काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा दुःख व्यक्त गर्दै समवेदना सन्देश पठाएका छन्। समवेदना सन्देशमा राष्ट्रपति पौडेलले पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा रहेको बताएका छन्।
उनले नेपालमा लोकतन्त्र स्थापना र पुनर्स्थापना तथा विभिन्न सङ्घर्ष र आन्दोलनहरूमा नागरिक अगुवाका रूपमा निर्वाह गरेको नेतृत्वदायी भूमिका सदा स्मरणीय रहिरहने बताए।
राष्ट्रपति पौडेलले २०३६ सालको जनमत संग्रहभन्दा केही महिनाअघि सरकारको सचिव पदबाट राजीनामा दिएर पाण्डेले नेपालको लोकतान्त्रिक आन्दोलनका नागरिक अगुवाका रूपमा २०४६ सालदेखि २०६२/६३ सालको आन्दोलनमा दिएको नेतृत्वदायि भूमिका आफ्नो मानसपटलमा अझै ताजा रहिरहेको बताएका छन्।
समवेदना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन्, ‘२०३६ साल यताको करिब साँढे ४ दशक अवधिमा उनको जुन भूमिका र योगदान रह्यो, त्यसले आफ्नो क्षेत्र र धारबाट राष्ट्र निर्माणमा योगदानकर्ता मानक व्यक्तित्वका रूपमा भावी पुस्ताले स्मरण गरिरहनेछन् भन्ने मलाई लागेको छ। उनको निष्ठा, आचरण र नैतिक जीवनले नेपाली समाजलाई सबै आलोकित गरिरहने मैले विश्वास लिएको छु।’
राष्ट्रपति पौडेलले पाण्डेको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुग्नुका साथ, मुलुकले निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी नागरिक अगुवा गुमाएको बताए।
राष्ट्रपति पौडेलको समवेदना सन्देश उनका प्रेस सल्लाहकार किरण पोखरेल तथा प्रमुख स्वकीय सचिव अवज्ञा पौडेलले पाण्डेको निवास विशालनगर पुगेर हस्तान्तरण गरेका थिए।
क्यान्सरबाट पीडित पाण्डेको साउन १ गते शुक्रबार आफ्नै निवास विशालनगरमा निधन भएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया