काठमाडौँ, २६ साउनः गायिका पुजन काफ्लेको तिज गीत ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक भएको छ । पुजन काफ्ले युट्युव च्यानलबाट सार्वजनिक गीतमा शब्द र स्वर पुजन काफ्लेको रहेको छ भने सङ्गीत जीआर बानियाँको रहेको छ ।
तिज पर्व नजिकिँदै गर्दा माइती, आमा–बाबु र दाजुभाइप्रतिको चेलीको भावनालाई समेटिएको नयाँ तिज गीतले तिजलाई नारीको पर्वका रूपमा चित्रण गर्दै माइतीसँगको आत्मियता, बाल्यकालका सम्झना र परिवारप्रतिको प्रेमलाई मुख्य विषय बनाएको छ ।
गीतमा आमाले पकाएको खानादेखि माइतीको घरप्रतिको मोहसम्मलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ । ‘रातो चुरा, सिन्दुर, पोते, रातो साडी’ लाई तीजको सांस्कृतिक पहिचानसँग जोड्दै गीतले तिजलाई महिलाका लागि विशेष दिनका रूपमा चित्रण गरेको छ ।
दिदीबहिनी तथा साथीसँग भेटघाट हुने र बाल्यकालका दिन सम्झने अवसरका रूपमा पनि गीतले तिजको चित्रण गरेको छ । श्रीमान्ले किनिदिएको साडी लगाएर सजिएर नाच्न आएको प्रसङ्गनमार्फत वैवाहिक जीवन र तिजको उल्लासलाई समेत गीतमा समेटिएको छ ।
गीतको अर्को भावनात्मक पक्ष आमाप्रतिको माया हो । आमाले हाँस्दा हाँस्ने र रुँदा रुने भएकाले आमाको गुण कसरी तिर्ने भन्ने भाव गीतमा व्यक्त गरिएको छ । त्यस्तै, छोरीको चिन्ता गरेर बस्ने बाबुको माया र बाबुकै आँगनमा खुसी हुने दिनको सम्झनाले माइतीप्रतिको चेलीको भावनालाई उजागर गरेको छ ।
दाजुभाइप्रतिको चेलीको चिन्ता र परदेशमा रहेका भाइको सम्झनाले गीतलाई अझ भावुक बनाएको छ । रोजगारी तथा अन्य कारणले परिवारबाट टाढा रहेका दाजुभाइलाई सम्झँदै चेलीको मनमा उत्पन्न हुने पीडालाई गीतले समेटेको छ ।
शिवन पोखरेलको निर्देशन र दीपक गिरीको छाँयाङ्कन रहेको भिडियोमा कलाकारहरू विना राउत, यज्ञबहादुर काफ्ले, मैयादेवी काफ्ले, समीक्षा केसी र रोशनी बराललगायतले मोडलिङ गर्नुभएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया