बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

रुसको ड्रोन आक्रमण तीव्र, अप्रिलमा नयाँ रेकर्ड

मस्कोले भने नागरिकलाई लक्षित गरेको आरोप अस्वीकार गर्दै आफ्नो आक्रमण सैन्य तथा ऊर्जा पूर्वाधारमा केन्द्रित रहेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

किएभ, वैशाख १८ गते । युक्रेनमाथि रुसले अप्रिल महिनामा लामो दूरीका आक्रमणकारी ड्रोनको अभूतपूर्व प्रयोग गर्दै नयाँ रेकर्ड कायम गरेको छ । किएभको वायु सेनाले सार्वजनिक गरेको तथ्याङ्कमा आधारित एएफपीको विश्लेषणले युद्धको स्वरूप अझ आक्रामक र व्यापक बन्दै गएको सङ्केत दिएको छ ।

प्रकाशित दैनिक विवरणको सङ्कलन अनुसार रुसले अप्रिलभरि कुल छ हजार ५८३ लामो दूरीका ड्रोन प्रक्षेपण गरेको छ । यो अघिल्लो महिनाको तुलनामा दुई प्रतिशतले बढी हो । मार्चमा समेत यसअघि कैयौँ ड्रोन प्रहार गरिँदा रेकर्ड बनेको थियो, तर अप्रिलले त्यो सीमा तोडेको छ । यसरी निरन्तर बढ्दो प्रयोगले मस्कोले हवाई आक्रमणको रणनीतिलाई थप तीव्र बनाउँदै लगेको देखिन्छ ।

युद्धको यस चरणमा एउटा उल्लेखनीय परिवर्तन भनेको दिनको समयमा पनि आक्रमण बढ्नु हो । पहिले प्रायः राति केन्द्रित रहने ड्रोन आक्रमण पछिल्ला हप्तामा दिन दहाडै हुन थालेका छन् । विश्लेषकले यसलाई नागरिक क्षेत्रमा बढी क्षति पुर्‍याउने उद्देश्यले अपनाइएको नयाँ रणनीति ठानेका छन् ।

युद्ध अध्ययन संस्थान (आइएसडब्लु) का अनुसार रात र दिन दुवै समयमा ठुलो परिमाणमा आक्रमण गर्नुले नागरिक सुरक्षामा गम्भीर असर पार्न सक्छ । विशेष गरी खुला क्षेत्र र सार्वजनिक स्थान लक्षित हुन सक्ने चेतावनी दिइएको छ, जहाँ मौसम तातिँदै जाँदा मानिसको उपस्थिति बढ्ने सम्भावना हुन्छ ।

युक्रेनी पक्षले भने आफ्नो प्रतिरक्षा क्षमतालाई सुदृढ रहेको दाबी गरेको छ । वायु सेनाको तथ्याङ्क अनुसार आएको कुल ड्रोन र मिसाइलमध्ये करिब ८८ प्रतिशत खसाल्न सफल भएको जनाइएको छ । किएभले आफ्नो हवाई सुरक्षा प्रणालीलाई विश्वकै प्रभावकारीमध्ये एकका रूपमा प्रस्तुत गर्दै आएको छ, जसले लामो समयदेखि भइरहेका रूसी आक्रमणलाई प्रतिरोध गर्दै आएको छ ।

युक्रेनका अधिकारीहरूले दिनको समयमा गरिने आक्रमणलाई ‘नागरिकलाई त्रसित पार्ने प्रयास’ का रूपमा व्याख्या गरेका छन् । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको कार्यालयका उपप्रमुख पावलो पालिसाका अनुसार यस्ता आक्रमणले केवल भौतिक क्षति मात्र नभई आर्थिक गतिविधिमा समेत गम्भीर अवरोध ल्याउँछ । “कार्य दिनकै बिचमा गरिने आक्रमणले व्यवसाय र दैनिक जीवनलाई पक्षाघात पार्ने प्रभाव पार्छ”, उहाँले एक अन्तर्वार्तामा बताउनुभएको थियो ।

यसअघि जाडो मौसममा रुसले युक्रेनको ऊर्जा संरचनालाई लक्षित गर्दै विद्युत् र ताप प्रणालीमा अवरोध पुर्‍याएको थियो, जसका कारण लाखौँ नागरिक चिसो मौसममा आधारभूत सेवाबाट वञ्चित भएका थिए । अहिले रणनीति परिवर्तन गर्दै आक्रमणको समय र स्वरूप दुवै विस्तार गरिएको देखिन्छ ।

मस्कोले भने नागरिकलाई लक्षित गरेको आरोप अस्वीकार गर्दै आफ्नो आक्रमण सैन्य तथा ऊर्जा पूर्वाधारमा केन्द्रित रहेको दाबी गर्दै आएको छ । यद्यपि, फेब्रुअरी २०२२ मा युद्ध सुरु भएयता हजारौँ सर्वसाधारणको ज्यान गइसकेको छ, जसमा आवासीय भवनमा भएका ड्रोन र मिसाइल आक्रमण पनि समावेश छन् ।

अमेरिकाको मध्यस्थतामा जारी वार्तासँगै आक्रमणको तीव्रता बढ्नुले द्वन्द्व समाधानको प्रयास थप जटिल बनेको सङ्केत दिएको छ । बढ्दो ड्रोन प्रयोग र नयाँ रणनीतिले आगामी दिनमा युद्धको दिशा अझ अस्थिर बन्ने देखिएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया