काठमाडौँ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरिएको बताउनुभएको छ ।
उहाँको संयोजकत्वमा आजदेखि यहाँ सुरु भएको कांग्रेस संस्थापनइतर पक्षको भेलाको उद्घाटन समारोहमा डा कोइरालाले पार्टीलाई एकजुट बनाउने आफ्नो कर्तव्य भएको उल्लेख गर्नुभयो ।
“कांग्रेस एकढिक्का भएका खण्डमा कसैले पनि पराजय गर्न सक्दैन । यही नै भेलाको मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो । उहाँले बिहीबार मात्र पाँच महिनापछि स्वास्थ्योपचार गरी स्वदेश फर्कनुभएका पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिले भेला सफल भएको बताउनुभयो ।
डा कोइरालाले पूर्वप्रधानमन्त्री देउवासँग भारतको बनारसमा पहिलो पटक भएको भेट र सँगै सिनेमा हेरेको प्रसङ्ग स्मरण गर्नुभयो । उहाँले निवर्तमान सभापति देउवा नै आफूहरूको नेता भएको र उहाँकै नेतृत्वमा कांग्रेस अघि बढ्ने धारणा व्यक्त गर्नुभयो । कांग्रेसको संस्थापनइतरपक्षको तीनदिने राष्ट्रिय भेला आजदेखि सुरु भएको हो ।
काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा भएको भेला सयौँ नेता कार्यकर्ताको उपस्थिति छ । प्रचारप्रसार समिति संयोजक मीनबहादुर विश्वकर्माका अनुसार आजदेखि सुरु भएको भेलाको शनिबार र आइतबार बन्दसत्र चल्नेछ ।रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया