श्रावण २४, २०८३ आइतबार August 9, 2026

ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदानः उपराष्ट्रपति यादव

संविधानको मूल मर्म समावेशी लोकतन्त्र, सामाजिक न्याय तथा समान अवसर रहेकाले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २४ साउनः उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदान र बलिदान रहेको बताउनुभएको छ ।

बत्तीसौँ विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालयद्वारा आज काठमाडौँको टुँडिखेलस्थित खुलामञ्चमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले आन्दोलनमा योगदान गरेकैले त्यसको मर्म संविधान र राज्यव्यवस्थामा पनि समेटिएको बताउनुभयो । नेपालको संविधानको मूल मर्म समावेशी लोकतन्त्र, सामाजिक न्याय तथा समान अवसर रहेकाले हातेमालो गरेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको प्राप्ति आदिवासी जनजातिको अधिकार प्राप्तिको सङ्घर्षसँग गहिरो रूपमा जोडिएको उपराष्ट्रपति यादवको भनाइ थियो । संविधानले आदिवासी जनजाति, मधेसी, सीमान्तकृत तथा उत्पीडित समुदायको अधिकार सुनिश्चित गरिसकेकाले अब तिनको व्यावहारिक कार्यान्वयन आजको मुख्य आवश्यकता रहेको उहाँले औँल्याउनुभयो ।

“समावेशिता केबल नारामा सीमित नभई राज्यका नीति, योजना, स्रोत र साधनका साथै शिक्षा, स्वास्थ्य, रोजगारी र निर्णय प्रक्रियाका हरेक तहमा समानुपातिक पहुँचका रूपमा देखिनुपर्छ”, उपराष्ट्रपति यादवले भन्नुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्दै लैजानसके मुलुकले हरेक क्षेत्रमा सकारात्मक फड्को मार्ने विश्वास व्यक्त गर्दै उहाँले यसतर्फ सबैको ध्यान केन्द्रित हुन जरुरी रहेको बताउनुभयो ।

यस्तै, प्रकृतिसँग मिलेर बाँच्ने आदिवासी समुदायको परम्परागत ज्ञान, सीप र संस्कृति जलवायु परिवर्तन तथा वातावरणीय सन्तुलनका लागि आज विश्वकै लागि अनुकरणीय बनेको उपराष्ट्रपति यादवले उल्लेख गर्नुभयो । नयाँ पुस्ताले आफ्नो मौलिक भाषा, संस्कृति र पहिचानको संरक्षण गर्दै शिक्षा, विज्ञान र प्रविधिको आधुनिक प्रयोगमार्फत अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो ।

सबै जातजाति, वर्ग र समुदायको साझा प्रयासबाट मात्र नेपाल सुन्दर, शान्त र उन्नत बन्नसक्ने उल्लेख गर्दै उपराष्ट्रपति यादवले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदिवासी जनजाति दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले पुनर्गठनमा ओली–पोखरेल टकराव, ५६ पृष्ठको प्रतिवेदनमाथि विवाद
२०८३ श्रावण २४, आइतबार
बुबाको निधनपछि मेस्सी अनुपस्थित, इन्टर मियामी मोन्टेरेसँग २–१ ले पराजित
२०८३ श्रावण २४, आइतबार
सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक : सांसद ढकाल
२०८३ श्रावण २४, आइतबार
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
२०८३ श्रावण २४, आइतबार
माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
२०८३ श्रावण २४, आइतबार
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा
२०८३ श्रावण २४, आइतबार
सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड
२०८३ श्रावण २४, आइतबार