको बताउनुहुन्छ । ढुङ्गाखानी र क्रसर उद्योगबाट उत्सर्जन हुने गेग्रानको रोसी खोलामा नै विसर्जन हुँदै आएकाले खोलाको सतह बढ्दै गएको बताउँदै उहाँले खानी र क्रसर उद्योगहरूबाट उत्पन्न हुने यस प्रकारका समस्याको उचित व्यवस्थापन गरेर बिपी राजमार्ग पुनर्निर्माणको औचित्य हुन सक्ने स्पष्ट पार्नुहुन्छ । राजमार्ग निर्माणसँगै खानी र क्रसर उद्योग सञ्चालन गर्ने वा नगर्ने विषयमा स्पष्ट पार्दै उहाँले यस प्रकारका उद्योग व्यवसायहरू नियम अनुसार सञ्चालन हुनुपर्ने, उत्सर्जन भएका गेग्रानको सुरक्षित विसर्जन गर्नुपर्ने बताउनुहुन्छ । अहिलेकै अवस्थामा यस प्रकारका उद्योगहरू सञ्चालन गर्न दिने हो भने त्यसले समस्या निम्त्याउन सक्ने उहाँले स्पष्ट पार्नुभयो । यो राजमार्ग हलुका सवारीका लागि डिजाइन गरिएको हुनाले, तोकिएभन्दा बढी भार बोक्ने सवारीसाधनलाई पूर्ण प्रतिबन्ध लगाएर सडकको आयु बढाउन सकिन्छ ।गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया