बिस्केक, किर्गिस्तान, १५ भदौ : चीनका राष्ट्रपति सी जिनपिङ र इरानका राष्ट्रपति मसूद पेजेस्कियान साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनका लागि किर्गिस्तानमा पुगेका छन् । रूसी नेता भ्लादिमिर पुटिन पनि सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ । यो दुई दिने कार्यक्रममा एक दर्जनभन्दा बढी अन्य मुलुकका नेताहरू सहभागी हुनेछन् ।
पश्चिमको प्रभावविरुद्ध सन्तुलन कायम गर्न खोज्ने यो क्षेत्रीय एससीओ समूहले आफ्नो २५ औं वार्षिकोत्सव मनाइरहेको छ ।
यो समूहमा रूस, चीन, भारत, पाकिस्तान, इरान, चार मध्य एसियाली देश र मस्कोसँग गठबन्धन गरेको बेलारुस छन् ।
आइतबार बिस्केक आइपुगेका चिनियाँ राष्ट्रपति सीले मध्य एसियाली मुलुक किर्गिस्तानसँगको सम्बन्धलाई ‘सुनौलो काल’ भनेर प्रशंसा गर्नुभएको छ।
चीनले ऐतिहासिक रूपमा रूसको प्रभाव क्षेत्र रहेको यस क्षेत्रमा आफ्नो प्रभाव बढाइरहेको छ ।
नेताद्वय पुटिन र सीले पहिले पनि एससीओ शिखर सम्मेलनहरूलाई बहुध्रुवीय विश्वको आफ्नो दृष्टिकोण प्रवद्र्धन गर्न र पश्चिमविरुद्ध एकजुट मोर्चाका रूपमा प्रस्तुत गर्न प्रयोग गरेका विश्लेषकहरूले बताएका छन् ।
यो सम्मेलन मस्कोको युक्रेन आक्रमण सुरु भएको साढे चार वर्ष र वासिङ्टन र तेहरानबीचको युद्ध सुरु भएको छ महिनापछि भइरहेको छ ।
इरानका राष्ट्रपति पेजेस्कियान पनि बिस्केक आइपुगेको तेहरानका सञ्चार माध्यमले रिपोर्ट गरेका छन् ।
नेताहरू पुटिन, सी र पेजेस्कियानसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका शेहबाज शरिफ किर्गिज नेता सादिर जापारोभको अध्यक्षतामा हुने पूर्ण सत्रमा सहभागी हुनेछन् ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पनि सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ, यद्यपि उहाँको देश यस समूहको औपचारिक सदस्य होइन ।
–कूटनीति–
पुटिनले पेजेस्कियान र सीसहित अन्य नेताहरूसँग अलग्गै द्विपक्षीय वार्ता गर्ने पनि तय भएको क्रेमलिन प्रवक्ता युरी उशाकोभले बताउनुभयो ।
विश्वका सबैभन्दा बढी प्रतिबन्धित राज्यहरूमध्ये रहेका रूस र इरानले मस्कोले युक्रेन आक्रमण गरेपछि सैन्य र आर्थिक सम्बन्ध ठूलो मात्रामा बढाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्को र बेइजिङलाई इरानलाई हतियार नदिन चेतावनी दिएका छन् ।
रूसी नेता पुटिनको पेजेस्कियानसँगको भेट सिआइए निर्देशक जोन ¥याटक्लिफको दुर्लभ मस्को भ्रमणको केही दिनपछि भएको हो । अमेरिकी सञ्चार माध्यमले उहाँले रुसी समकक्षीहरूसँग युक्रेन र इरानबारे छलफल गरेको हुनसक्ने अनुमान गरेका छन् ।
एससीओले ऐतिहासिक रूपमा आर्थिक मुद्दाहरूमा ध्यान केन्द्रित गरेको थियो, तर पछिल्ला वर्षहरूमा मस्को र बेइजिङको नेतृत्वमा यसले गति लिएको छ ।
समूहका १० सदस्यबाहेक यसमा अहिले टर्की, साउदी अरब र कतारसहित १५ ‘संवाद साझेदार’ छन् ।
यसमा अफगानिस्तान र मङ्गोलिया पनि छन् । उनीहरूको यस समूहमा हैसियत दुई पर्यवेक्षक देशका रूपमा रहेको छ।
एससीओको स्थापना घोषणापत्रमा समूह ‘अन्य राज्यहरूविरुद्ध लक्षित गठबन्धन होइन’ भनिएको छ, तर रूसी नेता पुटिन र चिनियाँ राष्ट्रपति सीले यसका शिखर सम्मेलनहरूमा बारम्बार पश्चिमविरोधी भाषण दिएका छन् ।
गत वर्षको भेलामा पुटिनले पश्चिमी देशहरूलाई युक्रेन युद्ध उक्साएको आरोप लगाउनुभएको थियो भने नेता सीले अमेरिका–चीन तनावलाई सङ्केत गर्दै ‘धम्कीजन्य कार्य’ को निन्दा गर्नुभएको थियो ।
–वास्तविक र व्यापार युद्ध–
बिस्केक शिखर सम्मेलन केही एससीओ सदस्यहरू युक्रेन र इरान द्वन्द्व वा अमेरिका र अन्यमुलुकहरू व्यापार युद्धमा रहेको बेला भइरहेको छ ।
अमेरिकाले यो बर्ष चीन र भारतबाट आयात हुने वस्तुहरूमा व्यापक भन्सार शुल्कवृद्धि गरेको छ।
यस महिना अमेरिका ले सुन, प्रविधि, डिजिटल सम्पत्ति, उड्डयन र समुद्री यातायात क्षेत्रमा इरानका व्यापार साझेदारहरूमाथि द्वितीयक प्रतिबन्ध लगाएको छ, जसको उद्देश्य तेहरानको अर्थतन्त्रलाई कमजोर पार्नु रहेको बताइएको छ ।
वासिङ्टनले इरानका सहयोगीहरूलाई पनि प्रतिबन्धको चेतावनी दिएको छ ।
इरानी तेलको प्रमुख आयातकर्ता चीनले आफ्ना हित ‘दृढतापूर्वक रक्षा’ गर्ने भनेर जवाफ दिएको छ ।
सन् १९७९ को क्रान्तिपछि इस्लामिक अधिकारीहरू सत्तामा आएदेखि प्रतिबन्धमा रहेको इरानले नियमित रूपमा आर्थिक दबाबमा नझुक्ने बताएको छ, तर पेजेस्कियानले आफ्नो देश ‘आर्थिक कठिनाइ’ मा रहेको स्वीकार गर्नुभएको छ ।
इरान सन् २०२३ मा मात्र समूहमा सामेल भएको थियो ।
अन्तर्राष्ट्रिय सम्बन्ध विशेषज्ञ मोहम्मद हसन नज्मीले एएफपीसँग भन्नुभयो, “तेहरानले ‘यी गठबन्धनहरूमा सदस्यता र सक्रिय सहभागिताले अमेरिकी र युरोपेली प्रतिबन्ध छल्न मद्दत गर्ने विश्वास गरेको देखिन्छ’।”
“समूहका ठोस फाइदा अनिश्चित छन्,” उहाँले भन्नुभयो, “सङ्कटका बेला यी गठबन्धनहरूले इरानलाई आफ्ना कठिनाइ समाधान गर्न विरलै मद्दत गरेका छन् ।”
समूहले विश्वको जनसङ्ख्याको करिब ४० प्रतिशत र विश्वको कुल गार्हस्थ उत्पादनको २५ प्रतिशत प्रतिनिधित्व गर्ने दाबी गरे पनि यो विविध छ र सदस्यहरूबीच केही असहमति छन् ।
रूस र चीन मध्य एसियामा प्रभावका लागि प्रतिस्पर्धा गर्छन् । यो स्रोत–धनी क्षेत्र युरोप र एसियाबीच वस्तु ढुवानीका लागि महत्त्वपूर्ण छ भने बेइजिङको भारत र पाकिस्तानसँग कहिलेकाहीँ सम्बन्धमा दरार आउने गरेको पाइन्छ । रासस/एएफपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया