काठमाडौं : लामो समयदेखि वृद्ध नेताहरूको कब्जामा रहेको नेपालको राजनीति पछिल्लो आमनिर्वाचनको नतिजापछि बिस्तारै युवाको काँधमा सर्न थालेको छ । निर्वाचनअघि नै नेपाली कांग्रेसले विशेष महाधिवेशन गरेर ४९ वर्षका गगन थापालाई सभापति बनायो । जबकि त्यसअघि ७८ वर्षका शेरबहादुर देउवा कांग्रेसको सभापति थिए । यसअघि १४औं महाधिवेशनबाट नै कांग्रेसले महामन्त्रीमा नयाँ पुस्ताका दुई नेतालाई निर्वाचित गरेको थियो । विशेष महाधिवेशनबाट गगन सभापति बन्दा अर्का महामन्त्री विश्वप्रकाश शर्मा उपसभापति बनेका छन् । त्यस्तै, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे पनि पहिलेका महामन्त्रीहरूको तुलनामा कम उमेरका नै छन् ।
जेनजी आन्दोलनपछि भएको निर्वाचनले पनि अघिल्ला निर्वाचनहरूको तुलनामा धेरै युवालाई निर्वाचित गरेको छ । २०४६को परिवर्तनपछि ६० वर्षमुनिका व्यक्ति प्रधानमन्त्री बन्नु दुर्लभजस्तै थियो । तर, पछिल्लोपटक राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का वरिष्ठ नेता हुँदै नेपालको ४३औं प्रधानमन्त्री बनेका वालेन्द्र शाह बालेन जम्मा ३६ वर्षका छन् । सोही पार्टीका सभापति रवि लामिछाने पनि जम्मा ५० वर्षका छन् । युवा लहरको साइड इफेक्ट रास्वपासँगै बिस्तारै अन्य पार्टीमा पनि सर्न थालेको छ ।
पुराना दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा पार्टीभित्र पनि युवाले नेतृत्व पाउन थालेका छन् । कांग्रेस र एमालेमा संसदीय दलको नेतामा पनि युवालाई नै ल्याउनुपर्ने माग उठेको थियो । तर, ती पार्टीको संसदीय दलको नेतामा पुरानै पुस्ताका नेता आए पनि प्रमुख सचेतक र सचेतकमा युवाले मौका पाएका छन् । कांग्रेसले संसदीय दलको प्रमुख सचेतकमा बासना थापा र सचेतकमा निश्कल राईलाई ल्याएको छ । उनीहरू दुवै प्रत्यक्ष निर्वाचित युवा हुन् । बासना दैलेख क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद हुन् भने निश्कल इलाम–१ बाट निर्वाचित हुन् । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दलको उपनेतामा अभिषेकप्रताप शाहलाई मनोनीत गरेका छन् ।
त्यस्तै, नेकपा एमालेले संसदीय दलको प्रमुख सचेतकमा ऐन महरलाई मनोनीत ग¥यो । संसदीय दलका नेता रामबहादुर थापा बादलले बझाङबाट निर्वाचित महरलाई प्रमुख सचेतक मनोनीत गरेका हुन् । उनी अनेरास्ववियुको अध्यक्ष भइसकेका नेता हुन् । यस्तै, सचेतकमा दलित युवा निशा घतानीलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञानबहादुर शाहीलाई संसदीय दलको नेता चयन गरेको छ । शाही जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । दलको प्रमुख सचेतकमा समानुपातिक सांसद खुश्बु ओलीलाई चयन गरेको छ । ओली समानुपातिक सांसद हुन् । पन्चायतको समेत लिगेसी बोकेको राप्रपाको संसदीय दलका नेता शाही र प्रमुख सचेतक ओली दुवै युवा हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकले प्रमुख सचेतकमा गोरका २ बाट निर्वाचित कवीन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको छ । उनीहरू समानुपातिक सांसद हुन् ।
पार्टीहरूमा युवा नेतृत्व आउनु जेनजी आन्दोलनको परिवर्तनको रूपमा लिन्छन्, संविधान विश्लेषक जैनेन्द्र जीवन । उनी भन्छन्, ‘जेनजी म्यान्डेडको सन्देश हो । जेनजीले चाहेको परिवर्तन बुझेर पार्टीहरूले युवालाई ल्याएका छन् ।’ यसलाई उनी समयको माग मान्दछन् । पार्टीहरूमा समयअनुसार परिवर्तन हुनुलाई उनले सकारात्मक रूपमा लिएका छन् । ‘रास्वपा त युवाहरूको दल भइहाल्यो, अन्य पुराना दलले पनि युवाहरूलाई नेतृत्वमा ल्याएका छन् ।’ युवाहरूले नै पार्टीको सत्ता सम्हाल्नुपर्ने उनी बताउँछन् ।
बासना थापा
पहिलोपटक संसदीय चुनाव लडेकी बासना दैलेख–१बाट एमाले नेता रवीन्द्रराज शर्मालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । १२ हजार ३७२ मत ल्याएर उनले जित निकाल्दा निकटतम प्रतिद्वन्द्वी शर्मा ११ हजार ७९६ मतमै रोकिए । संसदीय राजनीतिमा अनुभवी मानिने उम्मेदवारहरूबीच पहिलो प्रयासमै जित निकाल्नु बासनाका लागि ठुलो उपलब्धि बनेको छ ।
२०३७ जेठ १५ गते काठमाडौंमा जन्मिएकी बासना थापाको जीवनयात्रा भने राजधानीमा मात्रै सीमित रहेन । २०५९ सालमा विवाहपछि उनी दैलेख पुगिन् । त्यसपछि उनको बसोवास र सक्रियता कर्णालीमै केन्द्रित भयो । हाल उनी दैलेखको नारायण नगरपालिकाकी स्थायी बासिन्दा हुन् ।
बासनाको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भएको हो । २०५७ सालमा उनी कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघमा आबद्ध भइन् । २०६१ सालमा दैलेख जिल्लाबाट नेपाली कांग्रेसको क्रियाशील सदस्य बनेपछि भने उनी पार्टी राजनीतिमा सक्रिय रूपमा लागिन् । त्यसयता उनले पार्टी संगठन, सामाजिक संस्था र स्थानीय गतिविधिमा निरन्तर सक्रियता देखाउँदै आएकी छन् ।
कांग्रेसको १२औं, १३औं र १४औं महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भइन् । १४औं महाधिवेशनसम्म आइपुग्दा उनी महासमिति सदस्यसमेत बनेकी थिइन् । त्यही महाधिवेशनमा उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी थिइन्, तर त्यसमा भने सफल हुन सकिनन् ।
राजनीतिक सक्रियतासँगै उनी व्यवसाय र सामाजिक क्षेत्रमा पनि सक्रिय छिन् । बासनाले होटेल व्यवसाय सञ्चालन गर्दै आएकी छन् । भारतको भीमराव विश्वविद्यालयबाट उनले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । उनी कांग्रेसबाट चुनाव जित्ने एक मात्र महिला सांसद् भएकी छिन् ।
ऐन महर
विद्यार्थी राजनीतिबाट उदाएका महरले दोस्रो प्रयासमा बझाङबाट संसद्को यात्रा तय गरे । पार्टीले उनलाई प्रमुख सचेतकको समेत जिम्मेवारी दिएको छ । बझाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका महरको लामो समयको विद्यार्थी आन्दोलन र पार्टी राजनीतिले नयाँ उचाइ प्राप्त गरेको छ ।
उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाश रसाइलीलाई २ हजार २२९ मतान्तरले पराजित गरे । रसाइलीले १६ हजार ३०४ मत प्राप्त गरेका थिए ।
निकै चुनौतीपूर्ण चुनावी प्रतिस्पर्धाबाट आएका महर निर्वाचनको सुरुआती चरणमा राजनीतिक वातावरण सहज थिएन । एकातिर नेपाली कांग्रेसभित्र देखिएको एकता र अर्कोतर्फ एमालेमा टिकट वितरणलाई लिएर चुलिएको असन्तुष्टिले चुनावी समीकरण जटिल बनेको थियो । विशेषगरी टिकट नपाएको विषयमा असन्तुष्टि जनाउँदै आएका नेता अफिलाल ओखेडालगायत नेतालाई एकताबद्ध बनाउनु महरका लागि ठुलो चुनौती बनेको थियो ।
२०४० चैत २ गते बझाङको साविक सुवेडा गाविस (हाल जयपृथ्वी नगरपालिका–७)मा पिता रामबहादुर महर र आमा रतना महरको कोखबाट जन्मिएका महरको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भएको हो । स्नातकोत्तर तहको अध्ययन पूरा गरेका महर हाल एमफिल अध्ययनरत छन् ।
महरले २०५५ सालमा काठमाडौंस्थित अस्कल क्याम्पसमा अध्ययनका क्रममा अनेरास्ववियुमार्फत विद्यार्थी राजनीति सुरु गरका थिए । २०६५ सालमा पोखरामा सम्पन्न अनेरास्ववियुको १९औं राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी क्रमशः संगठन भित्र उक्लँदै २०६७ सालमा सचिवालय सदस्य, २०७० सालमा उपाध्यक्ष र २०७६ सालमा संगठनको अध्यक्ष बन्न सफल भए ।
त्यस्तै, एमालेको २०७८ र २०८२ सालमा सम्पन्न महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । महर २०६२–०६३ को जनआन्दोलनमा सक्रिय सहभागी हुनुका साथै भूकम्प र कोभिड–१९ महामारीका समयमा सामाजिक कार्यमा पनि सक्रिय रहेका थिए ।
खुश्बु ओली
झापा सुरुंगाकी मोडल खुश्बु ओली काठमाडौंमा ‘सपना आमाघर’, ‘सेल्टर आश्रय’जस्ता संस्था खोलेर समाजसेवामा लागेकी हुन् । विगतमा उनी गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’सँगको प्रेम सम्बन्धका कारण मात्र होइन, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी नातेदार भनेर पनि चर्चामा छाएकी थिइन् । पछिल्लो समय राप्रपामार्फत राजनीतिमा सक्रिय रहेकी उनी यसपटक समानुपातिक सांसद बन्ने अवसर पाएकी छन् । मध्यान्ह दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया