काठमाडौँ । पोल्यान्डले युक्रेनलाई गोप्य रूपमा अमेरिकी निर्मित प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र पठाएको भन्ने दाबी सार्वजनिक भएपछि त्यहाँ राजनीतिक विवाद चुलिएको छ ।
विपक्षी दलहरूले प्रधानमन्त्री डोनाल्ड टस्क नेतृत्वको सरकारसँग यस विषयमा स्पष्ट जवाफ मागेका छन् । सार्वजनिक मिडिया रिपोर्टका अनुसार पोल्यान्डले गत मार्चमा अमेरिकी निर्मित प्याट- ३ प्याट्रियट अवरोधक क्षेप्यास्त्रको एक खेप युक्रेन पठाएको थियो । यद्यपि, यसबारे पोल्यान्ड सरकारले अहिलेसम्म कुनै आधिकारिक पुष्टि गरेको छैन ।
संसदका उपसभामुख तथा विपक्षी नेता क्रिजिस्टोफ बोसाकले उक्त दाबी सत्य भए यो अत्यन्त गम्भीर विषय हुने बताएका छन् । उनका अनुसार प्याट्रियट क्षेप्यास्त्र पोल्यान्डको हवाई सुरक्षाका लागि अत्यावश्यक भएकाले भविष्यमा कुनै पनि सैन्य हतियार वा उपकरण विदेश पठाउनुअघि संसदको स्वीकृति अनिवार्य गरिनुपर्ने व्यवस्था हुनुपर्छ ।
पूर्व रक्षामन्त्री मारियुश ब्लाश्चाकले पनि सरकारसँग वास्तवमै युक्रेनलाई क्षेप्यास्त्र पठाइएको हो वा होइन भन्ने प्रश्न उठाएका छन् । साथै, त्यसबाट अमेरिकाबाट पोल्यान्डले प्राप्त गर्ने आफ्नै प्याट्रियट क्षेप्यास्त्रको आपूर्तिमा कुनै असर परेको छ कि छैन भन्ने विषयमा पनि सरकारसँग स्पष्टीकरण मागेका छन् ।
युक्रेनमा जारी युद्ध र पश्चिम एसियामा बढ्दो तनावका कारण विश्वभर प्याट्रियट क्षेप्यास्त्रको माग तीव्र रूपमा बढिरहेका बेला यो विवाद सार्वजनिक भएको हो। बढ्दो मागका कारण अमेरिकाले आफ्ना केही सहयोगी राष्ट्रलाई यस्ता क्षेप्यास्त्र उपलब्ध गराउन ढिलाइसमेत गर्नुपरेको बताइएको छ ।
पछिल्ला महिनाहरूमा युक्रेन र पोल्यान्डबीच केही विषयमा सम्बन्धमा पनि तनाव देखिएको छ। पोल्यान्डले यसअघि आफूसँग बाँकी रहेका मिग-२९ लडाकु विमान युक्रेनलाई उपलब्ध नगराउने स्पष्ट गरिसकेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया