श्रावण ३१, २०८३ आइतबार August 16, 2026

नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम

गोला प्रथाबाट ज्योति एकेडेमी प्रथम, काठमाडौं भ्याली द्वितीय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नागार्जुन नगरपालिका समितिको आयोजनामा अन्तरविद्यालय नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ। नागार्जुन नगरपालिका–रानीवनस्थित नागार्जुन भ्याली स्कुलमा आयोजित प्रतियोगितामा नागार्जुन क्षेत्रका २४ वटा विद्यालयका कक्षा ५, ६ र ७ मा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो।

IMG-20260815-WA0127.jpgप्रतियोगितामा ज्योति एकेडेमी प्रथम भएको छ। त्यस्तै काठमाडौं भ्याली स्कुल रानीवन द्वितीय, चेतना सदन स्कुल तृतीय, आर्य एकेडेमी चौथो, सभ्यता पाठशाला पाँचौँ र शिशुनिकुञ्ज सेकेण्डरी इङ्लिस स्कुल छैटौँ भएका छन्।

प्रतियोगितामा विद्यार्थीहरूबीच कडा प्रतिस्पर्धा भएको थियो। पटक–पटकको प्रतिस्पर्धापछि प्रथम र द्वितीय स्थानका लागि सहभागी विद्यालयहरूबीच समान अवस्था देखिएपछि विजेता छुट्याउन गोला प्रथा अपनाइएको आयोजकले जनाएको छ। गोला प्रथाबाट ज्योति एकेडेमी प्रथम र काठमाडौं भ्याली स्कुल रानीवन द्वितीय घोषित भएका हुन्।

IMG-20260815-WA0113~2.jpgप्रतियोगिताको प्रमुख अतिथिका रूपमा प्याब्सनका केन्द्रीय सह–अध्यक्ष गोपाल आचार्य सहभागी हुनुभएको थियो। कार्यक्रममा बोल्दै आचार्यले नेपाली भाषाको शुद्ध लेखन तथा प्रयोगप्रति विद्यार्थीहरूको रुचि बढाउन हिज्जे प्रतियोगिताजस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

उहाँले विद्यार्थीलाई नेपाली भाषाको सही हिज्जे, उच्चारण र प्रयोगमा दक्ष बनाउन विद्यालय तहदेखि नै नियमित अभ्यास र प्रतिस्पर्धात्मक गतिविधिलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। यस्ता कार्यक्रमले विद्यार्थीको शब्दज्ञान विस्तार गर्नुका साथै आत्मविश्वास, प्रस्तुतीकरण क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।

IMG-20260815-WA0107~2.jpgकार्यक्रमको अध्यक्षता प्याब्सन नागार्जुन नगरपालिका समितिका अध्यक्ष वासुदेव घिमिरेले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन समितिका सचिव प्रकाशमान शाहीले गर्नुभएको थियो।

कार्यक्रममा प्याब्सन नागार्जुन नगरपालिका समितिका उपाध्यक्ष डिवी ढकाल, कोषाध्यक्ष हिरालाल खनाल, सदस्यहरू सुरेश महतो, दीपक भट्टराई र विमलेश महासेट तथा प्याब्सन काठमाडौं जिल्ला सदस्य गोविन्द पंगेनीलगायतको उपस्थिति रहेको थियो।

IMG-20260815-WA0089~2.jpgत्यस्तै प्रतियोगिता आयोजना भएको नागार्जुन भ्याली स्कुलका प्रिन्सिपल उद्धव हुमागाईं र सहायक प्रिन्सिपल प्रभा भट्टराईको समेत कार्यक्रममा सहभागिता रहेको थियो।

प्रतियोगिताको निर्णायक मण्डलमा धर्मप्रसाद पोखरेल र पम्फा भट्टराई रहनुभएको थियो। निर्णायकहरूले विद्यार्थीहरूको हिज्जे लेखन, उच्चारण तथा शब्द प्रयोगको आधारमा प्रतिस्पर्धाको मूल्याङ्कन गरेका थिए।

प्याब्सन नागार्जुन नगरपालिका समितिले नेपाली भाषाको शुद्ध लेखन, शब्दज्ञान तथा प्रयोगात्मक क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जनाएको छ। प्रतियोगिताले विद्यार्थीमा नेपाली भाषाप्रति रुचि बढाउनुका साथै सार्वजनिक रूपमा आफ्नो ज्ञान प्रस्तुत गर्ने आत्मविश्वाससमेत अभिवृद्धि गरेको आयोजकको भनाइ छ।

विद्यालय तहमा नेपाली भाषाको प्रयोग र शुद्ध लेखनप्रतिको अभ्यासलाई थप प्रभावकारी बनाउन यस्ता सिर्जनात्मक तथा प्रतिस्पर्धात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सहभागी शिक्षक तथा आयोजकहरूले जोड दिएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया