भाद्र १५, २०८३ सोमबार August 31, 2026

अमेरिका–दक्षिण कोरिया–जापानको सैन्य सहकार्यप्रति प्योङयाङको आपत्ति

अभ्यासको अवधि ११ दिनबाट घटाएर पाँच दिनमा सीमित गर्न निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना गर्न लागेको संयुक्त समुद्री सैन्य अभ्यास उत्तर कोरियाका लागि ‘खतरा’ भएको प्योङयाङले सोमबार जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग नयाँ भेटवार्ताको इच्छा व्यक्त गरिरहेका बेला उत्तर कोरियाले यस्तो प्रतिक्रिया दिएको हो ।

तीन देशले सेप्टेम्बर ७ देखि ११ सम्म दक्षिण कोरियाको जेजु टापुको पूर्व तथा दक्षिणतर्फको अन्तरराष्ट्रिय जलक्षेत्रमा ‘फ्रिडम एज’ नामक संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । दक्षिण कोरियाले उक्त अभ्यास रक्षात्मक प्रकृतिको रहेको बताएको छ ।

उत्तर कोरियाको विदेश मन्त्रालयले सरकारी समाचार संस्था केसीएनएमार्फत जारी गरेको विज्ञप्तिमा अभ्यासलाई उत्तर कोरिया तथा क्षेत्रीय मुलुकका लागि ‘खतरा’ भएको बताइएको छ । “अमेरिकी सेनाले अमेरिका–जापान–दक्षिण कोरिया बहुआयामिक संयुक्त सैन्य अभ्यास ‘फ्रिडम एज’ सञ्चालन गर्ने योजना घोषणा गरेको छ, जुन उत्तर कोरिया र क्षेत्रीय मुलुकका लागि खतरा हो,” विज्ञप्तिमा भनिएको छ ।

उत्तर कोरियाले वासिङ्टनले लगातार हवाई निगरानी तथा अन्य ‘उत्तर कोरिया विरोधी सैन्य गतिविधि’ सञ्चालन गरिरहेको आरोप लगाउँदै ट्रम्प प्रशासनले आफ्नो ‘शत्रुतापूर्ण नीति’ पुनः पुष्टि गरेको दाबी गरेको छ ।

उत्तर कोरियाले आफ्नो आणविक हतियारलाई राष्ट्रिय सार्वभौमसत्ता र सुरक्षाको रक्षा गर्ने माध्यमका रूपमा समेत प्रस्तुत गरेको छ ।

यसअघि दक्षिण कोरिया र अमेरिकाले आफ्नो प्रमुख वार्षिक सैन्य अभ्यास ‘उल्ची फ्रिडम शिल्ड’ सम्पन्न गरेका थिए । ट्रम्पले उच्च लागत तथा किमसँगको आफ्नो सम्बन्धलाई कारण देखाउँदै उक्त अभ्यासको अवधि ११ दिनबाट घटाएर पाँच दिनमा सीमित गर्न निर्देशन दिनुभएको थियो ।

ट्रम्पले किमसँग वार्ता गर्न आग्रह गरे पनि उत्तर कोरियाले अहिलेसम्म सकारात्मक प्रतिक्रिया दिएको छैन । उसले संयुक्त सैन्य अभ्यास तथा दक्षिण कोरियालाई अमेरिकी हतियार बिक्रीलगायतका विषयमा निरन्तर आपत्ति जनाउँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया