काठमाडौँ, २१ साउनः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा डा खड्गबहादुर केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री पोखरेलले अध्यक्ष केसीलाई शपथ गराउनुभएको हो । त्यसपछि मन्त्रीको उपस्थितिमा अध्यक्ष केसीले सचिव प्रा डा रोजी श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
शपथग्रहणपछि मन्त्री पोखरेलले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, विश्वविद्यालय सुधार तथा संस्थागत पुनःसंरचनालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभयो । विश्वविद्यालय सुधारका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
नवनियुक्त अध्यक्ष केसीले विश्वविद्यालयको नीतिगत र संरचनागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सचिव श्रेष्ठले पनि आफ्नो कार्यकालमा विश्वविद्यालय अनुदान आयोगलाई थप प्रभावकारी बनाउँदै उच्च शिक्षाको सुधारका लागि जिम्मेवारीपूर्वक काम गर्ने बताउनुभयो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा प्रा डा केसी र सचिवमा प्रा डा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो । प्रा डा केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष (रेक्टर) हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा डा केसरजङ्ग बरालले राजीनामा दिएपछि उहाँले केही समय कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो ।
अन्तरराष्ट्रिय सम्बन्ध, भू–राजनीति तथा नेपालको परराष्ट्र नीतिका विज्ञका रूपमा परिचित केसीले त्रिभुवन विश्वविद्यालयबाट अन्तरराष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पिएचडी) गर्नुभएको छ । उहाँ तीन दशकभन्दा बढी समयदेखि अध्यापन, अनुसन्धान र शैक्षिक नेतृत्वमा सक्रिय रहनुभएको छ ।
आयोगकी नवनियुक्त सचिव प्रा डा श्रेष्ठ नेपालमा नर्सिङ विषयमा विद्यावारिधि (पिएचडी) गर्ने पहिलो नेपाली हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानबाट नर्सिङमा विद्यावारिधि हासिल गर्नुभएको हो । नर्सिङ अनुसन्धानमा उल्लेखनीय योगदान पु¥याएबापत उहाँ ‘नेपाल विद्या भूषण’ पदकबाट सम्मानित हुनुभएको थियो भने नेपालमा नर्सिङ विषयमा पहिलो विद्यावारिधि गर्ने शोधकर्ताका रूपमा दीक्षान्त समारोहमा प्रधानमन्त्रीबाट विशेष सम्मानसमेत प्राप्त गर्नुभएको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया