अङ्कारा, २३ असार (रासस\एपी) : उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) ले सदस्य राष्ट्रहरूले रक्षा खर्चलाई व्यावहारिक सैन्य क्षमतामा रूपान्तरण गरिरहेको सन्देश दिन मङ्गलबार दशौँ अर्ब अमेरिकी डलर बराबरका नयाँ हतियार तथा रक्षा परियोजना सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहयोगी राष्ट्रहरूबाट बढी रक्षा प्रतिबद्धताको माग गरिरहनुभएका बेला हुने यो घोषणालाई नाटोका लागि महत्त्वपूर्ण मानिएको छ ।
टर्कीमा सुरु हुने दुईदिने नाटो शिखर सम्मेलनअघि पत्रकारहरूसँग कुरा गर्दै महासचिव मार्क रुटले सदस्य राष्ट्रहरूले रक्षा उद्योगसँग भएका नयाँ सम्झौतामार्फत प्रतिरक्षा क्षमता उल्लेखनीय रूपमा सुदृढ बनाउने बताउनुभयो । उहाँका अनुसार ती सम्झौताले प्रतिरोध क्षमता र सामूहिक सुरक्षाका लागि आवश्यक आधुनिक सैन्य सामग्री उपलब्ध गराउनेछ ।
नाटोले यसलाई ‘ठूलो खुलासा’ का रूपमा प्रस्तुत गर्दै धेरै सदस्य राष्ट्रले विशेषगरी अमेरिकी रक्षा कम्पनीहरूसँग भएका नयाँ खरिद सम्झौताको घोषणा गर्ने तयारी गरेका छन् । ट्रम्पले विगतदेखि नै नाटोलाई अमेरिकी नेतृत्व र हतियारबिना प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने सङ्गठनका रूपमा टिप्पणी गर्दै सहयोगी राष्ट्रहरूले पर्याप्त रक्षा खर्च नगरेको आलोचना गर्दै आउनुभएको छ ।
महासचिव रुटले सन् २०१७ यता युरोपेली सदस्य राष्ट्र र क्यानाडाले रक्षा क्षेत्रमा थप १२ खर्ब अमेरिकी डलर खर्च गरिसकेको तथ्य प्रस्तुत गर्दै अमेरिकाको चिन्ता कम गर्ने प्रयास गर्नुभएको छ । उहाँले आर्थिक क्षमता मात्र पर्याप्त नभई त्यसलाई आधुनिक हतियार, ड्रोन, क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तथा अन्य सैन्य क्षमतामा रूपान्तरण गर्नु आवश्यक रहेको बताउनुभयो ।
शिखर सम्मेलनका क्रममा नाटोको करिब पाँच दशक पुरानो ‘एडब्लुसिएस’ निगरानी विमानको बेडा प्रतिस्थापन गर्ने योजना पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ । नाटोसँग आफ्नै स्थायी हतियार प्रणाली सीमित भए पनि निगरानी विमान र केही आधुनिक ड्रोन सञ्चालनमा रहेका छन् । नयाँ परियोजनाका केही खर्च युरोपेली सङ्घ (इयु) ले स्थापना गरेको रक्षा कोष तथा सहुलियतपूर्ण ऋण व्यवस्थाबाट व्यहोर्ने तयारी गरिएको छ ।
यद्यपि ट्रम्पले सहयोगी राष्ट्रहरूको बढ्दो रक्षा खर्चप्रति पूर्ण सन्तुष्टि व्यक्त गर्नुभएको छैन । उहाँले केही नाटो सदस्य राष्ट्रले इरानसँगको युद्धमा अमेरिकालाई साथ नदिएको भन्दै असन्तुष्टि जनाउँदै आफूलाई आर्थिक योगदानभन्दा सहयोगीहरूको प्रतिबद्धता र विश्वास बढी आवश्यक रहेको बताउनुभएको थियो ।
शिखर सम्मेलन टर्कीका राष्ट्रपति रेसेप तय्यिप एर्दोगानको दरबार परिसरमा आयोजना हुँदैछ । यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकालाई टर्कीलाई एफ–३५ लडाकू विमान बिक्री नगर्न आग्रह गर्नुभएको छ । उहाँले त्यस्तो निर्णयले मध्यपूर्वको शक्ति सन्तुलनमा असर पर्ने तर्क गर्नुभएको छ ।
सन् २०१९ मा रुसबाट एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गरेपछि टर्की एफ–३५ कार्यक्रममा सहभागी हुनबाट रोकिएको थियो । तर ट्रम्प र एर्दोगानबीचको निकट सम्बन्धका कारण उक्त बिक्री प्रक्रिया पुनः सुरु हुन सक्ने अनुमान गरिएको छ ।
शिखर सम्मेलनको अर्को मुख्य एजेन्डा युरोपेली सदस्य राष्ट्रहरूले आफ्नै सुरक्षाको जिम्मेवारी अझ बढी वहन गर्ने विषय हो । अमेरिका चीन तथा हिन्द–प्रशान्त क्षेत्रमा आफ्नो रणनीतिक ध्यान केन्द्रित गर्न चाहेकाले युरोपले सामूहिक सुरक्षामा थप भूमिका निर्वाह गर्नुपर्ने धारणा वासिङ्टनले दोहो¥याउँदै आएको छ ।
यसै सन्दर्भमा अमेरिकी रक्षा मन्त्रालयले ‘नाटो ३.०’ अवधारणा अघि सारेको छ । यसअन्तर्गत युरोपेली राष्ट्रहरूले आफ्नो सुरक्षा व्यवस्थामा बढी लगानी गर्ने र अमेरिकाले अन्य रणनीतिक प्राथमिकतामा ध्यान केन्द्रित गर्ने लक्ष्य राखिएको छ ।
धेरै युरोपेली मुलुकका लागि रक्षा खर्च बढाउनु राजनीतिक र आर्थिक रूपमा चुनौतीपूर्ण देखिएको छ । बेलायतले सन् २०३५ सम्म कुल गार्हस्थ उत्पादन (जिडिपी) को ३.५ प्रतिशत रक्षा क्षेत्रमा खर्च गर्ने नाटोको लक्ष्य पूरा गर्ने प्रतिबद्धता जनाएको भए पनि त्यसका लागि स्पष्ट कार्ययोजना अझै सार्वजनिक भएको छैन । हालको योजनाअनुसार सन् २०२९ सम्म बेलायतको रक्षा खर्च जिडिपीको २.७ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया