असोज ३, २०८३ शनिबार September 19, 2026

आजको दिन विपदको पीडासँगै संविधान प्राप्तिको उत्सव र आत्मसमीक्षाको पनि दिन : राष्ट्रपति

पुनर्निर्माण गर्दा हामीले भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि फर्काउनुपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्ष संविधान दिवस मनाउँदै गर्दा देश बाढी र प्राकृतिक विपत्तिको गहिरो पीडामा रहेको बताएका छन् । संविधान दिवसका अवसरमा शनिबार राष्ट्रपति निवास शीलतनिवासमा आयोजित विशेष कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

‘कैयौँ नेपालीले प्रियजन, घर र जीवनको सहारा गुमाउनुभएको छ । म यस दु:खद घडीमा दिवङ्गत आत्माहरूप्रति पुन: श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताको खोज एवम् पहिचानको कामना पनि गर्दछु,’ राष्ट्रपति पौडेलले भनेका छन् ।

आजको दिन विपत्को पीडासँगै संविधान प्राप्तिको उत्सव र आत्मसमीक्षाको पनि दिन रहेको उनले बताए । ‘यो विपत्तिले हामीलाई सम्झाएको छ– विकास केवल सडक, पुल र भवन होइन, मानिसको जीवन, जीविका र भविष्यको सुरक्षा पनि हो,’ उनले भने, ‘यसर्थ पुनर्निर्माण गर्दा हामीले भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि फर्काउनुपर्छ ।’

संविधानमा अन्तर्निहित लोकतान्त्रिक राज्यप्रणाली जनताको सर्वोपरि हितमा जोडिएको छ भन्ने हामीले कहिल्यै बिर्सन नहुने राष्ट्रपति पौडेलले बताए ।

उनले अगाडि भने, ‘जलवायु परिवर्तनका चुनौतीबीच हाम्रो विकासका ढाँचाहरू अझ मानवीय, न्यायपूर्ण र प्रकृतिमैत्री बन्नुपर्छ भन्ने पनि म ठान्दछु ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया