बैसाख १४, २०८३ सोमबार April 27, 2026

सरकारसँग सम्पर्कमा ५४७ सुकुम्बासी परिवार

आइतबार साँझसम्म थापाथली, मनोहरा, शान्तिनगर तथा गैरीगाउँका गरी ५४७ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं उपत्यकाका सुकुम्बासी बस्ती खाली गर्ने क्रममा वास्तविक सुकम्बासी अनुमान गरेभन्दा निकै कम भेटिएको सरकारी अधिकारीले बताएका छन। काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार अनुमान गरिएभन्दा कम संख्यामा सुकुम्बासी भेटिएका हुन्। सरकारको सम्पर्कमा आइतबार साँझसम्म ५४७ सुकुम्बासी परिवार आएका छन्। संघीय सरकार र काठमाडौं महानगरपालिकाको समन्वयनमा शनिबार र आइतबार गरी काठमाडौंका सुकुम्बासी बस्ती खाली गराइएको छ।

प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले उपत्यकामा प्राधिकरणले अनुमान गरेभन्दा वास्तविक सुकुम्बासी निकै कम भेटिएको बताइन्। ‘सुकुम्बासी बस्ती खाली गर्नुअघि हामीले बास्तविक सुकुम्बासीको संख्या जसरी अनुमान गरेका थियौं, त्योभन्दा निकै कम पायौं’, उनले भनिन्, ‘थापाथली, गैरीगाउँ शान्तिनगर तथा मनोहराका सुकुम्बासी बस्ती खाली गराउने क्रममा हामीले निकै कम वास्ताविक सुकुम्बासी भेटायाैं।’

२०६८ सालमा अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले अध्ययन गरी तयार पारेको प्रतिवेदनमा काठमाडौं उपत्यकामा ३ हजार ४९६ सुकुम्बासी परिवार रहेको उल्लेख छ। प्रतिवेदनमा काठमाडौंमा मात्र दुई हजार दुई सय ४५ सुकुम्बासी परिवार रहेको विवरण राखिएको थियो। त्यसयता सुकुम्बासी परिवारको संख्या बढेर ६ हजार हाराहारीमा पुगेको अनुमान गरिएको थियो। प्रतिवेदनमा थापाथली, सिनामंगल, गैरीगाउँ, शंखमूल, बल्खु, कपन, गोठाटार, कागेश्वरी, मनोहरा टोल, धोबीखोला किनार र विष्णुमती नदी किनारालगायत २२ ठाउँमा सुकुम्बासी बस्ती भएको पहिचान गरिएको छ।

प्राधिकरणको तथ्यांकक अनुसार थापाथलीमा एक सय ४३, गैरीगाउँमा एक सय ६२, गोठाटारमा ७७, शान्तिनगरमा चार सय ७६ र मनोहरा टोलमा १३ गरी कुल ८७१ परिवार बस्थे।

बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुमार सिम्खडाका अनुसार आइतबार साँझसम्म थापाथली, मनोहरा, शान्तिनगर तथा गैरीगाउँका गरी ५४७ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा आएका छन्। सम्पर्कमा आएका सुकुम्बासीलाई कीर्तिपुरस्थित सत्सङ भवन हल तथा बालाजुका विभिन्न होटलमा राखिएको सिम्खडाले बताए। उनीहरूलाई निःशुल्क भोजनको व्यवस्थासमेत मिलाइएको उनको भनाइ छ। सम्पर्कमा आएका सुकुम्बासीलाई आवश्यक भए औषधिउपचार पनि उपलब्ध गराइने प्राधिकरणका कर्मचारीले जनाएका छन्।

विकास आयुक्त ढकालका अनुसार सम्पर्कमा आएका परिवारको १५ दिनभित्र वास्तविक सुकुम्बासी भए/नभएको पहिचान गरी वास्तविकलाई इचगुंनारायणस्थित अपार्टमेन्टमा राखिने छ। त्यहाँ नअट्ने पास्तविक सुुकुम्बासीलाई राख्न अन्य स्थानको खोजी पनि भइरहेको उनले बताइन्। सहरी विकास मन्त्रालयले इचगुंनाराणस्थित अपान्र्टमेन्ट रंगरोगन तथा सरसफाइ गर्न लगाएको छ।

इचंगुनारायणमा ती सय सुुकम्बासी परिवार बस्न मिल्नेगरी सहरी विकास मन्त्रालय मातहत तीनवटा भवन बनाइएका हुन्। हालसम्म प्रयोगमा नआएका ती भवनमा वास्तविक सुकुम्बासीलार्य राखिने छ। प्रत्येक फ्ल्याटमा ३ वटा कोठा, शौचालय, नुहाउने कोठा छन्। २०६६ सालमा काठमाडौंका सुकुम्बासीलाई इचंगुनारायणमा राख्ने योजना सरकारले अघि सारे पनि त्यो कार्यान्वयनमा आउन सकेको थिएन। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया