असार २०, २०८३ शनिबार July 4, 2026

इरानले युरोपलाई एसी निर्यात गर्न तयार

आफ्नै जनतालाई बचाउनका लागि इरानमाथिको प्रतिबन्ध हटाउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अङ्कारा। इरानले युरोपेली राष्ट्रहरूलाई गर्मीका कारण सामान्य नागरिकहरूको जीवनमा आउने जोखिमबाट बचाउन प्रतिबन्ध हटाउन सुझाव दिएको छ ।

इरानमाथिको प्रतिबन्ध फुकुवा गरेमा युरोपमा अत्यधिक गर्मीका कारण त्यहाँको बजारमा एयर कन्डिसनर (एसी) र शीतलन अन्य उपकरणको अभाव देखिएको समय सहयोग गर्न तेहरान तयार रहेको टर्किएस्थित इरानी दूतावासले बताएको हो । “व्यापक उपकरण निर्यात गर्न इरान तयार छ तर यसका लागि इरानमाथि लगाइएको आर्थिक नाकाबन्दी खुलाउन आवश्यक हुनेछ,” दूतावास स्रोतले भनेको छ।

एक्समा जारी एक पोस्टमा दूतावासले भनेको छ, “युरोपभरि देखिएको अकल्पनीय गर्मीको लहर र पर्याप्त शीतलन प्रणालीको अभावसँग जोडिएको निर्दोष मानिसहरूको दुःखद मृत्युको घटनालाई ध्यानमा राख्दै तेहरानले मित्रवत् सुझाव दिँदै आफ्नै जनतालाई बचाउनका लागि इरानमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेको हो ।”

“हामी युरोपमा प्रशस्त एयर कन्डिसनर र विभिन्न शीतलन उपकरणहरूको निर्यात गर्न तयार छौँ,” इरानी स्रोतले भनेको छ।

विज्ञप्तिमा भनिएको छ, “वर्षौंदेखिको प्रतिबन्धका बावजुद पनि इरानले आफ्नै स्वदेशी प्रविधिमा एसीको विकास र निर्माण गर्न सफल भएको छ ।

हामीसँग विशेषज्ञता छ, उत्पादन क्षमता छ र यदि युरोप आफैँलाई मद्दत गर्न तयार छ भने हामी मद्दत गर्न तयार छौँ ।”

युरोपमा तापक्रमले नयाँ रेकर्ड कायम गरेको छ । गर्मीको समय अगावै आएको तीव्र गर्मीको लहरले महादेशभरि बिरामी, मृत्यु र पूर्वाधारको क्षति निम्त्याएको छ। जर्मनी, चेक गणतन्त्र र पोल्यान्डमा तापक्रम ४० डिग्री सेल्सियस (१०४ फरेनहाइट) पुग्दा आइतबार यातायात प्रणाली पूरै प्रभावित भएको थियो।

फ्रान्समा औसत २९.८ डिग्री सेल्सियस (८५.६ फरेनहाइट) तापक्रम रहेको छ भने यहाँको एक शहरमा घाम लागेको समय बाहिरी तापक्रम ४४ डिग्री सेल्सियस (१११.२ फरेनहाइट) सम्म पुगेको छ । फ्रान्समा तापक्रम वृद्धिका कारण आएको मौसमी आँधीले करिब एक हजार अतिरिक्त मृत्यु निम्त्याएको अनुमान छ ।

अल जजिराले उद्धृत गरेको विश्व मौसमको अध्ययनले यस्तो तीव्र गर्मी सन् २००३ को तुलनामा अहिले दसौं देखि सयौं गुणा बढी सम्भव भएको र ५० वर्ष अगाडि त यो अकल्पनीयरूपमा कम रहेको बताएको छ ।

अल जजिराले डल्युडल्युएको रिपोर्ट उद्धृत गर्दै भनेको छ, “सन् १९७६ मा गर्मीको लहर सामान्यतया अहिलेको भन्दा ३.५ डिग्री सेल्सियस बढी चिसो थियो भने सन् २००३ मा पनि दुई डिग्री सेल्सियस चिसो थियो ।”

यी अत्यधिक तापक्रमको तत्काल कारण भनेको एकै स्थानमा रोकिएकोे उच्च दबाव प्रणाली वा ‘हिट डोम’ हो, जसले कैयौँ दिन वा हप्तौँसम्म एउटै क्षेत्रमा गर्मीलाई थुनिराख्छ । (रासस/एएनआई)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया