असोज २४, २०८३ शनिबार October 10, 2026

झाडी फाँडेर फलफूल बगैँचा

उत्तिस र वनमाराले भरिएको दुई ठाउँमा ३० रोपनी बाँझो पाखोबारीमा झाडी फाडेर फलफूलखेती सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

म्याग्दी, २२ जेठः बेनी नगरपालिका–९ गिठिनीका सुजन चोखालले बाझिँएको पाखोबारीमा झाडी फाँडेर फलफूल बगैँचा स्थापना गर्नुभएको छ । रामकृष्ण कृषि, पशुपन्छी तथा फलफूल नर्सरीका सञ्चालक २६ वर्षीय चोखालले पाखोबारीलाई सुन्तला, कागती, टिमुर, ओखर, किबी र अकबरे खुर्सानीखेती गरेर हराभरा बनाउनुभएको हो ।

“बालिविज्ञान विषयको पढाइ सकेर २०७५ सालमा स्थापना गरेको फार्ममा फलफूलका बिरुवा उत्पादन गर्दै आएको थिएँ”, उहाँले भन्नुभयो, “यसपालि उत्तिस र वनमाराले भरिएको दुई ठाउँमा ३० रोपनी बाँझो पाखोबारीमा झाडी फाडेर फलफूलखेती सुरु गरेको छु ।”

पाँच सय सुन्तला, एक सय कागती, दुई सय टिमुर, ४० वटा ओखर र ३० बोट किबी लगाउनुभएका चोखालले सात रोपनीमा ‘मल्चिङ’ विधिबाट अकबरे खुर्सानीखेती गर्नुभएको छ । उहाँको फार्ममा पाँच हजार सुन्तला र सात हजार कागतीका बिरुवा छन् । सात हजार तीनपाते सुन्तला, सात–सात सय टिमुर र अम्बाको बिरुवा तयारी अवस्थामा छन् ।

“नर्सरीका सबै बिरुवा बिक्री भयो भने रु १५ लाख आम्दानी हुने अनुमान गरेको छु”, चोखालले भन्नुभयो, “फलफूलखेती र बिरुवा उत्पादनका साथै पाँच सय स्थानीय जातका कुखुरा र दुई सय ५० कालिज पनि पालेको छु ।” माछा र माहुरी पनि पालिएको उक्त फार्ममा १६ रोपनीमा अदुवाखेती भएको छ । बेनी नगरपालिका–२ बगरफाँटमा केराखेती पनि सुरु भएको छ ।

रघुगङ्गा गाउँपालिका–२ मा रहेको मुक्तिधाम माध्यमिक विद्यालयमा कृषि प्राविधिक विषयको सहायक प्रशिक्षक रहेका चोखाल साँझ, बिहान र बिदाको समयमा फार्ममा व्यस्त हुनुहुन्छ । उहाँलाई भाइहरू पशु प्राविधिक राम र इन्जिनियरिङ अध्ययन गरेका कृष्णले फार्म सञ्चालनमा सघाउँदै आउनुभएको छ ।

वार्षिक रु २० लाखदेखि रु २५ लाखको कारोबार हुने फार्ममा घरपरिवारका सदस्यबाहेक सिजनमा ७० देखि ८० जनाले रोजगारी पाएका सञ्चालक चोखालले बताउनुभयो । कृषि विकास कार्यालयले नर्सरीको पलास्टिक घर निर्माण र अदुवाखेतीका लागि सहयोग गरेको छ । चोखाल दाजुभाइ नर्सरी, कुखुरापालन र फलफूलखेतीबाट स्वरोजगार र आत्मनिर्भर बन्नुभएको छ ।

रोजगारी र अवसरको खोजीमा धेरै युवा विदेश र बजार पलायन भइरहेको समयमा चोखाल दाजुभाइले बाँझिएको पाखोबारीलाई हराभरा बनाएर सकारात्मक सन्देश दिएका उहाँका छिमेकी सन्दीप खत्रीले बताउनुभयो । बिरुवा, फलफूल र कुखुरा खरिदका लागि ग्राहक फार्ममै आउँछन् । बजारको समस्या छैन । काम गर्ने जनशक्ति नपाउनु फार्म सञ्चालनमा मुख्य चुनौती बनेको सञ्चालक चोखालले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफीको हत्या आरोपी टिकटकर ‘गुण्डा’ माथि थप दुई ज्यान मार्ने उद्योगको मुद्दा
२०८३ असोज २४, शनिबार
देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जना पक्राउ
२०८३ असोज २४, शनिबार
‘रामायण’मा रानी कैकयीकाे भुमिकामा लारा दत्त, मन्थराको भूमिकामा शीबा चड्ढा
२०८३ असोज २४, शनिबार
विश्व ‘अण्डा’ दिवस, अण्डाको उत्पादन र खपत बढाउन आवश्यक
२०८३ असोज २४, शनिबार
पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, होटल भत्किए, विद्युत् सेवा अवरुद्ध
२०८३ असोज २४, शनिबार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
२०८३ असोज २४, शनिबार
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार