असार २, २०८३ मंगलबार June 16, 2026

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

प्राकृतिक स्रोत तथा सम्पदा संरक्षण अभियानअन्तर्गत ३१ सवारीसाधन नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भैरहवा। जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका १८२ वटा मुद्दा दर्ता भएका छन् । सो अवधिमा विभिन्न अपराधमा संलग्न २४३ जना प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले ज्यानसम्बन्धी २३, आत्महत्या १४, चोरी नौ, सङ्गठित तथा आर्थिक अपराध ५९, सामाजिक अपराध ५२, महिला तथा बालबालिकासम्बन्धी १३ तथा सवारीसम्बन्धी १२ मुद्दा दर्ता भएको जानकारी दिनुभयो ।

फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत ४६ जनालाई पक्राउ गरी रु ५२ लाख ६६ हजार ४१२ जरिवाना असुल गरिएको तथा १६ वर्ष पाँच महिना २५ दिन बराबरको कैद सजाय कार्यान्वयन गरिएको उहाँले बताउनुभयो ।

महिला तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा जेठ महिनामा घरेलु हिंसासम्बन्धी ९३ तथा झैझगडासम्बन्धी ७२ उजुरी प्राप्त भएको जनाइएको छ । तीमध्ये घरेलु हिंसाका ८३ वटा उजुरी मिलापत्रमार्फत समाधान गरिएको प्रहरीको भनाइ छ ।

हराएका व्यक्ति खोजतलास अभियानअन्तर्गत १०८ जनाको खोजीका लागि निवेदन प्राप्त भएकामा ६१ जनालाई फेला पारिएको तथा अघिल्लो अवधिदेखि खोजीमा रहेका नौ जनालाई समेत परिवारको सम्पर्कमा ल्याइएको सूचना अधिकारी चन्दले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारी प्रहरी निरीक्षक आशीष विश्वकर्माका अनुसार जेठ महिनामा लागूऔषधसम्बन्धी १२ मुद्दा दर्ता भई १९ जना पक्राउ परेका छन् । प्रहरीले डाइजेपाम २५२ एम्पुल, फेनार्गन ५८ एम्पुल, बुप्रेनोर्फिन १४७ एम्पुल, ब्राउन सुगरजस्तो देखिने पदार्थ २१ ग्रामभन्दा बढी तथा गाँजा नौ किलो ९४४ ग्राम बरामद गरेको छ ।

यसैबीच, लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट नक्कली नेपाली मुद्रा छाप्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट नक्कली नोट, कम्प्युटर, प्रिन्टर, मोबाइल फोन तथा अन्य उपकरण बरामद गरिएको र थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक विश्वकर्माले बताउनुभयो ।

शान्तिसुरक्षालाई प्रभावकारी बनाउन जेठ महिनामा ४९३ प्रहरी पिकेट, ५१० सवारी चेकिङ, ८६८ ग्रामीण गस्ती तथा अन्य विशेष सुरक्षा गतिविधि सञ्चालन गरिएको प्रहरीले जनाएको छ । यस अवधिमा आठ हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको थियो ।

सवारी दुर्घटना न्यूनीकरणका प्रयास जारी रहे पनि जेठ महिनामा जिल्लाभर १५८ सवारी दुर्घटना भएका छन् । दुर्घटनामा चार जनाको मृत्यु भएको तथा २५६ जना घाइते भएको प्रहरीले जनाएको छ । सवारी नियम उल्लङ्घन गर्ने तीन हजार ५६६ सवारीसाधनलाई कारबाही गरी रु ५६ लाख तीन हजार राजस्व सङ्कलन गरिएको छ ।

भन्सार छली तथा राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत रु दुई करोड ४३ लाख ४० हजार १६६ बराबरका अवैध सामान नियन्त्रणमा लिइएको तथा २२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो क्रममा ४० वटा सवारीसाधनसमेत नियन्त्रणमा लिइएको थियो ।

प्राकृतिक स्रोत तथा सम्पदा संरक्षण अभियानअन्तर्गत ३१ सवारीसाधन नियन्त्रणमा लिनुका साथै अवैध रूपमा ओसारपसार गरिएका ५६४ कुखुरा, ९०० चल्ला तथा विभिन्न वन पैदावार बरामद गरिएको जनाइएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागूऔषध दुव्र्यसन, साइबर अपराध, बालविवाह, घरेलु हिंसा, आत्महत्या रोकथाम, सडक सुरक्षा तथा मानव बेचबिखनविरुद्ध १५० भन्दा बढी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ । ती कार्यक्रममार्फत छ हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

नागरिक सहायता कक्षमार्फत एक हजार ६५ सेवाग्राहीलाई सेवा प्रदान गरिएको तथा हटलाइन र सम्पर्क नम्बरमा चार हजार ४८ फोन कल प्राप्त भएको प्रहरीको तथ्याङ्क छ । प्रहरी नायब उपरीक्षक चन्दले अपराध नियन्त्रण, अनुसन्धान तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै सुरक्षित समाज निर्माणमा नागरिकको सहयोग आवश्यक रहेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार
२०८३ असार २, मंगलबार
भियतनामी भिक्षुद्वारा बौद्धनाथ, स्वयम्भूनाथ र चारुमती बिहारको शान्ति पदयात्रा
२०८३ असार २, मंगलबार
सङ्घसङ्गठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन काठमाण्डौं प्रशासनको निर्देशन
२०८३ असार २, मंगलबार
रास्वपाको महाधिवेशन भरतपुरमा, उद्घाटनमा ५० हजार सहभागी हुने अनुमान
२०८३ असार २, मंगलबार
परीक्षा प्रणाली सुधार्दै कृषि विश्वविद्यालय
२०८३ असार २, मंगलबार
रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न
२०८३ असार २, मंगलबार
सडक पूर्वाधार र यातायात क्षेत्रलाई बजेटमा प्राथमिकताः मुख्यमन्त्री पाण्डे
२०८३ असार २, मंगलबार