भाद्र २९, २०८३ सोमबार September 14, 2026

एसईईमा उत्कृष्ट नतिजा ल्याउने तीन जना विद्यार्थी पुरस्कृत

विद्यार्थीको हौसला बढाउँदै पढाइमा सहयोग पुग्ने गरी पुरस्कार रकमको व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ताप्लेजुङ, साउन ३० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी माध्यमिक विद्यालय साँघुले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने तीन जना विद्यार्थीलाई पुरस्कृत गरेको छ। एसईई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई कुल एक लाख रुपियाँ नगदसहित विद्यालयले पुरस्कृत गरेको हो।

विद्यालयका निमित्त प्रधानाध्यापक रूपनारायण घिमिरेका अनुसार परीक्षामा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने छात्रा सृष्टी लिम्बू (३.६८ जीपीए) लाई ५० हजार रुपियाँ नगदसहित पुरस्कृत गरिएको छ। यस्तै ३.६४ जीपीए प्राप्त गर्ने सञ्जु राईलाई ३० हजार र ३.६१ जीपीए ल्याउने सोनिमा तामाङलाई २० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको निमित्त प्रअ घिमिरेले जानकारी दिनुभयो।

उहाँका अनुसार मैवाखोला गाउँपालिका–३ साँघुमा जन्म भई हाल अमेरिकामा बस्दै आउनुभएका डाक्टर हरिराज भट्टराईले आफ्ना मातापिता बैजनाथ भट्टराई र यमुनादेवीको सम्झनामा उपलब्ध गराउनुभएको रकम उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई वितरण गरिएको हो।

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरिएको यो पुरस्कारले आगामी दिनमा अन्य विद्यार्थीलाई समेत मेहनत र लगनशील बन्न उत्प्रेरणा जगाउने विश्वास लिइएको छ।

मैवाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको साँघुस्थित नारायणी माध्यमिक विद्यालयमा हाल पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी स्नातक तहसम्मको पठनपाठन हुँदै आएको छ। विद्यार्थीको हौसला बढाउँदै पढाइमा सहयोग पुग्ने गरी पुरस्कार रकमको व्यवस्था गरिदिएकामा विद्यालय परिवारले सहयोगदाता डा. भट्टराईप्रति धन्यवाद ज्ञापन गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया