श्रावण ८, २०८३ शुक्रबार July 24, 2026

रणवीर सिंहको ‘प्रलय’ को हिरोइनमा प्रिया दर्शनकी छोरी कल्याणीको इन्ट्री

अभिनेत्री कल्याणी प्रियदर्शन ‘प्रलय’ मा रणवीर सिंहको जोडीको भूमिकामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुम्बई, ८ साउन । सन् २०२५ को उत्तरार्धमा ‘धुरन्धर’ चलचित्रमार्फत तहल्का मच्चाए पछि रणवीर सिंह सन् २०२६ मा यसको सिक्वेल लिएर फर्किए । उक्त सिक्वेलले पहिलो भागभन्दा पनि बढी कमाइ गर्‍यो।

यसको सफलतापछि रणवीर अब ‘प्रलय’ नामक चलचित्रमा देखिने खबर बाहिर आएको थियो। हाल प्राप्त जानकारी अनुसार यस चलचित्रका लागि मुख्य अभिनेत्रीको टुंगो लागेको छ, ‘लोकाः च्याप्टर १’  चलचित्रबाट चर्चामा आएकी अभिनेत्री कल्याणी प्रियदर्शन ‘प्रलय’ मा रणवीर सिंहको जोडीका रूपमा देखिने भएकी छिन्।

भारतीय सञ्चारमाध्यमका अनुसार ‘प्रलय’ चलचित्रका लागि कल्याणीलाई छनोट गरिएको छ। ठूलो बजेटको यो ‘जोम्बी थ्रिलर’ चलचित्रमा उनले खतरनाक स्टन्टहरू गरेको देख्न पाइने छ। प्राप्त जानकारीअनुसार, रणवीरको यस ठूलो बजेटको चलचित्रका लागि अन्तर्राष्ट्रिय स्तरका स्टन्ट मास्टर र एक्सन संयोजकहरूलाई समावेश गरिनेछ, उनीहरूले कल्याणी र रणवीर सिंह दुवैलाई प्रशिक्षण दिनेछन्।

यहाँ उल्लेख गर्नुपर्ने कुरा के छ भने कल्याणी प्रियदर्शन वरिष्ठ चलचित्र निर्देशक प्रियदर्शनकी छोरी हुन्। ३३ वर्षीया कल्याणीले सन् २०२५ को चलचित्र ‘लोकाः च्याप्टर १’ मार्फत निकै चर्चा बटुलिन् । यो चलचित्र अत्यधिक सफल साबित भयो र उनलाई अपार ख्याति दिलायो। दक्षिण भारतीय चलचित्र उद्योगमा आफूलाई स्थापित गरि सके पछि कल्याणी अब हिन्दी सिनेमामा पाइला टेक्दै छिन् र ‘प्रलय’ चलचित्रमा रणवीर सिंहको जोडीका रूपमा बलिउडमा डेब्यु गर्न लागेकी छिन्।

कल्याणी प्रियदर्शनले ‘हृदयम’ , ‘हेलो’  ‘ओडुम कुथिरा चाडुम कुथिरा’  र ‘वरने आवश्यमुन्ड’ लगायतका विभिन्न चलचित्रहरूमा काम गरेकी छिन्। यद्यपि, यी मलायालम अभिनेत्रीले ‘लुसिफर’ चलचित्रमार्फत विशेष पहिचान बनाइन्। सन् २०१९ को अगस्टमा रिलिज भएको यस चलचित्रको बजेट मात्र ३० करोड रुपैयाँ भए तापनि यसले विश्वभर ३०० करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो। ‘लुसिफर’ बाहेक उनका आगामी चलचित्रहरूमा ‘लुसिफरः च्याप्टर २’ र ‘जेनी’ समावेश छन्।

रणवीर सिंहको चलचित्र ‘प्रलय’ को बजेट करिब ३०० करोड रुपैयाँ छ। ठूलो बजेटको यो चलचित्रको छायाङ्कन अझै सुरु भएको छैन । प्राप्त जानकारी अनुसार, यसको छायाङ्कन अगस्ट महिनामा सुरु हुन सक्छ। यस चलचित्रको निर्देशन जय मेहताले गर्दैछन्। यद्यपि यसको प्रदर्शन मिति अझै तय भइसकेको छैन तर यो चलचित्र अर्को वर्ष प्रदर्शनमा आउने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया