जेठ २५, २०८३ सोमबार June 8, 2026

अनुसन्धान र नवप्रर्वतनसम्बन्धी सम्मेलन सम्पन्न

तीनवर्षे यात्रामै सिम्पोजियम, अन्तरराष्ट्रिय सम्मेलन तथा राष्ट्रिय सम्मेलन सफलतापूर्वक आयोजना गर्दै स्थापित गर्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगन्ज (बाँके), २५ जेठः लुम्बिनी प्राविधिक विश्वविद्यालयले प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई केन्द्रमा राख्दै ‘परिवर्तनका लागि प्रविधि’ विषयक राष्ट्रिय सम्मेलन आइतबार सम्पन्न भएको छ ।

सम्मेलनमा लुम्बिनी प्रदेशको दिगो विकासका लागि प्रविधिमा आधारित व्यावहारिक समाधान खोज्ने, शैक्षिक संस्था, उद्योग तथा सरकारी निकायबीच सहकार्य विस्तार गर्ने र अनुसन्धानलाई प्रवर्द्धन गर्ने विषयमा विस्तृत छलफल भएको थियो । दुई दिनसम्म नेपालगन्जमा सञ्चालन भएको उक्त सम्मेलनमा इन्जिनियरिङ, सूचना प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा कार्यरत विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयका डिन डा नीरज केसीले सम्मेलनमार्फत लुम्बिनी प्रदेशको दिगो विकासका लागि प्रविधि र नवप्रवर्तनमा आधारित व्यावहारिक समाधान खोज्ने उद्देश्य राखिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार नेपालगन्जको बढ्दो गर्मी, पानी व्यवस्थापन समस्या तथा स्थानीय विकासका चुनौतीलाई विशेष रूपमा छलफलमा समावेश गरिएको थियो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा विनोदप्रसाद ढकालले बाँके, बर्दिया, सुर्खेत, बुटवललगायत विभिन्न जिल्लाबाट विद्यार्थीको सहभागिता रहेको उल्लेख गर्दै नेपालगन्जलाई प्रविधि तथा नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यअनुरुप सम्मेलन सफल भएको बताउनुभयो ।

सम्मेलनमा राष्ट्रिय योजना आयोगका सदस्य डा सुदन झा, प्रा डा विनयकुमार मिश्र, प्रा डा मनिष पोखरेल, डा राजन सुवाललगायतका विज्ञहरूले प्रविधि, अनुसन्धान र विकासका विविध आयाममा आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो । सम्मेलनको दोस्रो दिन विभिन्न स्थानबाट आएका सहभागी तथा लुम्बिनी प्राविधिक विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले विभिन्न प्राविधिक विधाका अनुसन्धानपत्रहरूको मौखिक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।

प्यानल छलफलका क्रममा सञ्जय थापाले नेपालगन्जलाई सूचना प्रविधिसँग जोड्न सीमापारको सम्बन्ध उपयोगी सुरुआत हुनसक्ने उल्लेख गर्दै उत्तर प्रदेश र बिहारका विद्यार्थीलाई समेत आकर्षित गर्न सकिने बताउनुभयो । उहाँले समाजमा अझै पनि सूचना प्रविधिको महत्वबारे थप बुझाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

लुम्बिनी प्रदेशको गौरवको योजनाका रूपमा बाँकेमा सञ्चालनमा आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले आफ्नो तीनवर्षे यात्रामै सिम्पोजियम, अन्तरराष्ट्रिय सम्मेलन तथा राष्ट्रिय सम्मेलन सफलतापूर्वक आयोजना गर्दै आफूलाई स्थापित गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया