काठमाडौँ, वैशाख २६ गते । सरकारले विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि स्वीकृत गरेको छ । ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ को व्यवस्थाबमोजिम आठ वटा विश्वविद्यालयका उपकुलपति पदमुक्त भएपछि सरकारले नयाँ कार्यविधि बनाएर उपकुलपति छनोट प्रक्रिया अगाडि बढाएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार सरकारले उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि स्वीकृत गरेसँगै विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । मन्त्रालयले दरखास्त पेस गर्न १० दिनको समयसीमा तोकेको छ ।
मन्त्रालयका उपसचिव वीरबहादुर धामीका अनुसार सबै प्रक्रिया पूरा भई उपकुलपति नियुक्त हुन करिब एक महिना लाग्ने छ । उहाँले भन्नुभयो, “आवेदनका लागि १० दिन समय तोकिएको छ । स्क्रिनिङ, सङ्क्षिप्त सूची प्रकाशन, प्रस्तुतीकरण र अन्तर्वार्ता हुँदै सिफारिस गर्न करिब तीनदेखि चार साता लाग्ने छ ।”
मन्त्रालयले उपकुलपति पदमुक्त भएपछि विश्वविद्यालयको दैनिक व्यवस्थापकीय कामकाज सहज बनाउन वैकल्पिक व्यवस्था गर्न लागेको छ । मन्त्रालयले काम नरोकिने हिसाबले अर्को साता अन्तरिम प्रबन्ध गर्ने जनाएको छ । यसअघि उपकुलपति सिफारिसका लागि विश्वविद्यालयपिच्छे छुट्टाछुट्टै कार्यविधि कार्यान्वयनमा थियो । सरकारले उपकुलपति नियुक्ति प्रक्रियालाई निष्पक्ष र योग्यतामा आधारित बनाउन तथा छनोटमा एकरूपता ल्याउन आठ वटा विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि एकीकृत कार्यविधि तयार गरेको हो तर आठ वटै विश्वविद्यालयका लागि छुट्टै छुट्टै छनोट तथा सिफारिस समिति हुने छ ।
प्रधानमन्त्री कुलपति हुने विश्वविद्यालयको हकमा भने विश्वविद्यालय सभाको बैठकबाट थप निर्णय गरेर उपकुलपति छनोट तथा सिफारिस र नियुक्ति प्रक्रिया अगाडि बढाइने छ ।
उपकुलपतिका लागि योग्यता
कार्यविधि अनुसार विश्वविद्यालयको उपकुलपति पदका उम्मेदवारले कम्तीमा विद्यावारिधि उपाधि प्राप्त गरेको, अनुसन्धान र प्राज्ञिक क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको, शैक्षिक र प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापनसम्बन्धी सिप र कौशल प्रदर्शन गरेको हुनु पर्छ । उपकुलपति पदका उम्मेदवारको न्यूनतम उमेर ४० वर्ष तोकिएको छ । योग्यतामा दरखास्त दिने समयमा कुनै राजनीतिक दलको सदस्य नरहेको र नेपाली नागरिक भएको हुनुपर्ने सर्त तोकिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिको हकमा मान्यताप्राप्त विश्वविद्यालयबाट बौद्ध दर्शनसम्बन्धी विषयमा विद्यावारिधिको उपाधि प्राप्त गरेको हुनुपर्ने छ । कृषि तथा वनविज्ञान विश्वविद्यालयको हकमा भने कृषि, भेटेरिनरी वा वनविज्ञान विषयमा कम्तीमा विद्यावारिधि उपाधि प्राप्त गरेको हुनुपर्ने तोकिएको छ ।
उम्मेदवारले दरखास्तसँगै सोचपत्र र रणनीतिक कार्ययोजना तयार गरी आवरण पृष्ठमा मात्रै आफ्नो विवरण उल्लेख गरेर बुझाउनुपर्ने छ । आवेदकको पहिचान हुने कुनै प्रकारको सङ्केत चिह्न नरहने गरी छुट्टै खामबन्दी गरी पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । यसले पहिचानलाई गोप्य राखी योग्यताका आधारमा उम्मेदवार चयन हुने विश्वास गरिएको छ । एक जना उम्मेदवारले दुई वटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन सक्ने छ ।
छनोट तथा सिफारिस समितिले पेस हुन आएका उम्मेदवारको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका आधारमा सर्वाधिक अङ्क प्राप्त गर्ने तीन जना उम्मेदवार छनोट गरी उपकुलपति नियुक्तिका लागि कुलपतिसमक्ष सिफारिस गर्ने छ ।
छनोट तथा सिफारिस समितिले उम्मेदवार छनोट कार्यका लागि विज्ञ उपसमिति गठन गर्न सक्ने व्यवस्था गरिएको छ । समितिले विषयविज्ञबाट उम्मेदवारको योग्यता, कार्ययोजना, सोचपत्रबारे मूल्याङ्कन गराउन सक्ने छ । समितिका कुनै सदस्य वा समितिबाट गठित उपसमिति वा कुनै विज्ञका नजिकका नातेदार भएको व्यक्तिले उपकुलपतिको पदमा दरखास्त पेस गरेको अवस्थामा त्यस्तो सदस्य वा विज्ञ मूल्याङ्कन प्रक्रिया सहभागी हुन नहुने कार्यविधिमा उल्लेख छ ।
कार्यविधिको अनुसूची–२ ले योग्यता, अनुभव, सोचपत्र, कार्ययोजना, प्रस्तुतीकरण तथा अन्तर्वार्तासम्बन्धी अङ्क विभाजन गरेको छ । जस अनुसार प्राध्यापक पदमा कार्यअनुभवबापत १० अङ्क, स्वदेशी वा विदेशी विश्वविद्यालय वा प्रतिष्ठानको पदाधिकारीको अनुभव हासिल गरेका उम्मेदवारले प्रतिवर्ष एक अङ्कका दरले चार वर्षको अधिकतम चार अङ्क, पुस्तक लेखी आइएसबिएन प्राप्तिसहित सोको प्रकाशन गरेकामा दुई वटासम्मको लागि पाँच अङ्क प्रदान गरिने व्यवस्था गरिएको छ ।
कार्यविधिमा उच्च शिक्षाको क्षेत्रमा प्राज्ञिक अनुसन्धानमूलक परियोजना सम्पन्न गरेबापत प्रतिअनुसन्धानबापत तीन अङ्कका दरले दुई वटाको छ अङ्क, राष्ट्रियस्तरको प्राज्ञिक अनुसन्धानमूलक परियोजनाबापत प्रतिअनुसन्धानबापत १.५ अङ्कका दरले चार वटा अनुसन्धानका लागि छ अङ्क, उच्च शिक्षाको क्षेत्रमा अनुसन्धानमूलक लेख प्रकाशनबापत १० अङ्क, विश्वविद्यालयसम्बन्धी सोचपत्र मूल्याङ्कनबापत १५ अङ्क, विश्वविद्यालयको चारबर्से रणनीतिक कार्ययोजना मूल्याङ्कनबापत १० अङ्क, प्रस्तुतीकरणको २० र अन्तर्वार्ताको २० अङ्क निर्धारण गरिएको छ । गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया