बैसाख ११, २०८३ शुक्रबार April 24, 2026

प्रधानमन्त्री बालेनको शून्य सहनशीलता प्रमाणित गर्ने प्रयास

साउनदेखि मालपोत र नापीको सेवा नगरपालिकाबाटै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुशासनको सवालमा शून्य सहनशीलता देखाउने प्रयास गर्नुभएको छ । सोही प्रयासस्वरूप विवादमा मुछिएका गृहमन्त्री सुधन गुरुङ र श्रममन्त्री दीपक साहले सरकार गठन भएको एक महिना नपुग्दै पदबाट राजीनामा दिनुपरेको हो । गत चैत १३ गते प्रधानमन्त्रीको पदभार ग्रहण गरेलगत्तै सिंहदरबारमा आयोजित पहिलो मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री शाहले आफ्ना मन्त्रीहरूलाई उत्कृष्ट कार्यसम्पादन गर्न तर काम गर्न नसके राजीनामा दिन निर्देशन दिनुभएको थियो ।

प्रधानमन्त्री बालेन नेतृत्वको सरकारले जनताले दिएको झण्डै दुईतिहाइको मतभार र विश्वासलाई न्याय गर्नुपर्ने चुनौती बोकेको छ । वर्तमान सरकारलाई नगर्ने वा ढिलासुस्ती गर्ने छुट छैन । त्यसकारण मन्त्रीहरूलाई मात्र नभई प्रधानमन्त्री बालेनले कर्मचारीतन्त्रका खम्बा मानिने सचिवहरूलाई समेत कडा चेतावनी दिँदै परिणाम आउने गरी काम गर्न, मन्त्रीहरूलाई फाइल घुमाएर अल्झाउने काम नगर्न निर्देशन दिनुभएको थियो ।

काम गर्न नसके अर्थात् विगतकै प्रवृत्ति दोहोर्‍याउने भए आफैँ बाटो खाली गर्न पनि उहाँले सचिवहरूलाई चेतावनी दिनुभएको थियो । नेपालको राजनीतिमा सुशासनको सवालमा विगतमा मन्त्रीहरूमाथि गम्भीर प्रश्न उठ्दा पनि नैतिकता भन्ने विषय भेटिने गरेको थिएन । तर, बालेन सरकारले एक महिना नपुग्दै सुशासनको सवालमा आफूलाई शून्य सहनशीलता प्रमाणित गर्ने प्रयास गरेको छ । बुधबार गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनुपर्‍यो ।

विवादास्पद व्यापारी दीपक भट्टसँगको व्यापारिक कनेक्सन र केही इन्स्योरेन्स कम्पनीमा लगानी देखिएपछि प्रधानमन्त्रीले गुरुङलाई मार्गप्रशस्त गर्न निर्देशन दिनुभएको थियो । आफूमाथि प्रश्न उठेसँगै गुरुङले छानविन समिति गठन होस् भन्ने चाहना राख्नुभएको थियो । तर, प्रधानमन्त्री बालेनले राजीनामामै जोड दिनुभयो । सोहीअनुसार मन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत राजीनामा दिनुभएको हो ।

यसअघि कार्यभार सम्हालेको १४ दिनमै तत्कालीन श्रममन्त्री दीपककुमार साहलाई पनि पदमुक्त गरिएको थियो । क्षेत्राधिकार बाहिरको अभिव्यक्ति र श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा सदस्य बनाएर पदको दुरुपयोग गरेको ठहर भएपछि रास्वपा सभापति रवि लामिछानेको सिफारिशमा साहलाई हटाइएको थियो । यो प्रकरणमा मुछिनुभएकी स्वास्थ्यमन्त्री निशा मेहतालाई समेत रास्वपाले सचेत गराएर ‘सुशासनमा कुनै सम्झौता नहुने’ सन्देश प्रवाह गरेको छ ।

‘जेन-जी’ आन्दोलनपछि फेरिएको राजनीतिक परिस्थितिबीच भएको निर्वाचनमा जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मतको मात्र नभई विश्वासको समेत भारी दिएर पठाएका छन् । अहिलेको आम नेपालीको चाहना कानुनको नजरमा प्रधानमन्त्री र सर्वसाधारण बराबर हुन् भन्ने व्यवहारमा देख्न पाउनु हो । उनीहरूलाई सेटिङ र सिण्डिकेटको जालो तोडेर दैनिकीलाई सस्तो र सुलभ बनाउने सरकार चाहिएको छ । नागरिकले बालेन सरकारबाट भ्रष्टाचार अन्त्य गर्दै सुशासनको अपेक्षा गरेका छन् । प्रधानमन्त्री शाहले शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषद्बाटै निर्णय गराएर सार्वजनिक गरिसक्नु भएको छ । सोहीअनुसार मालपोत र नापी कार्यालयहरूमा बिचौलियामुक्त बनाउने अभियान जारी छ ।

सरकारी कार्यालयहरूमा फाइल अड्किने समस्या समाधान गर्न ‘शून्य बाँकी फाइल’ अभियान सञ्चालन गरिएको छ । लामो समयदेखि समस्याको रूपमा रहेको लाइसेन्स नपाउने समस्या समाधानको सरकारले पहल थालेको छ । कैयौँ सुधारका कामहरूलाई सरकारले पाइपलाइनमा राखेको छ । ‘जेन-जी’ आन्दोलनको राप र तापबाट जन्मिएको यो सरकारका लागि अबको बाटो सहज भने छैन । पुराना राजनीतिक दलहरूको अवरोध, प्रशासनिक ढिलासुस्ती र स्वार्थ समूहहरूको घेराबन्दी चिर्नु अझै बाँकी छ । तर, सरकार गठनको पहिलो महिनामै देखिएको तत्परता र ‘एक्सन’ ले आम नेपालीमा केही आशा पलाएको छ ।

साउनदेखि मालपोत र नापीको सेवा नगरपालिकाबाटै

सरकारले आगामी साउन १ गतेबाट नापी र मालपोत सेवा नगरपालिकालाई दिने भएको छ । ७५३ स्थानीय तहमध्ये महानगर, उपमहानगर र नगरपालिका गरी २९२ स्थानीय तहबाट साउन १ मा नापी र मालपोतको सेवा सुरु हुन लागेको हो । त्यसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव तथा प्रवक्ता गणेशप्रसाद भट्टको नेतृत्वमा चैत ३० मा गठित नौ सदस्यीय अध्ययन समितिले तीव्र रूपमा काम गरिरहेको छ । उक्त समितिले नापी र मालपोतसँग सम्बन्धित कुन–कुन सेवा नगरपालिकामा दिने भनेर अध्ययन गरेको छ ।

मन्त्रालयले यही वैशाख १५ गतेभित्र प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बुझाउने छ । नापी र मालपोतमा हुने सबै काम नगरपालिकामा पठाइने मन्त्रालयले जनाएको छ । जग्गा कित्ताकाट, अंशबण्डा, रोक्का राख्ने, फुकुवा गर्नेलगायत काम नगरपालिकाबाट हुन्छ । मोही बाडफाँट र नयाँ दर्ताको काम भने जिल्लाबाटै हुने छ । मालपोत र नापीको काम नगरपालिकामा पठाउँदा सम्बन्धित पालिकाकै जनशक्तिबाट काम गराउने सरकारको तयारी छ । मन्त्रालयमा भूमि व्यवस्थापन तथा अभिलेख विभागअन्तर्गत २१ वटा, भूमिसुधार तथा मालपोत कार्यालयअन्तर्गत ११० वटा, मालपोत कार्यालय तथा नापी विभागअन्तर्गत १३१ वटा नापी कार्यालय र सातवटा विशेष नापी कार्यालय छन् । नागरिकलाई आफ्नो घर नजिकबाट सेवा दिन नगरपालिकामा नापी र मालपोत सेवा पठाउन लागिएको छ ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न एमालेको आग्रह
२०८३ बैसाख ११, शुक्रबार
देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल
२०८३ बैसाख ११, शुक्रबार
सर्लाहीको मलङ्गवामा ११ अवैध स्वास्थ्य संस्था सिल, सञ्चालक फरार
२०८३ बैसाख ११, शुक्रबार
धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने
२०८३ बैसाख ११, शुक्रबार
पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा
२०८३ बैसाख ११, शुक्रबार
लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै
२०८३ बैसाख ११, शुक्रबार
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
२०८३ बैसाख ११, शुक्रबार