काठमाडौंः डा. गोविन्द केसी र सरकारपक्षबीच सहमति भएपछि नेपाल चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रमहरू फिर्ता लिएको छ । गए राति भएको दुवै पक्षबीचको वार्तामा ८ बुँदे सहमति भएपछि चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रमहरू फिर्ता लिएको हो ।
संघले आज एक विज्ञप्ति जारी जारी गर्दै आन्दोलन फिर्ता लिएको जानकारी दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस संघका आजीवन सदस्य प्राध्यापक डा. गोविन्द केसीको १९ औँ आमरण अनशनका सम्बन्धमा मिति २०७७ आश्विन २४ गते राति नेपाल सरकार र डा. केसीबीच सम्झौता भएकाले संघद्वारा घोषणा गरिएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएको व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’
डा. केसीको जीवन रक्षाका निम्ति सरकार गम्भीर नभएको भन्दै संघले आइतबार आकस्मिक र कोभिड–१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने निर्णय गरेको थियो । शनिवार मध्यराति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले आज आईतबार बिहान अनशन तोडेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया