कार्तिक ८, २०८३ आइतबार October 25, 2026

सामाजिक विषयलाई उजागर गरेको चलचित्र ‘गौँथली’

बालविवाह, शिक्षा र त्यागको कथा बोकेको ‘गौँथली’ दर्शकमाझ आउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २७ असारः डा भोला रिजालले झन्डै २५ वर्ष अगाडि गीतिकथानक चलचित्र‘गौँथली’  निर्माण गरेर प्रदर्शन गर्नुभएको थियो । चिकित्सकसँगै साहित्यकार समेत रहनुभएका उहाँले उक्त चलचित्रको कथा श्रीमती सरला रिजालको जीवनीसँग प्रभावित भएर तयार गर्नुभएको थियो ।

सानै उमेरमा विवाह बन्धनामा बाँधिनुभएकी सरलाको पढ्ने चाहना रोकियो । श्रीमानको हेरचाह गर्दै, श्रीमती र बुहारीको दायित्व निर्वाह गर्दा उहाँले अध्यनलाई निरन्तरता दिन पाउनुभएन् । यही कथालाई डा रिजालले गीति कथानक चलचित्रका रुपमा तयार गर्नुभयो । जहाँ संवाद थिएन, तर भावना व्यक्त गरिएका थिए । सोही कथालाई संवादको स्वरूप दिएर डा रिजालका छोरा डा कपिलले सोही शीर्षक र कथामा चलचित्र ‘गौँथली’ तयार गर्नुभएको हो ।

आगामी साउन १ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘गौँथली’ मा एसइईसम्म पढ्ने इच्छा बोकेकी बालिकाको सानै उमेरमा विवाह भएपछिको कथालाई देखाइएको छ । सानो उमेर, नयाँ परिवार र ठाउँ तथा पढ्ने चाहनालाई गौँथली नामक पात्रले कसरी पुरा गर्छिन् वा उनको सपना पुरा हुँदैन् ? यही जिज्ञाशा चलचित्र ‘गौँथली’ मा छ ।

चलचित्रका निर्देशक डा कपिलले शुक्रबार आयोजित अन्तरक्रियात्मक कार्यक्रममा चलचित्रको कथाले मनोरञ्जनसँगै सामाजिक विषयलाई उजागर गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि गौँथली छन्, केवल भन्न सकेका छैनन् वा बाहिर आएका छैनन् । मैले यो कथालाई नजिकबाट महसुस गरेको छु, बुवा (डा भोला रिजाल) आज जुन स्थानमा हुनुहुन्छ, त्यहाँ पुग्न मेरी आमा (सरला रिजाल)ले धेरै त्याग गर्नुभएको छ । बाल्यकालमा विवाह भएर आएपछि बुवा आफ्नो अध्यनको शिलशिलामा बाहिर बस्नुहुन्थ्यो, त्यो समयमा घरसँगै हाम्रो दायित्व पनि आमाले निर्वाह गर्नुभएको हो । त्यहि भावनालाई चलचित्रको स्वरूप दिएर तयार गरेका छौँ ।”

बेलायतमा दन्त चिकित्सक रहनुभएका डा रिजाल पछिल्लो समय चलचित्रको काममा व्यस्त हुनुहुन्छ । “मैले पहिलादेखि नै साङ्गीतिक श्रव्यदृश्य, छोटा चलचित्र बनाउँथे, रहर थियो । अहिले सही समयमा चलचित्र निर्देशन गरिरहेको छु, मेरा चलचित्रले मनोरन्जनसँगै सामाजिक सन्देश पनि दिएका छन्”, निर्देशक डा रिजालले भन्नुभयो ।

उहाँले निर्देशन गर्नुभएका चलचित्र ‘ह्यारीकी प्यारी’ र ‘गौँथली’ मा स्वास्थ्यसँग सम्बन्धित विषय जोडिएको छ । ‘ह्यारीकी प्यारी’ मा वीर्य दानको विषयवस्तु तथा ‘गौँथली’ मा ‘अटिजम’ भएका व्यक्तिको जीवनशैलीलाई प्रस्तुत गरिएको छ । ग्रामीण परिवेशमा तयार गरिएको चलचित्रमा ‘अटिजम’ भएका युवकको रुपमा अभिनेता अरुण क्षेत्री र एसइई उत्तिर्ण गर्ने सपना बोकेकी बालिकाको रुपमा अभिनेत्री सिम्रन खड्का देखिनुभएको छ ।

अभिनेता क्षेत्रीसामु चलचित्रमा ‘अटिजम’ भएको युवाको भूमिका कसरी निर्वाह गर्ने भन्ने चुनौती थियो । “अटिजमबारे मेरो बुझाइ फरक रहेछ, मैले विस्तारै बुझ्न थाले । ती फरक क्षमता भएकासँग समय बिताए, उहाँहरूको मानसिकता र फरक क्षमतालाई बुझ्ने कोसिस गरे”, उहाँले भन्नुभयो ।

उक्त चलचित्रकी अभिनेत्री सिम्रन खड्काले आफूले निर्वाह गरेको पात्रका बारेमा सोच्दा पनि असहज हुने गरेको बताउनुभयो । “म वा मेरो पुस्ताले गौँथलीले भोग्नु परेको कठिनाई र गर्नु परेको सङघर्ष सुन्दा पनि असहज हुन्छ, चलचित्रको माध्यम अन्यभन्दा सशक्त छ, त्यसैले यसले मनोरञ्जनसँगै सामाजिक संदेश दिन्छ”, उहाँले भन्नुभयो ।

निर्माता सुमन गिरीले यसअघि ‘६ एकान ६’, ‘वडा नम्बर ६’, ‘छक्का पञ्जा’ जस्ता चलचित्रमा काम गर्नुभयो । निर्माण र चलचित्र ‘प्रोडक्सन’ मा जोडिनुभएका उहाँले सामजिक दायित्व बुझेर चलचित्र ‘गौँथली’ निर्माण गरेको बताउनुभयो ।

“हामीले हाँस्यप्रधान वा अन्य मनोरञ्जनात्मक चलचित्र निर्माण गर्न सक्थ्यौं, तर सामाजिक विषयलाई दर्शकसामु ल्याएका छौँ । यसले मनोरञ्जनसँगै केही सिकाउँछ, हामीले गौँथलीलाई पुनः दर्शकमाझ संवाद राखेर ल्याएका छौँ”, निर्माता गिरीले भन्नुभयो ।

उक्त चलचित्रमा अभिनेता क्षेत्री र अभिनेत्री खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारले अभिनय गर्नुभएको छ । डा भोला रिजालको कथामा आधारित उक्त चलचित्रको संवाद निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गर्नुभएको हो । निर्देशक रिजालले ‘गौँथली’ले घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार
तान्जानिया सरकारका आलोचक केन्यामा अपहरित
२०८३ कार्तिक ८, आइतबार
Dashain gala at Fewa lake, foreign tourists receive tika, jamara
२०८३ कार्तिक ८, आइतबार
राजनीतिकर्मीले राजनीति मात्रै होइन, अनुसन्धान पनि गर्नुपर्छ : बिजुक्छे
२०८३ कार्तिक ८, आइतबार
प्रदेशसभा र प्रदेश परिषद्को अवधारणाबाट संघीयता मजबुत बनाउँछौँ : मनिष झा
२०८३ कार्तिक ८, आइतबार
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी
२०८३ कार्तिक ८, आइतबार