काठमाडौँ । सरकारले नेपाली चलचित्र क्षेत्रको विकास, अन्तर्राष्ट्रिय पहुँच विस्तार तथा सांस्कृतिक कूटनीतिलाई प्रवर्द्धन गर्न आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमार्फत नेपाल-चीनबीचको सम्बन्ध थप विस्तार गर्न सकिने उल्लेख गर्दै सरकार सहकार्यका लागि सकारात्मक रहेको बताएका हुन्।
सञ्चार मन्त्री तिमिल्सिनासँग ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले गरेको भेटवार्ताका क्रममा चलचित्र, संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको हो।
भेटमा मन्त्री तिमिल्सिनाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने माध्यमका रूपमा काम गर्ने बताए। यस्ता कार्यक्रमले जनस्तरको सम्बन्ध विस्तारसँगै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने भन्दै उनले साझा हितका आधारमा सहकार्यलाई निरन्तरता दिनुपर्ने धारणा राखे।
उनले चीन नेपालका लागि महत्वपूर्ण पर्यटकीय स्रोत बजारमध्ये एक रहेको उल्लेख गर्दै नेपालको प्राकृतिक सम्पदा, सांस्कृतिक पहिचान र पर्यटकीय सम्भावनालाई विश्वसामु चिनाउन चलचित्र प्रभावकारी माध्यम बन्न सक्ने बताए। नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन र यसको पहुँच विस्तार गर्न सरकार आवश्यक सहयोग गर्न तयार रहेको उनको भनाइ थियो।
चिनियाँ प्रतिनिधिमण्डलका संयोजक तथा एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभलका संस्थापक अध्यक्ष ली होङ्शुले नेपाल र चीनबीचको सम्बन्ध मैत्रीपूर्ण र घनिष्ठ रहेको उल्लेख गर्दै नेपाल चलचित्र छायांकन, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यका दृष्टिले आकर्षक गन्तव्य भएको बताए।
उनले नेपालमा अन्तर्राष्ट्रियस्तरका चलचित्र तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न अनुकूल वातावरण रहेको भन्दै यस्ता गतिविधिले पर्यटन प्रवर्द्धन र दुई देशका नागरिकबीचको सम्बन्ध सुदृढ गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालका अनुसार ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’ नेपाल र चीनबीच चलचित्र तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको द्विपक्षीय पहल हो। महोत्सवले नेपाली चलचित्रलाई चिनियाँ बजारसँग जोड्ने अवसर सिर्जना गरिरहेको उनले बताए।
उनका अनुसार सन् २०२६ अप्रिल १४ देखि १९ सम्म चीनको हुनान प्रान्तअन्तर्गत चाङ्सा र हेङयाङ सहरमा आयोजना भएको महोत्सव नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वर्षको अवसरसँग जोडिएको थियो। महोत्सवका लागि नेपालबाट २३ वटा चलचित्रले आवेदन दिएका थिए, जसमध्ये ११ वटा प्रारम्भिक चरणका लागि छनोट भएका थिए।
चिनियाँ पक्षको सेन्सर प्रक्रिया पूरा भएपछि ‘अञ्जिला’, ‘छक्का पञ्जा ५’, ‘तेल भिसा’, ‘महाजात्रा’, ‘कबड्डी ४’ र ‘होस्टेल ३’ गरी छ वटा नेपाली चलचित्र प्रदर्शनका लागि स्वीकृत भएका थिए। ती चलचित्र चिनियाँ सबटाइटलसहित चाङ्सा र हेङयाङका चलचित्र हलहरूमा प्रदर्शन गरिएको जनाइएको छ।
महोत्सवमा उत्कृष्ट घोषित चलचित्रहरूलाई प्रदान गरिने पुरस्कार वितरण कार्यक्रम चलचित्र विकास बोर्ड, काठमाडौंमा आयोजना गरिने अध्यक्ष दाहालले जानकारी दिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया