काठमाडौं, साउन २ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के (नेपाल) अन्तर्गत बागमती एरियाको आयोजनामा शनिबार काठमाडौंको तारकेश्वरस्थित लायन्स पार्क, भ्यू टावर परिसरमा वृहत् वृक्षरोपण तथा गोडमेल कार्यक्रम सम्पन्न भएको छ।
वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा भावी पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्ने उद्देश्यसहित “Leading with Purpose” भन्ने मूल नारालाई आत्मसात् गर्दै आयोजित कार्यक्रममा काठमाडौं उपत्यकाभित्रका १०० भन्दा बढी लायन्स क्लबका पदाधिकारी, सदस्य, समाजसेवी तथा वातावरणप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमअन्तर्गत विभिन्न प्रजातिका बिरुवा रोप्नुका साथै यसअघि रोपिएका बिरुवाको गोडमेल, संरक्षण तथा सरसफाइसमेत गरिएको थियो।
कार्यक्रममा पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी, डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारी, प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर विष्णुहरि फुँयाल, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर हसन कुमार गोपाली, क्याबिनेट सेक्रेटरी गणेश जिसी, डिस्ट्रिक्ट पीआरओ इन चिफ सुरेन्द्र बाबु श्रेष्ठ, डीजी थिम चिफ श्रीकृष्ण मानन्धर, मिसन १.५ चिफ महाप्रसाद पाण्डे लगायतका लायन्स लिडरहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले वातावरण संरक्षणलाई लायन्सको प्रमुख सेवा अभियानमध्ये एकका रूपमा निरन्तर अघि बढाउँदै समुदायमा हरित चेतना फैलाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका थिए।
वक्ताहरूले वृक्षरोपण मात्र गरेर दायित्व पूरा नहुने उल्लेख गर्दै रोपिएका बिरुवाको नियमित संरक्षण, गोडमेल र हेरचाहमा सबैको समान जिम्मेवारी रहने धारणा व्यक्त गरे। उनीहरूले जलवायु परिवर्तनका चुनौती न्यूनीकरण, जैविक विविधताको संरक्षण, प्राकृतिक विपद्को जोखिम कम गर्न तथा स्वच्छ हावा र स्वस्थ जीवनशैलीका लागि वृक्षरोपण अपरिहार्य रहेको बताए। पछिल्ला वर्षहरूमा बढ्दो वन विनाश, प्रदूषण र जलवायु परिवर्तनका असरलाई दृष्टिगत गर्दै समुदायस्तरमा यस्ता अभियानलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिइयो।
आयोजकका अनुसार यो कार्यक्रम एकदिने वृक्षरोपणमा मात्र सीमित नभई दीर्घकालीन हरियाली संरक्षण अभियानको हिस्सा हो। रोपिएका बिरुवाको नियमित अनुगमन, संरक्षण, गोडमेल तथा हरित क्षेत्र विस्तारलाई निरन्तरता दिइने जनाइएको छ। साथै, वातावरणप्रतिको जनचेतना अभिवृद्धि, सामाजिक उत्तरदायित्वप्रति नागरिकको सहभागिता वृद्धि तथा दिगो विकासका लक्ष्य हासिल गर्न सामूहिक प्रयास अपरिहार्य रहेको सन्देशका साथ कार्यक्रम सम्पन्न भएको क्याबिनेट सेक्रेटरी गणेश जिसीले बताए ।




युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया