नयाँ दिल्ली, २ असार । नयाँदिल्लीको जन्तर मन्तरमा २१ दिनदेखि अनशनरत सोनम वाङचुकलाई प्रहरीले शनिबार बिहान अचानक अस्पताल लगेको छ ।
प्रदर्शनकारीहरूले प्रहरीको कदमको प्रतिवाद गरेपछि त्यहाँ होहल्ला मच्चिएको थियो। वाङचुकलाई अहिले सफदरजंग अस्पतालमा भर्ना गरिएको छ।
वाङचुक प्रश्नपत्र चुहावट प्रकरणको छानबिन र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उनी आमरण अनशनमा छन्। अनसनका कारण उनको तौल ९.५ किलोग्रामभन्दा बढी घटिसकेको छ।
बिहीबार दिल्ली उच्च अदालतले केन्द्र र दिल्ली सरकारलाई वाङचुकको दैनिक स्वास्थ्य जाँच सुनिश्चित गर्न तथा आवश्यक परेमा उपचारको व्यवस्था गर्न आदेश दिएको छ। चिकित्सकहरूका अनुसार वाङचुकको तौल अहिलेसम्म करिब ९.५ किलोग्राम घटिसकेको छ। शुक्रबार २४ घण्टाको अवधिमा उनको तौल थप ३५० ग्रामले घटेर ५६.५५ किलोग्राममा झरेको छ।
वाङचुकसँगै रहेका नेहा, आमीन र मनिष पनि विगत २१ दिनदेखि अनशनमा छन्। रगतमा चिनीको मात्रा अत्यधिक कम हुने समस्या अर्थात हाइपोग्लाइसेमिया का कारण नेहालाई अस्पताल भर्ना हुन सुझाव दिइएको छ भने आमीन र मनिषको स्वास्थ्य अवस्था पनि निरन्तर बिग्रँदै गइरहेको छ।
विरोध प्रदर्शनमा सहभागी एक व्यक्तिले बताए अनुसारआज बिहान चिकित्सा टोली भएको दाबी गर्दै १० जनाजति प्रहरी त्यहाँ प्रवेश गरेका थिए। उनीहरूको व्यवहारबाट हामीले थाहा पायौं कि उनीहरू डाक्टर नभई प्रहरी अधिकारीहरू थिए। उनीहरूले सबै स्वयंसेवकहरूलाई एक छेउमा हट्न भनेका थिए ।
‘हामीले उनीहरूलाई पर्खनका लागि आग्रह गरिरह्यौं तर अचानक उनीहरूले उच्च अदालतको आदेशबमोजिम सोनम सरलाई आफूसँगै लैजानुपर्ने कुरा बताए,’ एक प्रत्यक्षदर्शीले भने ।
नयाँ दिल्लीका डीसीपी सचिन शर्मा भन्छन्, ‘सम्मानित उच्च अदालतको आदेशको पालना गर्दै तथा स्वास्थ्य अवस्था र चिकित्सकीय सुझावका आधारमा, अति आवश्यक उपचारका लागि सोनम वाङचुकलाई यहाँबाट उपयुक्त सरकारी अस्पतालमा सारिएको छ र उहाँ हाल चिकित्सकको निगरानीमा हुनुहुन्छ, हामी जन्तर मन्तरमा रहेका प्रदर्शनकारीहरूलाई उक्त स्थान शान्तिपूर्ण रूपमा र यथाशीघ्र खाली गर्न आग्रह गर्दछौं ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया