श्रावण १६, २०८३ शनिबार August 1, 2026

धार्मिक सद्भाव कायम राख्न प्रहरी आईजीपी दानबहादुर कार्कीको अपिल

संवेदनशील अवस्थामा अफवाह, उत्तेजना र घृणाभन्दा विवेक, संयम र सद्भावको बाटो अवलम्बन गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पूर्वी तराईका केही स्थानमा धार्मिक सद्भावमा खलल पुग्ने तथा डर र त्रासको वातावरण सिर्जना गर्ने गतिविधि देखिनु दुःखद भएको बताएका छन्।

आईजीपी कार्कीले सामाजिक एकतामा असर पुग्ने गरी सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने वा कानुन उल्लंघन गर्ने कार्य कसैको पनि हितमा नहुने बताएका छन्।

यस्ता गतिविधिले समाजमा तनाव, अविश्वास र विभाजन मात्रै बढाउने उनको भनाइ छ।

संवेदनशील अवस्थामा अफवाह, उत्तेजना र घृणाभन्दा विवेक, संयम र सद्भावको बाटो अवलम्बन गर्नुपर्नेमा उनले जोड दिएका छन्।

साथै, एकअर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु सबैको साझा दायित्व भएको उनले उल्लेख गरेका छन्।

‘हाम्रो धर्म, संस्कार र संस्कृति फरक हुन सक्छन्। मुलुक एउटै हो र हाम्रो भावना पनि एउटै छ,’ आईजीपी कार्कीले भनेका छन्।

उनले यस संवेदनशील घडीमा संयमता, सहिष्णुता र आपसी सम्मानका साथ एकअर्काको संस्कृति, संस्कार तथा आस्थाको सम्मान गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता र भाइचारा कायम राख्न सम्पूर्ण नेपालीमा अपिल गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया