काठमाडौँ, साउन ७ गते । देशभरका जुनसुकै तहका अदालतमा भइरहेका न्यायिक कामकारबाहीमा सेवाग्राहीका गुनासा अब सिधै सर्वोच्च अदालतमा गर्न पाइने भएको छ । प्रधान न्यायाधीशको सचिवालय अन्तर्गत न्यायिक सुशासन केन्द्रमा त्यस्ता गुनासा दर्ता गर्न पाइने छ । प्रधान न्यायाधीश मनोजकुमार शर्माले संसदीय सुनुवाइमा गर्नुभएको प्रतिबद्धता तथा न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाको लक्ष्य अनुसार गुनासो सुनुवाइको संयन्त्र क्रियाशील गरिएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार असार ३२ गतेको निर्णय अनुसार सुशासन केन्द्र सञ्चालनमा आएको हो । न्यायपालिकाप्रति सेवाग्राहीको पहुँच अभिवृद्धि गर्ने, न्यायिक सेवासम्बन्धी गुनासो सुनुवाइ गर्ने तथा सम्बन्धित निकायसँग समन्वय गरी गुनासो व्यवस्थापन गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको सर्वोच्चले जनाएको छ । न्यायिक सुशासनको प्रवर्धन र सुशासनविपरीतका गतिविधि नियन्त्रणको लक्ष्य अदालतले राखेको छ ।
गुनासाहरू एकद्वार प्रणालीमार्फत दर्ता, कारबाही तथा अभिलेखसहित प्रभावकारी रूपमा व्यवस्थापन गरी दोहोरोपन अन्त्यको लक्ष्य केन्द्र स्थापनाका क्रममा राखिएको छ । यस्तै न्यायपालिकामा सुशासन, पारदर्शिता, जवाफदेहिता तथा जनविश्वास अभिवृद्धि गर्ने लक्ष्य पनि केन्द्रको राखिएको छ । गुनासोसम्बन्धी तथ्याङ्कको विश्लेषण तथा प्रतिवेदनमार्फत व्यवस्थापकीय सुधारका लागि आवश्यक सूचना उपलब्ध गराउने काम पनि केन्द्रले गर्ने छ । न्यायिक कामकारबाहीमा देखा परेका ढिलासुस्ती, भ्रष्टाचार वा अनियमितताका क्षेत्रहरू पहिचान गरी सुधारका लागि प्रतिवेदन तयारीको काम पनि केन्द्रले गर्ने छ ।
औपचारिक रूपमा असार ३२ गतेको निर्णयबाट केन्द्र स्थापना गरिए पनि परीक्षणका रूपमा यसअघि नै क्रियाशील गराइएको थियो । जस अनुसार असार १ देखि ३२ गतेसम्म केन्द्रमा १८६ वटा गुनासा प्राप्त भएका छन् । जसमध्ये इमेलबाट ५२ वटा, सेवाग्राही उपस्थित नै भएर ३६ वटा, टोलफ्री नम्बरबाट ३३ वटा, ह्वाट्सएपबाट २३ वटा र हुलाकबाट १९ वटा गुनासा प्राप्त भएका छन् । एक महिनाको अवधिमा हेलो सरकारमार्फत २३ वटा गुनासा सिफारिस भई आएका पनि सर्वोच्च प्रशासनले जनाएको छ । केन्द्रले सहजता अनुसार उजुरी गर्न पनि आग्रह गरेको छ । तर गुनासा दर्तामा विद्युतीय माध्यमको प्रयोग बढ्दो देखिएको छ । प्राप्त गुनासामा इमेल र अन्य विद्युतीय माध्यमको प्रयोग बढी छ । गोरखापत्र
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया