काठमाडौँ, वैशाख ९ गते । दक्षिण एसियाकै वैभवशाली इतिहास बोकेको सिंहदरबारको पुनर्निर्माण २०७२ सालको भूकम्पपछिको भन्दा जटिल र चुनौतीपूर्ण देखिएको छ । सिंहदरबारलाई दक्षिण एसियाकै उत्कृष्ट भौतिक संरचनाका रूपमा लिने गरिन्छ ।
भदौ २४ गते जेनजी प्रदर्शन क्रममा भएको आगजनीबाट भूकम्पभन्दा बढी क्षति पुगेका कारण पुनर्निर्माण जटिल र चुनौतीपूर्ण देखिएको हो । भूकम्पले सिंहदरबार भवनका संरचना भत्केको मात्र थियो तर आगजनीले खरानी नै पारेकाले त्यस्तो समस्या देखिएको हो । आगजनीले क्षतिग्रस्त सिंहदरबारको पूर्वी, उत्तरी र दक्षिणी मोहडाभन्दा पश्चिमी मोहडा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
सहरी विकास मन्त्रालयमातहतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख ई. चक्रवर्ती कण्ठले भूकम्पको समयमा सिंहदरबारको संरचनामा तात्त्विक असर नपरेका कारण पुनर्निर्माण सहज भएको तर जेनजी प्रदर्शन क्रममा भएको आगजनीले संरचना जलेर खरानी बनेका कारण अहिले पुनर्निर्माण जटिल देखिएको बताउनुभयो । सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमातहत सिंहदरबार भवनको मर्मतसम्भार तथा व्यवस्थापन हुँदै आएको छ ।
उहाँले भन्नुभयो, “भूकम्पले सिंहदरबारमा अहिलेको भन्दा कम क्षति भएको थियो । संरचना भत्केको मात्र थियो । भवनको जोर्नी (ज्वाइन्ट) मा मात्र क्षति पुगेको थियो । भवनको संरचनामा तात्त्विक असर परेको थिएन, जसलाई पुनः जोड्न र ठड्याउन सजिलो थियो । तर अहिले प्रायः संरचना खरानी भइसकेका छन् । इँटालगायतका वस्तु डढेर अस्तित्वविहीन बनेका छन् भने कतिपय बाङ्गिएका छन् । त्यसै गरी भित्ता, छत, खम्बालगायतका संरचना खरानी बन्नुका साथै भूकम्पछिको पुनर्निर्माणमा प्रयोग गरिएका सामग्रीसमेत जलेर नष्ट भएका छन् ।”
खरानी भइसकेका सामान, वस्तु वा संरचना पुनः जोड्न वा ठड्याउन अवश्यै कठिन र चुनौतीपूर्ण कार्य रहेको बताउँदै कार्यालय प्रमुख ई. कण्ठले अहिले सिंहदरबार पुनर्निर्माण भूकम्पपछिको भन्दा कैयौँ गुणा जटिल र खर्चिलो हुने देखिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “अहिले पनि सिंहदरबार ठडिएको देखिए पनि भित्र केही पनि बाँकी छैनन् ।”गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया