सर्लाही, भदौ २१ गते । सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा शनिबारदेखि प्रथम राष्ट्रिय शैक्षिक सम्मेलन, २०८३ सुरु भएको छ। लालबन्दी नगरपालिका कार्यालयको सहआयोजनामा सञ्चालित यो सम्मेलन आइतबारसम्म चल्ने क्याम्पसले जनाएको छ।
सामुदायिक क्याम्पसहरूमा नवीन शिक्षण अभ्यासलाई प्रवर्द्धन गर्ने र वित्तीय दिगोपनको आधार तय गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको अनुसन्धान व्यवस्थापन एकाइ संयोजक रमेश भट्टराईले जानकारी दिनुभयो।
‘कक्षाकोठादेखि समुदायसम्म : सामुदायिक क्याम्पसहरूमा आर्थिक दिगोपनका लागि नवीन शिक्षण विधि’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा देशका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट प्राप्त ६६ वटा अनुसन्धानपरक सामग्री प्रस्तुत हुनेछन्। क्याम्पस प्रमुख वीरेन्द्र चौधरीका अनुसार सम्मेलनमा रु. १५ देखि १६ लाख खर्च लाग्ने अनुमान गरिएको छ। यसमा मेचीदेखि कैलालीसम्मका विभिन्न क्षेत्र, विश्वविद्यालय र क्याम्पसबाट अनुसन्धानकर्ता तथा शिक्षाविद्हरूको सहभागिता रहेको छ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्राध्यापक डा. महानन्द चालिसेको प्रमुख आतिथ्यतामा शनिबार बिहान सम्मेलनको उद्घाटन गरिएको हो। कार्यक्रममा प्राडा गोविन्द सुवेदी, प्राडा रामप्रसाद भट्टराई र प्राडा अञ्चयकुमार मिश्रलगायत एक दर्जनभन्दा बढी विज्ञहरूको विशेष सहभागिता रहेको छ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दीपक अधिकारीका अनुसार विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायन (QAA) प्रमाणपत्र प्राप्त जनज्योति बहुमुखी क्याम्पसले उच्च शिक्षाको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे राष्ट्रिय संवादको मञ्च बनाउन यो सम्मेलन आयोजना गरेको हो। यसबाट क्याम्पसको स्तरवृद्धिमा समेत टेवा पुग्ने उहाँले बताउनुभयो।
सम्मेलनअन्तर्गत सामुदायिक क्याम्पसको दिगोपना विषयमा आयोजना गरिने विशेष प्यानल छलफलमा डा. शिला मिश्र, डा. नानीबाबु घिमिरे, प्राडा यामबहादुर सिलवाल तथा विश्वविद्यालय अनुदान आयोगका सहायक निर्देशक नारायणप्रसाद भण्डारीको सहभागिता रहनेछ।
सम्मेलनबाट प्राप्त अनुसन्धान, छलफल र विज्ञको सुझावलाई आधार बनाएर सामुदायिक क्याम्पसहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया