बैसाख २४, २०८३ बिहिबार May 7, 2026

ट्रम्पको चेतावनीबीच अमेरिकी प्रस्ताव अध्ययन गर्दै इरान

विश्वकै ठूलो ढुवानी कम्पनीमध्ये एक हापाग–लोयडले जलघाँटी बन्द हुँदा हरेक हप्ता करिब छ करोड डलर अतिरिक्त खर्च

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दुबई, २४ वैशाख (रासस\एपी): अमेरिका र इरानबीच दुई महिनादेखि जारी सैन्य तनाव अन्त्य गर्ने सम्भावित सम्झौताबारे नयाँ कूटनीतिक प्रयास सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता स्वीकार नगरे ‘अझ ठूलो स्तरको बमबारी’ हुने चेतावनी दिनुभएको केही घण्टापछि तेहरानले वासिङ्टनबाट आएको नयाँ प्रस्तावहरूको समीक्षा गरिरहेको जनाएको हो । युद्धविराम कायम रहे पनि खाडी क्षेत्रमा तनाव भने अझै कम भएको छैन ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त सैन्य कारबाही थालेपछि सुरु भएको द्वन्द्वले विश्व ऊर्जा बजार, समुद्री व्यापार र क्षेत्रीय सुरक्षामा गम्भीर असर पारेको थियो । अप्रिल ८ देखि औपचारिक युद्धविराम कायम भए पनि स्थायी समाधानका लागि भएका वार्ताहरू अझै निष्कर्षमा पुगेका छैनन् ।

यसबीच, युद्ध अन्त्यको सम्भावना देखिएसँगै अन्तर्राष्ट्रिय बजारमा केही राहतको सङ्केत देखिएको छ । ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब १०० डलर आसपास स्थिर भएको छ । लगानीकर्ताहरूले हर्मुज जलघाँटी फेरि पूर्ण रूपमा खुल्ने र तेल तथा प्राकृतिक ग्यासको ढुवानी सामान्य बन्ने अपेक्षा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्ध ‘चाँडै अन्त्य हुन सक्ने’ दाबी गर्नुभएको छ । उहाँले इरानले अमेरिकाले प्रस्ताव गरेको सम्झौता स्वीकार गरे तेल र ग्यास ढुवानी पुनः सुचारु हुने उल्लेख गर्नुभएको थियो । तर प्रस्ताव अस्वीकार गरिए थप सैन्य कारबाही हुने चेतावनी पनि उहाँले दिनुभयो ।

“यदि उनीहरू सहमत भएनन् भने बमबारी सुरु हुन्छ”, ट्रम्पले सामाजिक सञ्जालमा लेख्नुभएको छ । उहाँले सम्भावित आक्रमण ‘पहिलेभन्दा धेरै उच्च स्तर र तीव्र’ हुने दाबी पनि गर्नुभयो ।

युद्धका क्रममा ट्रम्प प्रशासनको रणनीति र सन्देश बारम्बार परिवर्तन भएको आरोप पनि लाग्दै आएको छ । विशेषगरी हर्मुज जलघाँटी खुलाउने अमेरिकी योजनाबारे ह्वाइट हाउसका अभिव्यक्तिहरू केही घण्टामै फरक–फरक आएको भन्दै विश्लेषकहरूले अमेरिकी नीति अस्थिर देखिएको टिप्पणी गरेका छन् ।

इरानले हाल हर्मुज जलघाँटी प्रभावकारी रूपमा नियन्त्रणमा राखेको छ । विश्व ऊर्जा आपूर्तिको महत्त्वपूर्ण मार्ग मानिने यो जलमार्ग हुँदै तेल, ग्यास तथा पेट्रोलियमजन्य वस्तु विश्व बजारमा पुग्ने गर्छन् । अमेरिकाले भने इरानी बन्दरगाहहरूमा नाकाबन्दी कायम राखेको छ ।

बुधबार अमेरिकी सेनाले ओमानको खाडीमा इरानी तेल ट्याङ्करमाथि कारबाही गरेको जनाएको थियो । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार अमेरिकी नाकाबन्दी तोड्ने प्रयास गरेपछि लडाकू विमानले ट्याङ्करको बाहिरी भागमा गोली प्रहार गरेको थियो ।

यसैबीच ट्रम्पले इरानी नेतृत्व युद्ध अन्त्य गर्न इच्छुक रहेको दाबी गर्नुभएको छ । उहाँले ‘सम्झौता गर्न चाहने मानिसहरूसँग छलफल भइरहेको’ बताउँदै अमेरिका आफ्नो सर्तमा सहमति गराउन सक्षम हुन सक्ने सङ्केत दिनुभयो ।

अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार ह्वाइट हाउसले इरानसँग सम्भावित सम्झौताका लागि एक पृष्ठको प्रारम्भिक ज्ञापन तयार पारेको छ । त्यसमा इरानको युरेनियम संवद्र्धन कार्यक्रम रोक्ने, अमेरिकी प्रतिबन्धहरू हटाउने, इरानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्ने तथा हर्मुज जलघाँटी खुला गर्ने प्रावधान समावेश रहेको बताइएको छ ।

तर ह्वाइट हाउसले सम्भावित सम्झौताबारे औपचारिक प्रतिक्रिया दिएको छैन । यता इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले राज्य सञ्चारमाध्यमसँग कुरा गर्दै एक्सियोसले उल्लेख गरेका प्रस्तावहरूलाई ‘कडा रूपमा अस्वीकार’ गरिएको बताउनुभयो । यद्यपि उहाँले पछिल्लो अमेरिकी प्रस्तावको अध्ययन जारी रहेको स्वीकार गर्नुभयो ।

यसअघि अमेरिकाले ‘प्रोजेक्ट फ्रिडम’ नाम दिएर हर्मुज जलघाँटी हुँदै व्यापारिक जहाजलाई सुरक्षित मार्ग उपलब्ध गराउने सैन्य योजना अघि सारेको थियो । तर मङ्गलबार ट्रम्प प्रशासनले उक्त योजना अस्थायी रूपमा स्थगित गरेको थियो ।

अमेरिकी सुरक्षामा सञ्चालित मार्ग खुलाइएपछि सोमबार केवल दुई अमेरिकी झण्डावाहक व्यापारिक जहाज मात्रै जलघाँटी पार गर्न सफल भएका थिए । अमेरिकी सेनाले नागरिक जहाजलाई धम्की दिएको आरोप लगाउँदै इरानका छवटा साना डुङ्गा डुबाइएको दाबी पनि गरेको छ ।

हाल सयौँ व्यापारिक जहाज पर्सियन खाडी क्षेत्रमा रोकिएका छन् । हर्मुज जलघाँटी बन्द भएकाले ती जहाज खुला समुद्रसम्म पुग्न सकेका छैनन् । यसले विश्वव्यापी इन्धन मूल्य तीव्र रूपमा बढाएको छ भने विश्व अर्थतन्त्रमा व्यापक दबाब सिर्जना गरेको छ ।

विश्वकै ठूलो ढुवानी कम्पनीमध्ये एक हापाग–लोयडले जलघाँटी बन्द हुँदा हरेक हप्ता करिब छ करोड डलर अतिरिक्त खर्च भइरहेको जनाएको छ । बढ्दो इन्धन मूल्य र बीमा शुल्कले व्यापारिक ढुवानी क्षेत्रलाई गम्भीर असर परेको कम्पनीको भनाइ छ ।

यसैबीच चीनले युद्धविरामलाई दीर्घकालीन शान्ति सम्झौतामा रूपान्तरण गर्न आह्वान गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले बुधबार बेइजिङमा इरानी विदेशमन्त्री अब्बास अराघचीसँग भेटवार्ता गर्दै द्वन्द्वप्रति चीन ‘गहिरो रूपमा चिन्तित’ रहेको बताउनुभयो ।

चीन र इरानबीचको निकट आर्थिक तथा राजनीतिक सम्बन्धका कारण बेइजिङ अहिलेको सङ्कट समाधानमा प्रभावशाली भूमिका खेल्न सक्ने अवस्थामा देखिएको छ । ट्रम्प प्रशासनले पनि चीनलाई इरानमाथि प्रभाव प्रयोग गरी हर्मुज जलघाँटी खुलाउन आग्रह गरिरहेको छ ।

अराघचीको चीन भ्रमण अमेरिकी राष्ट्रपति ट्रम्पको आगामी बेइजिङ भ्रमणअघि भएको हो । ट्रम्प मे १४–१५ मा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने उच्चस्तरीय शिखर सम्मेलनमा सहभागी हुने तयारीमा हुनुहुन्छ ।

इरानी विदेशमन्त्री अराघचीले आफ्नो चीन भ्रमणका क्रममा इरानको आणविक कार्यक्रम, हर्मुज जलघाँटी र सम्भावित कूटनीतिक समाधानबारे विस्तृत छलफल भएको जानकारी दिनुभएको छ । उहाँले तेहरान आफ्नो रणनीतिक हित सुरक्षित रहने गरी मात्रै कुनै सम्झौतामा जाने अडानमा रहेको सङ्केत गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्रम्पको चेतावनीबीच अमेरिकी प्रस्ताव अध्ययन गर्दै इरान
२०८३ बैसाख २४, बिहिबार
त्रिसाली मेलामा रमाउँदै यासोक
२०८३ बैसाख २४, बिहिबार
लुम्बिनी प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी
२०८३ बैसाख २४, बिहिबार
पोखरा विमानस्थल निर्माण प्रकरण : पूर्वमन्त्री कार्कीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८३ बैसाख २४, बिहिबार
साझा प्रकाशनलाई पूर्ववत् अवस्थामा ल्याउन माग
२०८३ बैसाख २४, बिहिबार
जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
२०८३ बैसाख २४, बिहिबार
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
२०८३ बैसाख २४, बिहिबार