भाद्र १३, २०८३ शनिबार August 29, 2026

वर्षामा डुबाउने पेडारी नालामा बन्यो चारलेनको पुल

बाढी र डुबानका कारण नेपालगञ्ज–गुलरिया सडकमा आवतजावत प्रभावित हुँदै आएकोमा नयाँ पुल सञ्चालनमा आएपछि यातायात सहज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राँझा (बाँके), १३ भदौः नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत बाँकेको खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा चारलेनको पुल निर्माण सम्पन्न भएसँगै वर्षायाममा हुँदै आएको डुबान र यातायात अवरोधको समस्या हटेको छ ।

चारलेनको सडक भए पनि पेडारी नालामा रहेको पुरानो साँघुरो र जीर्ण पुलका कारण सामान्य वर्षामै नालाको पानी सडकमा बग्ने गरेको थियो । बाढी र डुबानका कारण नेपालगञ्ज–गुलरिया सडकमा आवतजावत प्रभावित हुँदै आएकोमा नयाँ पुल सञ्चालनमा आएपछि यातायात सहज भएको स्थानीय अगुवा सतीश निरौलाले बताउनुभयो ।

“खजुरावासीले लामो समयदेखि भोग्दै आएको सास्ती अब अन्त्य भएको छ,” खजुरा गाउँपालिका अध्यक्ष डम्बर बि.क.ले भन्नुभयो, “स्थानीयवासीको निरन्तर पहलपछि चारलेनको पुल निर्माण सम्भव भएको हो ।”

पुल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण कम्पनीले तोकिएको समयभन्दा अगावै पुल निर्माण सम्पन्न गरेको हो ।

नवनिर्मित पुल २२ मिटर चौडा र ३४ दशमलव ४ मिटर लामो छ । पुल निर्माणका लागि नारायणम निर्माण सेवासँग २०८३ वैशाख १८ गतेभित्र काम सम्पन्न गर्नेगरी भ्याटसहित रु आठ करोड ९६ लाखमा ठेक्का सम्झौता भएको थियो । पुलको दुवैतर्फ दुई सय मिटर एप्रोच सडकसमेत निर्माण गरिनेछ ।

नेपालगञ्ज–गुलरिया सडकखण्डको महत्वपूर्ण पुलका रूपमा रहेको पेडारी पुलले बाँके र बर्दियाबीचको आवागमनलाई थप सहज र सुरक्षित बनाउने योजना प्रमुख भण्डारीले बताउनुभयो ।

यसै सडकखण्डका अन्य साँघुरा पुललाई पनि चारलेनमा विस्तार गर्ने काम अघि बढाइएको छ । बाँकेको खजुरा र जानकी गाउँपालिकाको सीमास्थित किरण नाला तथा बर्दियाको बढैयाताल गाउँपालिकास्थित चपला नालामा पनि चारलेनको पुल निर्माण भइरहेको छ ।

किरण नालामा करिब रु चार करोड ५० लाखको लागतमा नयाँ दुईलेनको पुल निर्माण भइरहेको छ । पुरानो दुईलेनको पुल यथावत् राखेर थप दुईलेनको पुल निर्माण गर्न लागिएको हो । चपला नालामा रहेको पुललाई पनि चारलेनमा विस्तार गरिने योजना प्रमुख भण्डारीले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम विश्वविद्यालयद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय
२०८३ भाद्र १३, शनिबार
उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने
२०८३ भाद्र १३, शनिबार
बाढीमा पर्यटकः ११४ भारतीय नागरिकसहित १८४ जनाको उद्धार
२०८३ भाद्र १३, शनिबार
वर्षामा डुबाउने पेडारी नालामा बन्यो चारलेनको पुल
२०८३ भाद्र १३, शनिबार
काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै
२०८३ भाद्र १३, शनिबार
त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता
२०८३ भाद्र १३, शनिबार
भोटेकोशी बाढीपीडितको शव व्यवस्थापन चुनौतीपूर्ण, ५११ शव अस्पतालमा
२०८३ भाद्र १३, शनिबार