काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन पूर्वअध्यक्षहरू पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी केन्द्रीय महाधिवेशन तोकिएको समयमा र निष्पक्ष रूपमा सम्पन्न नहुने आशंका व्यक्त गरेका छन्। पार्टीको महाधिवेशन समयमै नहुने संशयका कारण पछिल्लो समय कतिपयले पार्टी परित्याग गरिसकेको र कार्यकर्ताहरूमा निराशा बढिरहेको भन्दै उनीहरूले चिन्ता प्रकट गरेका छन्।
विगतमा आफूहरूले दिएका रचनात्मक सुझावहरूलाई आत्मसात् गर्नुको सट्टा पार्टी निर्माणमा जीवन समर्पण गरेका पूर्वअध्यक्षहरूमाथि नै जिम्मेवार व्यक्तिहरूबाट लाञ्छना र आरोप लगाउने प्रवृत्ति देखिनु दुःखद र अस्वीकार्य भएको विज्ञप्तिमा उल्लेख छ। यो परिस्थितिको निकासका लागि राप्रपाको विधानले दिएको संस्थागत भूमिकाको सम्मान गर्दै पार्टी अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षहरू समेत रहने गरी एक उच्चस्तरीय ‘स्टेरिङ कमिटी’ गठन गर्न उनीहरूले पुनः सुझाव दिएका छन्।
आगामी मङ्सिर २६ गतेदेखि हुने भनिएको केन्द्रीय महाधिवेशनको निर्णयलाई स्वागत गर्दै पूर्वअध्यक्षहरूले स्थापित परम्परा र अभ्यासअनुसार वर्तमान केन्द्रीय समितिलाई तत्काल ‘महाधिवेशन आयोजक समिति’ मा रूपान्तरण गर्न माग गरेका छन्। आफ्नो कुनै व्यक्तिगत स्वार्थ वा गुटको राजनीति नरहेको स्पष्ट पार्दै उनीहरूले महाधिवेशन स्वच्छ र लोकतान्त्रिक ढंगले सम्पन्न हुने विश्वासका साथ पार्टी छाडेर गएकाहरूलाई पुनः फर्किन र निराश कार्यकर्ताहरूलाई नयाँ उत्साहका साथ महाधिवेशनको तयारीमा जुट्न आह्वान गरेका छन्।


युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया