मुम्बई, ३ भदौं । कार्तिक आर्यनले आफ्नो प्रोडक्सन ब्यानर ‘डोपामाइन स्टुडियोज’ सुरु गरेका छन् ।
अभिनयभन्दा पर आफ्नो सिर्जनात्मक दायरा विस्तार गर्दै उनले नयाँ होम प्रोडक्सन खोलेका हुन् । लगत्तै यो ब्यानर चलचित्र निर्माता कबीर खानसँगको उनको आगामी सहकार्यमा जोडिएको छ।
शीर्षक तय नभएको यो चलचित्रको परियोजना कार्तिक र कबीरको दोस्रो सहकार्य हो । यसअघि उनीहरूले सन् २०२४ मा भारतका पहिलो प्याराओलम्पिक स्वर्ण पदक विजेता मुरलीकान्त पेटकरको जीवनमा आधारित खेलकुदमा आधारित चलचित्र ‘चन्दु च्याम्पियन’ मा सँगै काम गरेका थिए।
कार्तिकले हालै भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कारमा सोही चलचित्रका लागि ‘सर्वश्रेष्ठ अभिनेता’ को सम्मान प्राप्त गरेर नयाँ उचाइ छोएका पनि छका छन् ।
समाचार अनुसार आगामी चलचित्रमा कार्तिकले किक बक्सिङ प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन्, जसले कश्मीरकी एक युवतीको यात्रालाई आकार दिन मद्दत गर्नेछ । यो कथा किकबक्सिङ च्याम्पियनका रूपमा अन्तर्राष्ट्रिय ख्याति कमाएकी युवा कश्मीरी खेलाडी ताजमुल इस्लामको जीवनबाट प्रेरित रहेको बुझिएको छ।
यस परियोजनासँग निकट एक स्रोतले भन्यो, ‘कार्तिकले कथा सुन्ने बित्तिकै यससँग गहिरो भावनात्मक सम्बन्ध महसुस गरे। वास्तविक जीवनको त्यो यात्रामा निहित साहस, जोश र दृढताले उनलाई निकै प्रभावित बनायो र उनलाई लाग्यो कि यो कथा अझ फराकिलो दर्शक माझ पुग्नुपर्छ। निर्माण कार्यमा संलग्न हुने उनको निर्णय यही विश्वास र चलचित्रलाई अझ गहिरो रचनात्मक स्तरबाट सहयोग गर्ने चाहनाबाट प्रेरित थियो।’
यस भूमिकाका लागि कार्तिकले किक बक्सिङको प्रशिक्षण पनि सँगसँगै लिइरहेका छन्। हाल चलचित्रको निर्माण कार्य चलिरहेको छ र यसका केही दृश्यहरूको छायाङ्कन मुम्बई तथा कश्मीरमा गरिँदैछ।
‘डोपामाइन स्टुडियोज’को सुरुवात कार्तिकको करियरमा एउटा नयाँ अध्याय हो, जसले अभिनयभन्दा पर गएर उनको रचनात्मक संलग्नतालाई विस्तार गरेको छ।
कबीर खानसँगको यो दोस्रो सहकार्यले दृढता र महत्वाकांक्षामा आधारित कथाहरूमा उनीहरूको साझा रुचिलाई निरन्तरता दिन्छ । साथै, यसले उनलाई आफूले निकै मन पराएको कथालाई ‘पर्दा पछाडी’ रहेर पनि सहयोग गर्ने अवसर प्रदान गर्छ। उनको आगामी चलचित्रको शीर्षक, अन्य कलाकार र प्रदर्शनको योजनालगायतका थप विवरणहरू उपयुक्त समयमा सार्वजनिक गरिने अपेक्षा गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया