भाद्र २८, २०८३ आइतबार September 13, 2026

त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक

१५ क्याम्पसका ७५६ सिटका लागि भएको BIT परीक्षाको नतिजा एकै दिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानले २०८३ सालका लागि स्नातक तह सूचना प्रविधि (BIT) विषयको प्रवेश परीक्षाको नतिजा परीक्षा सम्पन्न भएकै दिन सार्वजनिक गरेको छ।

प्रविधिमैत्री र व्यवस्थित OMR (Optical Mark Recognition) प्रणालीबाट उत्तरपुस्तिका परीक्षण गरी अध्ययन संस्थानले सोही दिन नतिजा प्रकाशन गरेको हो। देशभरका १५ आंगिक क्याम्पसका ७५६ सिटका लागि ३ हजार ५८१ जनाले आवेदन दिएकोमा ३ हजार २२३ विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका थिए। काठमाडौं उपत्यकाका ३ र उपत्यकाबाहिरका ११ गरी कुल १४ परीक्षा केन्द्रमार्फत उक्त परीक्षा सञ्चालन गरिएको थियो।

अध्ययन संस्थानले प्रवेश परीक्षा व्यवस्थापन र नतिजा प्रकाशनलाई निरन्तर प्रभावकारी बनाउँदै लगेको छ। यसअघि साउन २४ गते सम्पन्न कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (B.Sc. CSIT) विषयको प्रवेश परीक्षाको नतिजा पनि OMR प्रणालीकै सहयोगमा एकै दिनमा सार्वजनिक गरिएको थियो। ८ हजार २६ विद्यार्थी सहभागी भएको B.Sc. CSIT परीक्षामा कर्णाली प्रदेशका विद्यार्थीहरूको सहजताका लागि सुर्खेतमा समेत परीक्षा केन्द्र स्थापना गरिएको संस्थानले जनाएको छ।

प्रवेश परीक्षाकै दिन नतिजा प्रकाशन गर्ने यस अभ्यासले विद्यार्थीहरूलाई लामो समयसम्म नतिजाको प्रतीक्षा गर्नुपर्ने बाध्यताबाट मुक्ति दिलाएको छ। यसले भर्ना प्रक्रियालाई समयमै सम्पन्न गर्न मद्दत पुर्‍याउनुका साथै परीक्षा सञ्चालन तथा मूल्याङ्कनमा प्रविधिको प्रयोग बढाएर त्रिविको प्रवेश परीक्षा प्रणालीलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाएको देखिन्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया