काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी साउन २९ गते आयोजना हुने राष्ट्रिय भेलालाई प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको छ। भेलाको तयारीलाई तीव्र बनाउने उद्देश्यले बसेको समूहको बैठकले संगठनात्मक तयारीका लागि आवश्यक संरचना निर्माण गर्ने निष्कर्ष निकालेको हो।
शुक्रबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालय मा बसेको बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति वा कार्यसम्पादन समितिको बैठक बोलाई केन्द्रीय मूल आयोजक समिति गठन गर्ने तथा भेलासम्बन्धी अन्य आवश्यक निर्णय लिने सहमति गरेको नेता मीन विश्वकर्मा ले जानकारी दिए।
बैठकले राष्ट्रिय भेलालाई सफल बनाउन देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय पनि गरेको छ। ती प्रतिनिधिहरूले सम्बन्धित क्षेत्रमा कार्यकर्ता परिचालन, समन्वय र भेलाको तयारीलाई प्रभावकारी बनाउने जिम्मेवारी पाउने जनाइएको छ।
बैठकमा संस्थापनइतर समूहका प्रमुख नेता डा. शेखर कोइराला समेत सहभागी भएका थिए। भेलामार्फत समूहले पार्टीभित्र संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति तथा आन्तरिक एकताका विषयमा साझा धारणा तय गर्ने तयारी गरेको नेताहरूले बताएका छन्।
साउन २९ गतेको राष्ट्रिय भेला नेपाली कांग्रेसभित्र संस्थापनइतर समूहको शक्ति प्रदर्शन र आगामी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया