काठमाडौँ, ८ साउनः नेपालको ऊर्जा क्षेत्रको नियामक निकायका रूपमा स्थापित विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मन्त्रालयमा आयोगका अध्यक्ष डा रामप्रसाद धिताल र सदस्यहरू बलराम सिलवाल, लोकराज पाठक, जयराज भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
ऊर्जामन्त्री श्रेष्ठले आयोगमा अनुभवी पदाधिकारी आएको भन्दै नीतिगत र संरचना सुधारका लागि काम गर्न निर्देशन दिनुभयो । उहाँले मन्त्रालयबाट आयोगको कामलाई पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । आयोगका पदाधिकारीले सरकारको स्पिरिटअनुसार सुशासनलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
आयोगका अध्यक्ष धितालले सरकारको सुशासनको मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्ने बताउनुभयो । मन्त्रालयको मार्गनिर्देशनमा नियामकीय भूमिका निर्वाह गर्ने, विद्युत्को राष्ट्रिय खपत बढाउन सहजीकरण गर्नेलगायत काम गर्ने उहाँको कथन थियो ।
“आयोगलाई मन्त्रालयको नीतिगत मार्गदर्शन, अभिभावकत्व हुनुपर्छ । मन्त्रालयसँग समन्वयमा रहेर काम गर्छौँ । यो टिमले निराश पार्दैन”, उहाँले भन्नुभयो । आयोगका सदस्यहरूले पनि आफूहरू २०औँ वर्ष यही क्षेत्रमा काम गरेको भन्दै आफ्नो सिकाइ र अनुभवलाई प्रयोग गरेर नतिजामुखी परिणाम निकाल्न लाग्ने प्रतिबद्धता जनाएका थिए । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया